नेपालले साफ महिला फुटबल आयोजना गर्ने
नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
सन् २०१९ मा हुने प्रतियोगिता नेपालले आयोजना गर्ने निश्चित भएको अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिए। दक्षिण एशियाली फुटबल महासंघको बैठकले साफको आगामी संस्करण नेपालले गर्ने निर्णय गरेको उने जानकारी दिए।
यसअघि उक्त प्रतियोगिता श्रीलंकाले आयोजना गर्ने निर्णय भएको थियो। पछिल्लो समय देखिएको राजनीतिक अस्थिरताका कारण प्रतियोगिता गर्न नसक्ने श्रीलंकाले जनाएको छ। साफले निर्धारित समयभन्दा एक महीनापछि सारेर नेपाललाई आयोजनाको जिम्मा दिएको हो ।
यसअघि आगामी २ पुसदेखि श्रीलंकामा शुरु हुनेगरी खेल तालिका सार्वजनिक भएको थियो । नेपालले उक्त प्रतियोगिता आगामी २७फागुन-७ चैतमा आयोजना गर्ने एन्फाले जनाएको छ । घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य राखेको नेपाली महिला टोली हरि खड्काको प्रशिक्षण तथा निरु थापाको कप्तानीमा छ । यसअघिका संस्करणमा नेपाल उपविजेतासम्म बनेको छ । रासस