कला/साहित्यमंगलवार, मंसिर ४, २०७५

प्रभावशाली भारतीयमा अमिताभ र दीपिका पादुकोण अगाडि

हिमालखबर

बलिउड र खेल क्षेत्रका प्रभावशाली व्यक्तिहरूबारे गरिएको सर्वेक्षणमा अभिनेता अमिताभ बच्चन र अभिनेत्री दीपिका पादुकोण अग्रस्थानमा देखिएका छन्।

अन्तर्राष्ट्रिय डाटा एनालिटिक्स कम्पनी यूगोवले अनलाइनमार्फत संकलन गरेको आँकडामा यस्तो सूची आएको हो। प्रभावशाली हस्तीहरूको सूचकांक २०१८ मा बलिउड र खेल क्षेत्रका करीब ६० हस्तीहरूबारे मानिसको धारणा समेटिएको थियो। सर्वेक्षणमा भारतका एक हजार ९ सय ४८ जना सहभागी थिए।

अध्ययनमा कलाकार र खेलाडीहरूको आफ्नो क्षेत्रमा प्रभाव, जागरुकता, समानता आदिबारे पनि मूल्यांकन गर्न लगाइएको थियो। यूगोव कम्पनीले भनेको छ, "शीर्ष १० हस्तीहरूको सूचीमा बलिउड अभिनेता र खेलाडीहरूको बाहुल्य छ। अभिनेत्रीहरूमा दीपिका पादुकोण शीर्ष स्थानमा रहन सफल भएकी छन्।"

सूचीको पहिलो स्थानमा अभिताभ बच्चन छन् भने दोस्रो स्थानमा दीपिका पादुकोण छिन्। त्यसपछि क्रिकेट खेलाडीहरू महेन्द्रसिंह धोनी र सचिन तेन्दुलकर छन्। पाँचौं स्थानमा अक्षय कुमार, छैटौंमा विराट कोहली, सातौंमा आमिर खान र आठौं स्थानमा शाहरुख खान छन्।

आलिया भट्ट र प्रियंका चोपडा क्रमश: नवौं र दशौं स्थानमा छन्। सूचीमा पहिलो पटक प्रवेश गर्न सफल ओलम्पिक पदक विजेता खेलाडी पीभी सिन्धुले १५औं स्थान सुरक्षित गरेकी छन्। एजेन्सी

प्रतिकृया दिनुहोस