कला/साहित्यसोमवार, मंसिर ३, २०७५

३३ वर्षका भारतीय र्‍यापर, प्रतिगीत एक करोड पारिश्रमिक

हिमालखबर

भारतीय गीत-संगीत सुन्ने युवा पुस्तामाझ बादशाह भन्नेबित्तिकै उनीहरुको दिमागमा अनेक परिचित धुनहरू गुञ्जिन थाल्छन्। र्‍यापर, संगीतकार, गीतकार र म्युजिक प्रोड्युसरको विभिन्न चिनारी भएका उनी हिन्दी, हरयाणवी र पञ्जावी गीतका लागि परिचित छन्।

बादशाहको जन्म नयाँदिल्लीमा १९ नोभेम्बर १९८५ मा एक पञ्जाबी परिवारमा भएको थियो। उनको पारिवारिक संस्कृति र बोलीचालीमा हरयाणाको प्रभाव छ। संगीतको दुनियाँमा एक शब्द 'बादशाह' ले नै चर्चाको शिखरमा पुर्‍याए पनि उनको वास्तविक नाम आदित्य प्रतीक सिंह सिसौदिया हो।

संगीतको सागरमा आफूलाई समाहित गरिसकेका उनी यो क्षेत्रमा नआएको भए के गर्थे होलान्? एक पटक उनले बताएका थिए, उनी र्‍यापर नभएको भए भारतीय प्रशासनिक सेवामा अधिकृत हुने थिए।

बलिउडमा र्‍यापरका रूपमा प्रवेश गर्नुअघि बादशाह अर्का र्‍यापर यो यो हनी सिंहको ब्याण्ड 'माफिया मुन्दीर' मा गाउँथे। सन् २००६ देखि उक्त ब्याण्डमा आबद्ध भएर गाउने क्रममा उनले युवा जमातमा आफ्नो पहिचान बनाए।

सन् २०१२ मा ब्याण्डबाट छुट्टिएर एक्लै यात्रा थालेपछि उनको सांगीतिक उचाइ अझ बढ्यो। त्यस क्रममा उनले २०१४ मा हरयाणवी हिप-हप गीत 'कर गयी चुल' बाट ख्याति कमाए। जुन पछि सन् २०१६ मा 'कपुर एन्ड सन्स' फिल्ममा एडप्ट गर्दै रिमिक्स भर्सनमा ल्याइयो।

बादशाहका गीतहरू सन् २०१४ देखि बलिउड सिनेमाहरूमा समेटिन थाले, जुन धेरै लोकप्रिय पनि भए। जसमध्ये केही गीतमा 'स्याटर्डे स्याटर्डे' (हम्प्टी शर्मा की दुल्हनियाँ, २०१४), 'सेल्फी ले ले रे' ( बजरंगी भाइजान, २०१४), 'अभी तो पार्टी शुरु हुइ है' ( खुबसुरत, २०१४), 'बेबी को बेस पसन्द हे' (सुल्तान, २०१६), 'काला चश्मा' (बार बार देखो, २०१६) लगायत छन्।

आज बादशाह बलिउडका हिट र्‍यापर भएको उनको व्यस्तता र गीतहरूको एकपछि अर्को चर्चाले दर्शाउँछन्। उनको करिअरको अहिलेसम्मको चर्चित गीत भने सन् २०१५ मा आएको 'डीजे वाले बाबू मेरा गाना चला दो' हो, जसमा उनले गायिका आस्था गिललाई फिचर गरेका थिए।

उक्त गीत इन्डियन आर्इ-ट्युन्स चार्टमा २४ घण्टामै एक नम्बरमा पुगेको थियो। एक पटक एक अन्तर्वार्तामा र्‍यापर बादशाहले आफू स्टेजमा देखिएजस्तो वास्तविक जीवनमा नभएको बताएका थिए। अर्थात्, स्टेजमा चञ्चल र केही उग्र देखिए पनि उनी एकदमै शान्त स्वभावका छन्।

धेरैलाई अचम्म लाग्न सक्छ, उनी एउटा गीतको पारिश्रमिक करीब भारु एक करोड लिन्छन्। उनको कुल सम्पत्ति लगभग १० मिलियन डलर छ।

बेलायतकी जस्मिनसँग विवाह गरेका बादशाह एक छोरीका पिता हुन्। उनले कुनै अन्तर्वार्तामा बताएअनुसार आफ्नो बच्चा नहुन्जेल उनलाई केटाकेटी पटक्कै मन पर्दैनथ्यो। छोरीको जन्म भएपछि भने उनी बदलिएका छन्, बच्चाहरूलाई असाध्यै प्रेम गर्छन्। एजेन्सी

प्रतिकृया दिनुहोस