महोत्तरीमा डकैती, ५ घाइते
गौशाला- महोत्तरीको सोनमा गाउँपालिका-३ खखनाका ३ वटा घरमा २ मंसिर राति डकैती भएको छ।
जिल्ला प्रहरीका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार रु ७ लाखबराबरको धनमाल लुटिएको छ भने ५ जना घाइते भएका छन्। सशस्त्र समूहले स्थानीय ललिन यादवको घरको मूल ढोका फोडेर भित्र प्रवेश गरी रु २ लाख नगद, ५ तोला सुन, ३ वटा मोबाइल, १० थान साडी र गरगहना लुटेर लगेको हो।
डाँका समूहले स्थानीय सत्यनारायण राय यादव, सुरेन्द्र यादव, ललिन यादव, सञ्जिव यादव र चन्द्र राय यादवसहितको घरमा कुटपिट गरी ५ जनालाई घाइते बनाएको छ। उनीहरूलार्इ घरेलु हतियारबाट शरीरका विभिन्न भागमा प्रहार गरिएको छ।
घाइतेमध्ये सुरेन्द्र यादवको अवस्था गम्भीर छ, जसको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। रासस