नेकपाको सचिवालय बैठक ६ मंसिरमा
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक ६ मंसिरमा बस्ने तय भएको छ।
नेकपाको पछिल्लो सचिवालय बैठक ८ कात्तिकमा बसेको थियो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अस्वस्थता तथा तिहार र छठ पर्व परेकाले बैठक पर सरेको थियो।
बैठकले केन्द्रीय सदस्यको कार्यविभाजन र प्रदेश कमिटीको पूर्णताका लागि सिफारिस गर्न महासचिव विष्णु पौडेल र गृहमन्त्री तथा पार्टी सचिवालय सदस्य रामबहादुर थापा रहेको कार्यदल गठन गरेको थियो।
६ मंसिरमा बस्ने बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, जनसंगठनको एकता, स्थायी समिति बैठकको मिति तथा कार्यसूची र पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल हुनेछ। पार्टीमा तल्लो तहसम्मको एकता प्रक्रियाले गति नलिएको, स्थायी कमिटीको बैठक नबसेको तथा सरकार र दलबीच समन्वय नभएको विषय उठ्दै आएको छ।
पार्टीले प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी तोकिसकेको छ। ती पदाधिकारीले जिल्लामा काम गर्नका लागि संयन्त्र तयार पारेका छन्। दुई सदस्यीय कार्यदलले निश्चित मापदण्डका आधारमा प्रदेश कमिटीमा रहने सदस्यको नाम सिफारिस गर्न निर्देशन दिएको थियो।
तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच ३ जेठमा एकता भएपछि ३ महीनाभित्र सकिने भनिएको तल्लो तहको एकता हालसम्म हुन सकेको छैन। रासस