व्यक्तित्वसोमवार, मंसिर ३, २०७५

सम्झनामा कुसुम श्रेष्‍ठ- कानूनी राज्य र स्वतन्त्रताका पक्षपाती

राधेश्याम अधिकारी

तत्कालीन पञ्‍चायती सरकारले दाहालजी सम्पादक रहेको राष्ट्रपुकार साप्ताहिक बन्द गर्ने आदेश दिएछ। त्यसविरुद्ध परेको निवेदनको सुनुवाइ रत्‍नबहादुर बिष्‍टको बेञ्‍चमा तोकिएको थियो। मुद्दा शुरु गर्नुअघि अनौपचारिक रूपमा न्यायाधीश बिष्‍टले कुसुमजीलाई लक्ष्य गरेर बेञ्चबाटै सोध्नुभएछ- ‘जेन्टलमेन आजको उल्लेखनीय खबर के छ ?’ कुसुमजीले झट्ट जवाफ दिनुभएछ- ‘अफ्रिकाको कुनै देशको प्रधानन्यायाधीशलाई बन्दी बनाइएको छ।’

स्वर्गीय कुसुम श्रेष्ठ

रत्‍नबहादुरको टिप्पणी थियो रे- ‘जेन्टलमेन यो त राम्रो खबर भएन।’ तर, यस्तो संवादबाट बेञ्‍च र बारका प्रतिनिधिबीच क्लेश पैदा हुँदैनथ्यो। कुसुमजीको स्वभावले रत्‍नबहादुर बिष्ट मात्र होइन, समकालीन सबै प्रधानन्यायाधीश र न्यायाधीशको दिल जितेको थियो।

सक्षम वकिल र सक्षम न्यायाधीशबीच एकअर्काप्रति सम्मानभाव हुन्छ। न्यायाधीशबाट सदैव सम्मान पाउने व्यक्तित्व हुनुहुन्थ्यो, कुसुम श्रेष्‍ठ। रत्‍नबहादुर बिष्ट र कुसुम श्रेष्‍ठको त्यो संवाद पत्रकार होमनाथ दाहाल कहिल्यै बिर्सनुहुन्‍न।

नेपालमा संस्थागत रूपमा कानून व्यवसाय गर्न सकिन्छ भन्ने मान्यता व्यवहारमै स्थापित गर्ने थोरै अग्रज कानून व्यवसायीमध्येका हुनुहुन्थ्यो, कुसुम श्रेष्‍ठ। वरिष्‍ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, कुसुम श्रेष्‍ठलगायत कानून व्यवसायी मिलेर नेपाल ल फर्म स्थापना भएको थियो, जुन आज पनि कायम छ। उक्त फर्ममा कुसुमजी अन्तर्गत रहेर धेरै कानून व्यवसायीले आफूलाई स्थापित गरे। त्यस्ता प्रशिक्षार्थीमध्ये महादेवप्रसाद यादव, सूर्य ढुंगेल, भरतराज उप्रेती, प्रकाश वस्ती आदि नाम अग्रपंक्तिमा आउँछन्।

झण्डै ६ दशकको व्यावसायिक यात्रामा स्वतन्त्र न्यायपालिका, कानूनी राज्य र व्यक्तिगत स्वतन्त्रताका पक्षमा कुसुम श्रेष्‍ठको निष्‍ठा अविचलित रह्‍यो।

झण्डै ६ दशकको व्यावसायिक यात्रामा स्वतन्त्र न्यायपालिकाप्रति उहाँको निष्‍ठा अविचलित रह्‍यो। संविधानवाद, कानूनी राज्य र स्वतन्त्रताका पक्षपाती कुसुमजीले सर्वोच्च अदालतको आँगनमा बसेर न्यायपालिकाप्रति हलुका टिप्पणी गरेको कहिल्यै सुनिएन।

राधेश्याम अधिकारी

उहाँमा कानून व्यवसायी भएपछि न्यायाधीशहरूलाई अध्ययन, ज्ञान र परिश्रमबाट सहयोग गर्नुपर्छ भन्‍ने सोच थियो। खुला अदालत र न्यायपालिकाको पारदर्शी चरित्रको जति ख्याल उहाँ र त्यसबेलाका अन्य व्यक्तिहरूमा थियो, अचेल त्यसमा विचलन आएको देखिन्छ।

बारको संस्थागत विकास नभएसम्म वकिलको भूमिका पनि कमजोर हुन्छ भन्‍ने धारणा थियो, उहाँको। नेपाल बार एसोसिएसनलाई आजको स्थितिमा पुर्‍याउन उहाँको महत्वपूर्ण योगदान छ।

बारलाई इन्टरनेशनल बार एसोसिएसनसँग आबद्ध गराउने कामदेखि नर्वेजियन बार एसोसिएसनसँग सम्बन्ध विकास गराउन उहाँले अग्रणी भूमिका निर्वाह गर्नुभयो। सर्वोच्च अदालत बार एसोसिएसनको पहिलो अध्यक्ष कुसुमजी बारको मुखपत्र न्यायदूतको पहिलो सम्पादक हुनुहुन्थ्यो। नेपाल कानून समाजको स्थापना पनि उहाँबाटै भएको थियो।

कुसुमजीले आफ्नो जीवनकालमा असंख्य मुद्दाहरूमा बहस-पैरवी गर्नुभयो तर केही मुद्दामा उहाँको संलग्‍नता सदा स्मरणीय छ। बीपी कोइरालाको राजकाजसम्बन्धी मुद्दा, भीमनारायण श्रेष्‍ठ (जसलाई मृत्युदण्ड दिइयो) का राजकाज मुद्दाहरू तीमध्ये केही हुन्।

त्यसैगरी प्रेस स्वतन्त्रता र निर्वाचन सम्बन्धित कैयन् मुद्दामा उहाँले महत्वपूर्ण योगदान दिनुभएको छ।

२०२० देखि २०५० सालबीचका संवैधानिक विवादका सबैजसो मुद्दामा कुनै न कुनै पक्ष भएर उहाँले अदालतलाई सघाउनुभएको तथ्य त्यसबेलाका नेपाल कानून पत्रिका पल्टाउनेबित्तिकै थाहा हुन्छ।

सर्वोच्च अदालतले असाधारण अधिकार क्षेत्र (बोलीचालीका भाषामा रिट क्षेत्र) अन्तर्गत गरेका यो अवधिका निर्णयहरूमा उहाँको योगदान यथेष्‍ट छ। ती निर्णयहरू पछिल्ला पिंढीका लागि मार्गनिर्देशक छन्।

मित्रहरूका मित्र हुनुहुन्थ्यो, कुसुम श्रेष्‍ठ। ल फर्मकै साथीहरू कृष्णप्रसाद पन्त, लक्ष्मीबहादुर निराला, रामनगिना सिंहदेखि मोतीकाजी स्थापित, मधु शर्मा, मुकुन्द रेग्मी, वासुदेव ढुंगाना, दमननाथ ढुंगाना, शंकर घिमिरे, निरकुमार क्षत्री आदि धेरै थिए उहाँको मित्र मण्डलीमा।

त्यसमध्ये पनि छुटाउन नहुने नाम हो- गणेशराज शर्मा। कुसुमजी र गणेशराजजीको मित्रता जीवनभर एकनासको रह्‍यो। सार्वजनिक सरोकारका धेरै मुद्दामा उहाँहरूले मिलेर काम गर्नुभएको छ। दुवै एकअर्काका पूरक हुनुहन्थ्यो।

आफ्ना समयका सबै राजनीतिज्ञले कुसुमजीको रायलाई आदरका साथ स्वीकार गरेको मेरो अनुभूति छ। कानून व्यवसाय बाहिर पनि उहाँका धेरै साथी थिए, पत्रकारहरूबीच पनि उहाँ लोकप्रिय हुनुहुन्थ्यो।

पेशागत कामबाहेक कुसुमजीको रुचि पुस्तकमा थियो। श्‍वासप्रश्‍वासको समस्याले गर्दा पछिल्लो दशक अदालत आउन छाडे पनि थापाथली, कुरिया गाउँस्थित आफ्नो नयाँ च्याम्बरमा बसेर पुस्तक पढिरहनुहुन्थ्यो। मजस्ता उहाँलाई भेट्न जाने थुप्रैलाई उहाँ पढ्न प्रेरित गर्नुहुन्थ्यो।

यही हौसलाकै कारण कुसुमजी र उहाँका समकालीन मित्रहरूले कुवेरजी (चार्टर्ड अकाउन्टेन्ट कुवेर शर्मा) को डिल्लीबजारस्थित बाटुले घरमा खोलेको ‘बुक क्लब’ मा गुन्‍नार मिर्डलको भ्रष्‍टाचार र विकासबारेको पुस्तकमाथि मैले पनि पेशाका प्रारम्भिक दिनमा टिप्पणी गर्ने अवसर पाएको थिएँ।

कुसुमजी अक्सर साँझमा गणेशराजजीको घर जानुहुन्थ्यो। अरू साथीहरू पनि हुन्थे त्यहाँ। त्यो जमघटलाई उहाँले ‘भेजिटेरियन क्लब’ नाम दिनुभएको थियो। उक्त क्लबमा मलाई सबैभन्दा मन परेको कुरा- त्यहाँ व्यक्तिगत कुराकानीको गुञ्‍जाइस थिएन। जहिले पनि राष्‍ट्रिय र अन्तर्राष्‍ट्रिय राजनीतिक, सामाजिक, सांस्कृतिक मुद्दामा छलफल हुन्थ्यो।

त्यहाँ कुसुमजी लगायतका अग्रजहरूले गरेको संवादबाट म स्वयं धेरै लाभान्वित भएको छु। नेपाली र अंग्रजी दुवै भाषामा पोख्त कुसुमजीले पेशाका शुरुआती वर्षहरूमा निकै लेखहरू लेख्नुभएको छ। न्यायदूत को पहिलो अंकमै लेखेको सम्पादकीय अहिले पनि कानून व्यवसायीमाझ चर्चाको विषय बन्छ।

आधुनिक भेष रुचाउने, चश्मा लगाएको हँसिलो अनुहार भएका कुसुम श्रेष्‍ठ २००७ सालपछिको नेपालको न्यायिक क्षेत्रका नक्षत्र हुनुहुन्थ्यो भन्दा अत्युक्ति हुँदैन। उहाँकी धर्मपत्‍नी लक्ष्मी भाउजू कानूनमा स्‍नातक (अधिवक्ता) भएर पनि कुसुमजीको घर सम्हालेर सहयोगी बनिरहनुभयो। छोरा निरज पिता कुसुमकै बाटो पछ्याउँदै कानून व्यवसायमा संलग्‍न छन्।

स्वतन्त्र न्यायपालिका, कानूनी राज्य तथा व्यक्तिगत स्वतन्त्रताको पक्षमा निष्‍ठाका साथ वकालत गर्ने वरिष्‍ठ अधिवक्ता कुसुम श्रेष्‍ठको ८२ वर्षको उमेरमा २१ कात्तिकमा निधन भएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्‍जली !

प्रतिकृया दिनुहोस