जुलियान असान्जविरुद्ध अमेरिकामा अभियोग दर्ता
वासिङ्टन- सन् २०१० मा अमेरिका सरकारका गोप्य दस्तावेजहरू सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि अमेरिकामा अभियोग दर्ता गरिएको छ।
विकिलिक्सका अनुसार अमेरिकी अभियोजनकर्ताहरूले अदालतमा शिलबन्दी अभियोगपत्र दर्ता गरेका छन्। तर, असान्जविरुद्धको अभियोगको प्रकृतिबारे स्पष्ट हुन सकेको छैन।
"अमेरिकी न्याय विभागले एउटा शिलबन्दी अभियोगपत्र अदालतमा पेश गरेको पाइयो," विकिलिक्सले ट्विटरमा लेखेको छ। अमेरिकी सहायक महान्यायाधीवक्ता केल्लेन ड्वाएरले अदालतमा असान्जविरुद्धको खामबन्दी अभियोगपत्र दर्तामा रहेको र त्यो अझै नखोलिएको बताइन्। अदालतलाई अझै पनि उक्त अभियोगको खाम नखोल्न आग्रह गरिएको उनले जानकारी दिइन्।
मुद्दाको संवेदनशीलताका कारण गोपनीयता राख्न जरुरी भएको ड्वाएरको भनाइ छ। असान्जलाई पक्राउ नगर्दासम्म उक्त खामबन्दी अभियोगलाई खामबन्दी नै राखिने उनले बताइन्। रासस/एएफपी