‘ए’ डिभिजन लिग शनिबारदेखि
काठमाडौं- चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि शुरु हुँदैछ।
गत १३ असोजमा शुरु भएको लिग बाङ्लादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता तथा दशैं, तिहार र छठका कारण स्थगित गरिएको थियो। लिगको पहिलो चरणका खेल भने सम्पन्न भइसकेका छन्। शनिबारदेखि हुने लिगको दोस्रो चरणका खेलका लागि सबै तयारी पूरा भइसकेको अखिल नेपाल फुटबल संघको लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए।
पहिलो चरणको खेल सकिँदासम्म मनाङ-मर्स्याङ्दी, संकटा, थ्रिस्टार र नेपाल पुलिसले पहिलो खेल जित्दै ३-३ अंक जोडेका छन्। यस्तै, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपीएफ, च्यासल, मच्छिन्द्र, न्यूरोड टिम र हिमालयन शेर्पा क्लबले बराबरी खेल्दै १-१ अंक जोडेका छन्। जावलाखेल, सरस्वती, फ्रेण्डस् र ब्रिगेडब्वाइज हार बेहोर्दै अंकविहीन छन्।
हलचोक मैदानमा हुने दोस्रो चरणको पहिलो खेलमा मनाङ-मर्स्याङ्दी क्लब र न्यूरोड टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ। सोही दिन हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र च्यासल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्।
२ मंसिरमा मछिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच पहिलो तथा ब्रिगेडब्वाइज क्लब र थ्रीस्टार क्लबबीच खेल हुनेछ। दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ।
३ मंसिरमा जावलाखेल युथ क्लब र संकटाबीच पहिलो तथा फ्रेण्डस् क्लब र एपीएफबीच दोस्रो खेल एन्फा मैदानमा हुनेछ। सोही दिन सरस्वती क्बल र हिमालयन शेर्पाबीच हल्चोकस्थित सशस्त्रको मैदानमा खेल भएसँगै दोस्रो चरण समाप्त हुनेछ। तेस्रो चरणको प्रतिस्पर्धा ६ मंसिरदेखि शुरु हुनेछ।
लिगमा १४ ‘ए’ डिभिजन क्लबहरू थ्रिस्टार, मनाङ-मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेण्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, एनआरटी, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन्।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कूल ९१ खेल हुनेछन्। लिग विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख र तेस्रोले रु २५ लाख पाउनेछन्। लिगको चौथो टोलीले रु १५ लाख, पाँचौं टोलीले रु ७ लाख र छैटौंले रु ५ लाख पाउनेछन्। ‘फेयरप्ले’ टिमले रु १ लाख पाउनेछन्।
प्रत्येक खेल जितेवापत एन्फाले क्लबलाई रु ५० हजार तथा ‘म्यान अफ दी म्याच’ खेलाडीलाई रु १० हजार दिनेछन्। लिग विजेता टोलीले एएफसी एशियन कप फुटबलमा सहभागिता जनाउन पाउने लिग निर्देशक मिश्रले जानकारी दिए।