तरलता समस्याले शेयर बजारमा अनलाइन कारोबारको प्रभाव देखिन पाएन
मंगलवार १४ अंकको फराकिलो वृद्धिबाट उत्साहित नेप्से बुधवारको स्थिरतापछि आज भने ओरालो लागेको छ ।
आज शेयर बजार सूचकांक अघिल्लो दिनको तुलनामा ३.३१ अंक घटेर १२०५.५८ अंकमा झरेको छ ।
नेप्सेमा अनलाइन कारोबार लागू भएपछि परिसूचक बढ्छ भन्ने धेरैको पुर्वानुमान अहिले मेल नखाने अवस्थामा देखिएको छ ।
खासगरी ब्यांकिङ प्रणालीमा बढ्दो तरलता समस्या नेप्सेका लागि पनि दुखद विषय बनेको छ ।
ब्यांकहरुमा देखिएको लगानी योग्य रकमको अभावले शेयरमा प्रवाह हुने कर्जामात्र रोकेको छैन, ब्यांकहरुले महँगो ब्याजदरमा निक्षेप उठाइरहेका छन् ।
अहिले संस्थागत मुद्दती निक्षेपको ब्याजदर नै १० प्रतिशत छ । व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशतसम्म छ । तर, धेरैजसो कम्पनीले १०–१५ प्रतिशतभन्दा बढी लाभांश दिने अवस्था नबनेपछि लगानीकर्ताहरु निक्षेपतर्फ आकर्षित भएको देखिन्छ ।
आज नेप्सेमा होटेलबाहेक सबै समूहगत परिसूचक ओरालो लागेको छ । आज एभरेष्ट इन्स्योरेन्स र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेपनि त्यसबाहेक कुनैपनि कम्पनीको शेयरको भाउ ४ प्रतिशत पनि महँगिन सकेन ।
मूल्य सस्तिने कम्पनीहरुको भाउ पनि भारी मात्रामा घटेको भने छैन ।
सर्वाधिक सस्तिएको मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ३.८८ प्रतिशतमात्रै सस्तिएको छ । तर, अधिकांश कम्पनीको शेयर मूल्य सस्तिएपछि समग्र नेप्सेको सूचक ‘रातो’ रंगले पोतिन पुगेको हो ।
सातामा कारोबार हुने अन्तिम दिन आज नेप्सेमा १५८ कम्पनीका करीब ८ लाख २८ हजार कित्ता सेयर रु. २३ करोड ९८ लाख ६८ हजारमा किनबेच भयो ।
आज कारोबार रकमको आधारमा प्रभु ब्यांकको सर्वाधिक दुई करोड ३१ लाख ८९ हजार रुपैयाँको शेयर किनबेच भएको छ । मेगा ब्यांकको पनि एक करोड ४१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।