सौर्यमण्डल बाहिर पत्ता लाग्यो नयाँ ग्रह
खगोलशास्त्रीहरूले सौर्य मण्डल बाहिर एक तारालाई परिक्रमा गरिरहेको नयाँ ग्रह पत्ता लगाएका छन् । त्यस ग्रहले सूर्यबाट नजिकको तारालाई परिक्रमा गरिरहेको छ ।
पछिल्लो जेनेरेसनको टेलिस्कोपमार्फत् नयाँ ग्रह पत्ता लागेको हो, जुन पृथ्वीबाट ६ प्रकास वर्ष टाढा छ । र, खगोलशास्त्रीहरूले यसलाई ‘सुपर अर्थ’को श्रेणीमा राखेका छन् । ‘बर्नार्ड’ नाम दिइएको ताराको परिक्रममा गरिरहेको उक्त ग्रह पृथ्वीभन्दा ३.२ गुणा ठूलो छ ।
‘नेचर’ जर्नलमा गिलेम एङ्लड एस्कुड र उनको सहकर्मीहरूले नयाँ ग्रहको खोजीबारे विस्तृत विवरण दिएका छन् । प्रारम्भिक खोजमा उक्त चट्टानी ग्रहमा पानी, हाइड्रोजन, कार्बन डाइअक्साइडजस्ता वाष्पशील पदार्थहरू सहितको घना वायुमण्डल रहेको अनुमान छ । तीमध्ये अधिकांश पदार्थ जमेको अवस्थामा छन् ।
सन् २०१६ मा पत्ता लागेको ‘प्रोक्सिमा सेन्चुरी बी’ पछाडि पृथ्वीबाट दोस्रो निकटस्थ ‘एक्जोप्लानेट’ भएको वैज्ञानिकहरूको भनाइ छ । सौर्यमण्डलबाहिर कुनै तारालाई परिक्रमा गरिरहेको ग्रहलाई ‘एक्जोप्लानेट’ नाम दिइएको छ ।
उक्त ग्रहको सतहको तापक्रम माइनस १५० डिग्री हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ । तर, विशालकाय वायुमण्डलका कारण ताप बढ्न सक्ने र जीवनका लागि उपयुक्त हुन सक्ने अनुमान पनि वैज्ञानिकहरूको छ ।
बीबीसीबाट