सिसिटिभीमार्फत २० हजार चालक कारबाहीमा, कारबाहीको चिठी घरमै
महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कारबाही अगाडि बढाएको छ ।
महाशाखाले हालसम्म सिसिटिभीको निगरानीमार्फत २० हजार २४ जनालाई कारबाही गरेको छ ।
आव २०७३/७४ मा १३ हजार २२७, आव २०७४/७५ मा दुई हजार ७१६ र आव २०७५/७६ मा दुई हजार ७५२ जना चालक कारबाहीमा परेका छन् ।
“उपत्यकाका सबै चोक र सडकमा ट्राफिक जनशक्तिको अभाव छ, त्यसैले महाशाखाले सिसिटिभीमार्फत नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही शुरु गरेको हो,” महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले भने ।
लेन मिच्ने, तीब्र गतिमा सवारी चलाउने, एकतर्फी बाटोमा सवारी चलाउने, नो टर्न लेखेको ठाँउबाट मोड्ने लगायतलाई कारबाही गरिएको महाशाखाले जनाएको छ ।
हाल महाशाखाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका ४६० क्यामराबाट उपत्यकाको ट्राफिक गतिविधिको निगरानी गर्दै आइरहेको छ ।
त्यसैगरी, महाशाखाले सवारी नियम उल्लङ्घन गर्ने एक हजार ३२९ सवारी चालकलाई घरमा चिठी पठाएर कारबाही गरेको छ ।
तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल महाशाखा प्रमुख भएको समयमा महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई घरमा चिठी पठाएर कारबाही गर्ने अभियान शुरु गरेको थियो ।
यातायात व्यवस्था विभागका अनुसार नेपालभर ३२ लाख सवारीसाधन सञ्चालनमा छन् । जसमध्ये आठ लाख सवारीसाधन काठमाडौं उपत्यकामा मात्र सञ्चालनमा रहेका छन् । रासस