रोकिएन नदीजन्य पदार्थको चोरी निकासी
जितपुर- कपिलवस्तुको बाणगंगा नदीआसपास क्षेत्रबाट नदीजन्य पदार्थको अवैध निकासी रोकिएको छैन ।
बाणगंगाबाट लामो समयदेखि हुँदै आएको नदीजन्य पदार्थको अवैध चोरी निकासी जारी छ । रातको समयमा बाणगंगा पुलको उत्तर र दक्षिणी क्षेत्रबाट निकासी भइरहेका बेला प्रहरीको गस्ती टोलीले पाँच वटा ट्रयाक्टर नियन्त्रणमा लिएको थियो ।
बाणगंगा नगरपालिकाको स्थलगत अनुगमनमा निकासी गर्न राखिएका ढुंगा, गिटी र बालुवा फेला परेका छन्। नगरप्रमुख मंगलप्रसाद थारू, उपप्रमुख चक्र अर्याल, वडाध्यक्ष गुणनिधि भुसाल, प्रहरी, सञ्चारकर्मीसहित संयुक्त अनुगमन टोलीले स्थलगत अनुगमन गरेको हो ।
अवैध रूपमा नदीजन्य पदार्थ निकासी नरोकिएपछि त्यसको जानकारीका लागि अनुगमन गरिएको नगरका प्रवक्ता विष्णु पन्थीले जानकारी दिए ।
तस्करी बढेको गुनासो आएपछि अनुगमन गरिएको नगर उपप्रमुख चक्र अर्यालले बताए। अनुगमन तथा निरीक्षणका क्रममा नदीको छेउछाउ तथा बाटोमा थुपारिएर राखिएको बालुवा, गिटी र ढुंगा नगरले डम्पिङ साइट स्थापना गरी बोडगाउँमा राखिएको नगरका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेलले जानकारी दिए। रासस