प्रहरीमा पहिलो महिला एआईजी
स्थापनाको ६७ वर्षपछि नेपाल प्रहरीमा पहिलोपटक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा एक महिला अधिकृत बढुवा भएकी छन्।
महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा कार्यरत डा. दुर्गा थापा विशिष्ट श्रेणीमा पुग्ने पहिलो महिला बनेकी हुन्। प्रहरी अस्पतालको प्रमुखमा उनको पदस्थापन भएको छ। डा. दिनेशचन्द्र पोखरेलले सेवा अवधिको हदका कारण अनिवार्य अवकाश पाएपछि प्रहरी अस्पताल प्रमुखविहीन थियो।
डा. थापा दन्त चिकित्सक हुन्। २५ कात्तिकको मन्त्रिपरिषद् बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। डा. थापालाई मंगलबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजीको दर्ज्यानी चिन्ह लगाइदिएका छन्।
यसअघि प्रहरीमा डीआईजी पदसम्म मात्र महिला पुगेका थिए। पार्वती थापा र विमला थापा सात वर्षअघि डीआईजी भएका थिए। उनीहरूले सोही पदबाट अवकाश प्राप्त गरेका थिए।