रिपोर्टमंगलबार, २७ कार्तिक , २०७५

दाहाल–थापाको तातोपानी कुण्ड स्नान, तुस मेट्ने बहाना

मुकेश पोखरेल

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाको म्याग्दी भ्रमणलाई पारिवारिक भनिए पनि यो दुई नेताबीचको तुस मेट्ने अवसर रहेको धेरैको बुझाई छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल, पत्नी सीता र छोरी गंगा सहित २६ कात्तिक दिउँसो नेपाली सेनाको हेलिकप्टरबाट म्याग्दीको वेनी–४ स्थित तातोपानी कुण्ड पुगे ।

दाहालका साथमा नेकपा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल, उनकी पत्नी नैनकला र परिवारका अन्य सदस्य पनि थिए ।

विहान ११ बजे अर्थुगेंस्थित श्री बक्स गुल्ममा ओर्लिएका दाहाल र थापा सहितको टोली ३ घण्टापछि तातोपानी कुण्ड पुग्यो ।

दाहालका स्वकीय सचिव जोखबहादुर महराका अनुसार यो पारिवारिक भ्रमण थियो र तातोपानी कुण्डमा स्नानका लागि दाहाल–थापा परिवार म्याग्दी पुगेको हो ।

विगतकै शृंखला
दाहालको सचिवालयले विश्राम र तातोपानी कुण्डमा स्नानका लागि बताए पनि यो भ्रमण यतिमै सीमित थिएन । थाइल्याण्ड र सिंगापुरमा उपचार गराए पनि पूरै निको हुन नसकेकी सीतालाई लिएर दाहाल परिवार तातोपानी कुण्डमा पुग्नु अस्वभाविक होइन । किनभने विदेशमा गरिएको  उपचारमा ‘वाटर थेरापी’ पनि समावेश  थियो । तर, दाहालले गृहमन्त्री थापालाई साथै लैजानुले उक्त भ्रमण पारिवारिक भन्दा बढी रहेको बुझिन्छ ।

एमाले र माओवादीबीच एकीकरण हुनुपूर्व दाहाल र थापाको सम्वन्धमा धेरै उतार–चढाव आयो । ‘डिभोर्स, प्रचण्ड र बाबुरामको’ पुस्तकका लेखक पत्रकार नेत्र पन्थी माओवादी शान्ति प्रक्रियामा आएदेखि नै दाहाल र थापाको सम्वन्ध राम्रो नभएको बताउँछन् ।

“भूमिगतकालमा पनि दुई नेताको सम्वन्ध कहिले असाध्यै राम्रो भयो, कहिले तिक्ततापूर्ण,” पन्थी भन्छन् “माओवादी शान्ति प्रकृयामा आएपछि त ठूलो फाटो आयो ।” यही फाटोको परिणाम थियो, २०६९ सालमा भएको माओवादी विभाजन । त्यतिवेला मोहन वैद्यतर्फ रहेका थापा करिब दुई वर्षअघि मात्रै दाहालसँग मिल्न आए ।

विगतमा पनि दुई नेताबीच सम्वन्ध विग्रंदा पारिवारिक भेटघाटका नाममा मन माझ््ने काम हुन्थ्यो । १५ वर्षअघि दाहाल र थापाको सम्बन्धमा तनाव पैदा भएपछि थापा पत्नी नैनकलाको योजनामा दाहालको ५० औं जन्मोत्सव दिल्लीमा केक काटेर मनाइएको थियो ।

‘डिभोर्स, प्रचण्ड र बाबुरामको’ मा उल्लेख भए अनुसार त्यसपछि थापा र दाहालबीचको सम्बन्ध केही सहज भएको थियो ।

म्याग्दीमा तातोपानी स्नानलाई पनि त्यसकै पछिल्लो कडीका रुपमा हेरिएको दाहाल–थापा निकटस्थहरु बताउँछन् ।

नजिक्याउने प्रयास
सत्ता र शक्ति बाहिर रहनै नसक्ने राजनीतिक खेलाडीको पहिचान बनाएका दाहाललाई पार्टी एकीकरणपछि पूर्व एमालेको अन्तरविरोधमा खेलेर आफू शक्तिशाली बन्ने विश्वास थियो ।

त्यतिवेला दाहालको प्राथमिकतामा थापा भन्दा बढी पूर्व एमाले नेताहरु थिए । तर, पूर्व एमालेहरुको अपेक्षित साथ उनले पाएनन् । खासगरी गत भदौमा भारत भ्रमणका बेला उनले दिएको अभिव्यक्ति उनकै लागि प्रत्यूत्पादक बन्न पुग्यो ।

भारत भ्रमणको पूर्वसन्ध्यामा दाहालले सिमित पत्रकारमाझ केही मन्त्रालयमा नेतृत्व परिवर्तन गर्ने बारे प्रधानमन्त्री ओली र आफूबीच सहमति भएको बताएका थिए ।

दाहालको मन्त्री फेर्ने भनाई, गृहमन्त्री थापाप्रति नै लक्षित थियो । थापाले पनि आफू निकटस्थसँग दाहालले असहयोग गरेको गुनासो गर्थे ।

तर, जसै दाहालको दिल्ली भ्रमण अस्वभाविक देखियो, त्यसपछि प्रधानमन्त्री ओलीले मन्त्री फेर्ने कुनै योजना नरहेको बताउन थाले ।

एकातिर पूर्व एमालेभित्र खेलेर शक्ति प्राप्त गर्ने उद्देश्य असफल हुनु र अर्कोतिर आफ्नै भनिएकाहरुको साथ गुम्दै जान थालेपछि दाहाललाई आफ्ना पुराना मित्रहरुको अभाव खड्किन थाल्यो ।

उनी पुनः थापालाई फकाउने अवस्थामा पुगे । पुरानो तुस मेटाउने बहाना बन्यो, तातोपानी कुण्ड र स्नान ।

 

प्रतिकृया दिनुहोस