ब्लगसोमवार, कार्तिक २६, २०७५

कर्णालीको पैठ जात्रा- धामी, दमाहा र देउडाको पर्व

हिमालखबर

मिमबहादुर परियार

दमाहाको धुन बजेसँगै धामीहरू कम्मर हल्लाउँदै पतुर्न र काम्‍न थालेपछि धामीमा देउता चढेको मानिन्छ।

“काठमाडौंका जात्रा-उत्सवले हाम्रो गाउँ समाजमा हुने पैठ (जात्रा) को याद दिलाउँछन्। यहाँ विभिन्‍न जात्रामा नाच्‍नेहरूले पैठका धामीहरूको र यहाँको धिमे बाजाले पैठमा बज्‍ने दमाहाको झझल्को गराउँछ,” काठमाडौं आरआर क्याम्पसमा स्‍नातकोत्तर अध्ययनरत जुम्लाको कनकासुन्दरी गाउँपालिकाका ब्रम्‍हदास परियार आफ्नो क्षेत्रको पैठ सम्झन्छन्, “साउनदेखि दशैंको पूर्णिमासम्म पैठ लाग्थ्यो। ८–१० कक्षामा पढ्दाताका हामी घण्टौं हिंडेर, सातु खाई जंगलमा बास बसेर पैठ हेर्न जान्थ्यौं। हरियाली बीचको पाटन (पहाडको उचाइमा रहेको समथर) मा हुने पैठले घण्टौं हिंडेको थकान बिर्साउँथ्यो।”

संस्कृतिको धनी हामीकहाँ विभिन्‍न जाति तथा समुदायका विभिन्‍न जात्रा र पर्व छन्। कर्णाली क्षेत्रका जुम्ला, कालीकोट, बाजुरा, मुगुलगायत जिल्लामा पैठहरू निकै रौनकतापूर्वक मनाइन्छ। दमाहाको रागअनुसार धामी नाच्‍नु (पतुर्ने) नै पैठको मुख्य विशेषता हो। पैठमा सेतो दौरा, शिरमा फेटा, गलामा रुद्राक्ष तथा फूलका माला लगाएर धामीहरू दमाहाको धुनमा पतुर्ने गर्छन्।

स्थानीय देवहरूको उत्सव पैठअन्तर्गत मष्‍टा देवको पैठ, झ्या देवको पैठ, लाकुराको पैठ, ह्याकर लौडिसिमेको पैठ, महादेवको पैठ, लामा विष्णुको पैठ, बाटपालाको पैठ, खापर देवको पैठ इत्यादि पर्छन्।

पैठ मनाउने मुख्य महीना साउन हो भने तिथि एकादशी, पूर्णिमा र दशमी हुन्। तर, विभिन्‍न समुदायका आफ्ना देवीदेवताअनुसारको तिथि पर्छ। लामा विष्णुले पैठ साउन पूर्णिमामा मनाउँछन् भने झ्यादेवले साउन एकादशीमा, लौडिसिमेदेवले पूर्णिमामा मनाउँछन् । केही समुदायले तिथि हेरेर दशैंपछि पैठ मनाउने गर्छन्। पैठका आ-आफ्ना विशेषता छन्। केही पैठमा पशुबलि चढाइन्छ त केहीमा दूध।

मुगुका पूर्वजिल्ला शिक्षा अधिकारी जवाहरलाल हमाल पैठ आर्य-खसका पुर्खाहरूले ठाउँ, परम्परा, जातिगत संस्कृतिअनुसार आफ्नो कुल देवतालाई मान्‍ने विशेष पर्व भएको बताउँछन्। उनका अनुसार आजभोलि भने पैठलाई जात्रा भन्दै भेटघाट तथा रमाइलो गरेर मनाइएको पाइन्छ।

दमाहा र देउडाको रौनक

पैठमा पैठारु (पैठ हेर्ने दर्शक) ले वरिपरि घेरेका हुन्छन्। बीचमा विभिन्‍न जातिका धामीहरूको समूह र किनारामा दमाईहरू दमाहाका साथ उभिएका हुन्छन्। दमाहाको धुन बजेसँगै धामीहरू कम्मर हल्लाउँदै पतुर्छन्। पतुर्दै काम्‍न थालेपछि धामीमा देउता चढेको मानिन्छ। धामीलाई देउता चढ्न दमाईले दमाहा बजाउनैपर्छ। पछिल्लो तीन वर्षदेखि पैठमा दमाहा बजाउँदै आएका जुम्लाको कनकासुन्दरी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत जनक परियार धामीहरूमा देउता चढाउन कहिलेकाहीं लगातार दुई घण्टासम्म दमाहा बजाउनुपर्ने बताउँछन्।

प्रत्येक धामीको आ-आफ्नै धुन हुन्छ। अन्य धुनमा उक्त देवताका धामीलाई देउता आउँदैन। जुम्लाको सिंजा गाउँपालिकाका लौडिसिमदेवका धामी प्रताप दमाई आफूलाई देउता आउन लौडिसिमेको राग चाहिने बताउँछन्।

धामी पतुरिसकेपछि पैठारुहरू देउडा खेल्ने गर्छन्। देउडा समूह-समूह बाँधेर खेलिन्छ। महिलाको छुट्टै देउडा खेल हुन्छ भने पुरुषको छुट्टै। यसले पैठको माहोलमा रौनकता थप्छ।

धामीहरूको समूहभित्र पनि मूल धामी, सहायक धामी तथा डाङ्ग्री (धामीको पूजाआजाको सामान हेरचाह गर्नेहरू) हुन्छन्। प्रत्येक देवताको एक जना मात्र मूल धामी हुने परम्परा छ। सहायक धामी दुई जनाभन्दा धेरै हुन्छन्। देउता चढुन्जेलसम्म धामीहरू काम्‍ने, खाम भाषा बोल्ने र पैठारुलाई टीका लगाउने गर्छन्।

कर्णाली क्षेत्रको सम्पत्ति

पैठको दिनमा ठूलो मेला लाग्छ। प्रायः ठूला देवहरूका पैठ पाटनमा आयोजना गरिन्छ भने साना तथा स्थानीय पैठ गाउँ-गाउँमा लाग्‍ने गर्छ। नयाँ लुगा लगाएर साथीसँगीको समूह-समूहमा पैठ हेर्न जाने चलन छ। सबै उमेर समूहका मानिस घण्टौं हिंडेर पैठमा मेला भर्न पनि जान्छन्। आफ्नो ठाउँमा पैठ हुने बेला भारतमा श्रम गर्न गएका युवाहरू पनि घर फर्कने गर्छन्।

कनकासुन्दरी गाउँपालिकाका धन वड नेपाली पैठलाई सामाजिक तथा धार्मिक पर्व मान्छन्। पैठ भन्‍नेबित्तिकै यहाँका स्थानीय बासिन्दामा छुट्टै उमंग ल्याउने र यसले घरपरिवार र गाउँघरलाई एकढिक्का बनाउने उनको बुझाइ छ।

पैठलाई सरकारी तवरबाट प्रवर्द्धन गर्ने हो भने आन्तरिक तथा बाह्‍य पर्यटक कर्णालीमा भित्र्याउन सकिन्छ।

प्रतिकृया दिनुहोस