टिप्पणीशनिवार, कार्तिक २०, २०७३

पाखण्डी चिनौं

शेखर खरेल

'चोरकै ठूलो स्वर' भने झै पाखण्ड ब्रान्डका असली उपभोक्ताहरू नै नैतिकता, इमान र आदर्शका चर्का कुरा गर्छन्।

महात्मा गान्धी सत्यसँग साक्षात्कार गरिरहन्थे। आत्मकथा माई एक्स्पेरिमेन्ट विथ ट्रूथ मा सत्यसँगको साक्षात्कारका निम्ति गान्धीले स्वयंलाई पर्गेलेका अनेकौं दृष्टान्त छन्।

गान्धीको स्पष्ट सन्देश हुन्थ्यो– तिमी आफैंले गर्न नसक्ने कुरा अरूमाथि नलाद, आफ्नो उपदेशको पालनकर्ता स्वयं नै बन। सन् १९४८ मा अंग्रेजी भाषामा प्रकाशित गान्धीको उपदेश संग्रहलाई नेपाली भाषामा डा. गोविन्दराज भट्टराईले अनुवाद गरेका छन्।

'गान्धीगीता' का रूपमा प्रकाशित उक्त पुस्तकको एउटा उद्धरण यस्तो छः 
'सत्यले प्रत्येक मानव–हृदयमा बास गर्दछ, त्यसको खोजी गर्नुपर्छ। त्यो पत्ता लागेपछि, त्यही सत्यद्वारा निर्देशित हुनुपर्छ। तर, सत्यप्रतिको आफ्नो अवधारणा अनुसार अरूलाई चल्न बाध्य गराउने अधिकार भने कसैलाई छैन।'

पछिल्लो समय नेपालमा एक निडर र निस्पृह चिकित्सक डा. गोविन्द केसीले सत्यको खोजी गरे र त्यसको प्राप्ति पछि गान्धीकै पथ सत्याग्रहमार्फत समाजको अँध्यारो हटाउने चेष्टा गरे।

डा. केसीको सत्याग्रहको मार्ग सबै नेपालीका निम्ति सत्यसँग साक्षात्कारको अनुपम अवसर थियो। तर, त्यस अवसरलाई केही बौद्धिक भनिनेहरूले भने तिरस्कार गरे।

डा. केसीले जसै लोकतन्त्र स्थापनायता भ्रष्टाचार, ब्ल्याकमेलिङ र माफियातन्त्रको प्रतिनायक अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई संसद्मा महाअभियोग लगाइनुपर्ने माग सारे, ती तथाकथित बौद्धिक कार्कीलाई दूधले नुहाइदिने र केसीलाई कालो पोतिदिने नियोजित षडयन्त्रमा सामेल भए।

निश्चय नै, डा. केसीले उठाएको मागप्रति असहमत हुने अधिकार जो–कसैलाई छ, उनको अभियानप्रति निरपेक्ष पनि रहन सकिन्छ। तर, कुरा जब कार्की र डा. केसीमध्ये एकलाई रोज्नुपर्ने अवस्था आउँछ, त्यो वेला कार्कीलाई रोज्नु भनेको पाखण्डपन सिवाय केही हुनै सक्दैन।

डा. केसीले तीन करोड नेपालीको हितलाई सर्वोपरि राखेर भ्रष्टाचारविरुद्ध जिहाद छेड्दा आम नागरिक तरङ्गित भए, युवा भयमुक्त हुँदै कार्की र मेडिकल माफियाविरुद्धको मोर्चाबन्दीमा उत्रिए। तर, 'भ्रष्टाचारीलाई कीरा परोस्' भन्ने नाराधारी टी–सर्ट लगाएर फेसबूकमा तस्वीर राख्ने र मिडियामा विज्ञापन गर्ने कतिपय 'बौद्धिक अगुवा' को भने अत्तोपत्तो थिएन।

फलेको फल टिप्न कि रूख चढ्नुपर्छ, कि झटारो हान्नुपर्छ। झरिहालोस् भनेर थपक्क फल कसैको हातमा झर्दैन। कीरा भ्रष्टाचार गर्नेलाई मात्र पर्ने हो या भ्रष्टाचार सहनेलाई पनि?

पाखण्डपनका घटना एक होइन, अनेक छन्। असलमा नेपाली समाजको चरित्र दोहोरो छ। 'आश र त्रास' को मनोविज्ञानबाट समाजको ठूलो तप्का निर्देशित छ।

सामान्य मानिसलाई त्रासले छोप्दा उनीहरू जोखिम उठाउने साहस गर्दैनन्, तर सुविधासम्पन्न र बौद्धिक भनाउँदाहरू आशको तराजुमा आफूलाई जोख्दै तर्क र लोकरिझयाईंको चतुर्‍याइबाट अस्तित्व जोगाइराख्ने उद्यम गर्छन्।

छद्म सदाचार, बौद्धिकता, परोपकार, आध्यात्मिकता, पेशाकारिता आदिको छद्म लेपन नउठ्दासम्म समाजको आँखामा उनीहरू पूज्य हुने नै भए।

अन्तर्यबाट नभएर आवरणबाट छवि निर्माणको नियोजित यत्न नै पाखण्ड हो। पाखण्डीहरू आवरणलाई महत्व दिन्छन्, तर आत्मशुद्धिको झिनो प्रयाससम्म गर्दैनन्। झूट, छल र लोकरिझ्याईं उनीहरूका अस्त्र हुन्।

एउटा बालब्रह्मचारी सन्न्यासीको आश्रम छापा मार्दा सिरानीमुनि भागवतगीता नभएर किन कण्डमका प्याकेट भेटिन्छ? एउटा भिक्षु नेताहरूका घर–घर चहार्छ, सांसद् र मन्त्रीको आकांक्षा राख्दछ। बुद्धवाणीका त्रिपिटक पाइनुपर्ने उनको दराजमा किन बन्दूकका गोली भेटिन्छन्?

पाखण्ड अनेक रूप र अवतारमा फैलिएका छन्। तर उदेक चाहिं त्यस बेला हुन्छ, जब तिनै पाखण्डीहरू समाजका एउटा हिस्साका लागि 'रोल मोडल' बनिरहेका हुन्छन्।

हाम्रै वरिपरि नै त्यस्ता पाखण्डी देख्न सकिन्छ, जो धर्मलाई अफिम भन्छ तर नवरात्रिका बेला कुनै देवीपीठमा बोको घिच्याइरहेको हुन्छ। त्यस्ता 'फेमिनिस्ट' देख्न सकिन्छ, जो कुनै अवला नारीकी सौता बन्न पुग्छे। त्यस्ता बालअधिकारकर्मी देख्न सकिन्छ, जसका घरमा नाबालकहरू जुठ्यानमा भाडा मस्काइरहेका हुन्छन्।

त्यस्ता राष्ट्रवादी देख्न सकिन्छ, जो वर्षैपिच्छे स्कूले विद्यार्थीले परीक्षा दिए जस्तै डीभी चिठ्ठा भरिरहेको हुन्छ। त्यस्ता दानवीर देख्न सकिन्छ, जो कुनै वृद्धाश्रममा पाँच हजार रुपैयाँ दान गरेको अखबारमा विज्ञापन गरिरहेको हुन्छ।

समाजमा पाखण्डीको कुनै कमी छैन, र रहँदैन पनि। तर यदि बेलैमा पाखण्डी पहिचान गर्न सकियो भने चाहिं सम्भावित दुर्घटनाबाट जोगिन सकिन्छ। तर, राष्ट्रले पाखण्डीलाई नचिन्दा चाहिं ठूलै मूल्य चुकाउँदै आएका थुप्रै दृष्टान्त हामीले देख्दै आएका छौं। पाखण्डीबाट बचौं, बचाऔं।

प्रतिकृया दिनुहोस