सुदूरपश्चिममा जात्राको रौनक
बैतडी- नेपालीको दोस्रो ठूलो चाड तिहारसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक शुरु भएको छ।
बैतडी, दार्चुला, डडेल्धुरालगायत जिल्लामा कात्तिक शुक्ल पक्षको शुरुवातसँगै जात्राको रौनक शुरु भएको हो। कात्तिक शुक्ल पूर्णिमासम्म विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्छ।
कात्तिक शुक्ल पक्ष शुरु भएसँगै बैतडीका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिर, बाह्र ज्योतिर्लिंगमध्येको केदारनाथ भनेर चिनिने रौलाकेदार मन्दिर, मेलौली भगवती मन्दिर, सुर्नयास्थित भवानी मन्दिर, शिवनाथ मन्दिर, महारुद्र मन्दिर, पुर्चौडीस्थित त्रिवणीधाम (राताशीला) मन्दिरमा जात्रा लाग्ने गर्छ।
दार्चुलामा मालिकार्जुन धाम, लटिनाथलगायत मन्दिरमा जात्रा लाग्ने गर्छ। डडेल्धुराको उग्रतारा र भागेश्वरलगायत मन्दिरमा कात्तिक शुक्लपक्षमै मेला लाग्ने गर्छ। त्रिपुरासुन्दरी भगवती मन्दिर, रौलाकेदार, शिवनाथ, महारुद्रलगायत मन्दिरमा कात्तिक शुक्ल अष्टमीका दिन मेला लाग्ने गर्छ । मेलौली भगवती, भवानी मन्दिर, उग्रतारालगायत मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन जात्रा लाग्छ।
मालिकार्जुन धाममा कात्तिक शुक्ल चतुर्दर्शीका दिन जात्रा लाग्छ। परापूर्वकालदेखि नै कात्तिक शुक्ल पक्षमा देवीदेवताको पूजाआजा गर्ने चलन रहिआएको संस्कृतिका जानकार घनश्याम लेखक बताउँछन्। शरद ऋतु देवीदेवताको पूजाआजा गर्ने समय भएकाले सुदूरपश्चिमको पहाडी इलाकाका शक्तिपीठहरूमा जात्रा लाग्ने गरेको लेखकको भनाइ छ।
भाइटीकाको दिनदेखि शुरु भई करीब १५ दिनसम्म विभिन्न देवस्थलमा लाग्ने जात्राको ऐतिहासिक एवं धार्मिक महत्वका साथै आफन्त एवं इष्टमित्रसँग भेटघाट गर्ने अवसरका रूपमा लिने गरिन्छ। रासस