रोनाल्डोको पहिलो गोलले युभेन्टसलाई जोगाउन सकेन
आफ्नो नयाँ क्लब युभेन्टसबाट पहिलो युरोपियन गोलको खोजीमा रहेका क्रिष्टियानो रोनाल्डोले बुधबार अबेर राति सम्पन्न खेलमा त्यो लक्ष्य भेट्टाएका छन् ।
इटालियन क्लब युभेन्टसबाट पहिलो युरोपियन गोल गर्ने क्रममा रोनाल्डोले आफ्नो पूर्वक्लब म्यानचेस्टर युनाइटेडको डिफेन्स लाइन तोडे ।
रोनाल्डो यही सिजन मात्र कीर्तिमानी पारिश्रमिकमा रियल मड्रिडबाट युभेन्टसमा आबद्ध भएका थिए । च्याम्पियन्स लिग फुटबलको इतिहासमै अहिलेसम्मका सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले युभेन्टसबाट पहिलो युरोपियन गोल गर्न ६५ औं मिनटसम्म कुर्नुपर्यो । रोनाल्डोकै गोलमा युभेन्टसले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडविरुद्ध दोस्रो हाफमा अग्रता लिन सफल भयो ।
तर, जुवान माटाले ८६ औं मिनटमा गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए । ८९ औं मिनटमा युभेन्टसका एलेक्स सान्द्रोले आत्मघाती गोल गर्नु रोनाल्डो र युभेन्टस दुवैका लागि दुर्भाग्य बन्न पुग्यो । यही आत्मघाती गोलले रोनाल्डोको पहिलो युरोपियन गोल छायाँमा पर्यो । युभेन्टस आफ्नै मैदानमा युनाइटेडसँग २ः१ गोलले पराजित हुन पुग्यो ।
खेलमा युभेन्टसको पूर्ण नियन्त्रण थियो । युभेन्टसले २३ वटा प्रहार गर्दा युनाइटेडले ९ वटा मात्र प्रहार गरेको थियो । बल पोसेसनमा पनि युभेन्टसकै नियन्त्रण थियो । हारका बाबजुद युभेन्टस लिगको समूह चरणको शीर्षस्थानमा कायमै छ ।
बुधबार राति नै सम्पन्न च्याम्पियन्स लिगका अन्य खेलमा रियल मड्रिड, म्यानचेस्टर सिटी, एएस रोमा, योङ ब्वाइज र बायर्न म्युनिखले जित हासिल गरेका छन् ।