समाचारमंगलवार, कार्तिक २०, २०७५

गौदामचौर बलात्कार- निर्धक्क हिँडडुल गर्दै पीडक, पीडित परिवार विस्थापित

कल्पना भट्टराई

 

काठमाडौं- २ मंसिर ०७४ मा ललितपुरको गौदामचौरमा २१ वर्षीया युवती सामूहिक बलात्कारमा परिन्। त्यसमा संलग्न ३ अभियुक्तको पक्राउ पनि नपरेका होइनन्। अदालतको आदेशबाट साधारण तारेखमा रिहा भएका अभियुक्तहरू अझै ‘फरार’छन्।

टाउकोमा ढुंगा प्रहार गरी अचेत बनाएर उनको सामूहिक बलात्कार गरिएको थियो। पीडितका श्रीमान विकास भन्छन्, “आरोपीहरू निर्धक्क हिँडिरहेका छन्, हामी भने विस्थापित हुनुपरेको छ।”

उनीहरू थालथलोबाट विस्थापित भई परिचय लुकाएर बस्दै आएका छन्। दशैंमा पनि घर जान सकेनन्। “यो एक वर्ष कसरी बित्यो भन्ने हामीलाई मात्रै थाहा छ,” उनी भन्छन्, “त्यही घटनाका कारण आमाबुवा पनि नयाँ ठाउँमा बसाईं सर्ने तयारीमा हुनुहुन्छ।”

पीडित युवतीको उपचारमा हालसम्म रु १० लाखभन्दा बढी खर्च भइसकेको छ। चिकित्सकले तीन महिनाभित्र सञ्चो नभए हातको शल्यक्रिया गर्नुपर्छ भनेका छन्।

उनका अनुसार उपचार गर्दा धेरै ऋण लागेको छ। औषधोपचार र पीडितलाई न्याय दिलाउनका लागि विभिन्न सरकारी-गैरसरकारी संघसंस्थाले सहयोग गर्ने आश्वासन दिएका थिए। तर, हालसम्म कसैले सहयोग नगरेको उनको गुनासो छ।

“काम गरेर खाने उनको हात अपराधीले सात ठाउँमा भाँचिदिए,” उनी भन्छन्, “यस्तो अवस्थाकी श्रीमतीलाई छोडेर काम गर्न जान सक्ने अवस्थामा पनि छैन।”

घटना अघिसम्म दुवै जागिर गर्थे। घरखर्च राम्ररी चलेको थियो। न्यायका लागि राज्यका विभिन्न निकायमा धाए। तर, प्रहरी र सरकारी वकिल कार्यालयबाट पनि अभियुक्तहरूलाई पक्राउ गरेर न्याय पाउन नसकेपछि अब धाउन छाडेका छन्।

घटनालगत्तै पक्राउ परेका अभियुक्तहरू अदालतको आदेशमा रिहा भएका थिए। न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले साधारण तारेखमा छोड्न आदेश दिएको थियो।

“उनीहरूलाई रिहा गर्ने आदेशमा बलात्कारको प्रसंगै उल्लेख छैन रे,” उनी भन्छन्, “मेरी श्रीमती अब न्याय खोज्न कहाँ जाने ? उहाँहरूको आफन्तमाथि यस्तो घटना भएको भए के गर्नुहुन्थ्यो होला। न्यायालय जिउँदै छ कि मरिसक्यो?”

युवतीको दाहिने हात ठाउँ-ठाउँमा टुक्रिएको छ भने टाउकोमा गहिरो चोट लागेको छ। उनको टाउकोमा ३० भन्दा बढी टाँका लगाइएको छ।

अभियुक्त अझै फरार

उनीमाथि जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योगमा किटानी जाहेरीका आधारमा गोदामचौरका रघु सिलवाल (३२), विशालध्वज कार्की (२०) र पवन कुँवर (२०) पक्राउ परेका थिए। जिल्ला अदालत ललितपुरले २६ पुसमा ‘किटानीमा दह्रो प्रमाण नभएको’ भन्दै उनीहरूलाई थुनामुक्त गरिदिएको थियो।

साधारण तारेखमा छाड्ने जिल्ला अदालतको फैसला बदर गर्दै २५ माघमा उच्च अदालत पाटनले ‘प्राप्त प्रारम्भिक प्रमाणका आधारमा आरोपीलाई पुर्पक्षका लागि तत्काल थुनामा राख्ने’ आदेश दिएको थियो। अदालती आदेशको एक सातापछि मात्रै प्रहरीले उनीहरू ‘फरार’ रहेको थाहा पायो।

उनीहरू अहिलेसम्म पक्राउ पर्न नसकेको जिल्ला सहन्यायाधिवक्ता रमेश भट्टराईले बताए। महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रका अनुसार उनीहरूको खोजतलास जारी छ।

उनीहरूले पुरानो मोबाइल नम्बर फालेकाले पनि ‘लोकसन’ पत्ता लगाउन नसकिएको उनको भनाइ छ। “घर र आफन्तकोमा पनि खोज्यौं तर फेला पार्न सकेका छैनौं,” डीएसपी मिश्र भन्छन्, “भेटिनासाथ पक्राउ गर्छौं।”

महिला अधिकारकर्मी तथा अधिवक्ता पुण्यशीला दवाडीका अनुसार पीडित युवतीको शरीरमा पाइएको विर्य, रौं र रगतसहितका १६ वटा ‘यथेष्ट प्रमाण’को विधिविज्ञान प्रयोगशाला परीक्षण प्रतिवेदन नआइकन जिल्ला अदालतले अभियुक्तलाई रिहा गर्न दिएको थियो। अदालतको आदेश नै ‘सन्देहास्पद’ रहेको उनी बताउँछिन्। उनी भन्छिन्, “मुद्दालाई कमजोर बनाउने प्रयास थियो।”

हातखुट्टा भाँचिएको र टाउकोसमेत फुटेको अवस्थामा ३ मंसिर ०७४ बिहान तोरीबारीमा भेटिएकी थिइन्, पीडित युवती। सातादिनपछि मात्रै अस्पतालमा होस आएको थियो । होस फिरेपछि लिइएको बयान र किटानी जाहेरीका आधारमा आरोपी पक्राउ परेका थिए।

पीडितको पक्षमा पैरवी गर्दै आएका स्वतन्त्र कानून व्यवसायीले ‘न्यायिक फैसलालाई कदर गर्ने र पीडितलाई न्याय दिलाउने कुरामा प्रहरी-प्रशासनको सहयोग शून्य रहेकाले अभियुक्त फरार भएको’ प्रतिक्रिया दिएका थिए। उच्च अदालतमा पीडित जाहेरीवालाका तर्फबाट अधिवक्ता स्वागत नेपाल र टीपी शर्मा कँडेलले बहस गरेका थिए।

२ मंसिर ०७४ मा ललितपुर औद्योगिक क्षेत्रबाट साँझ ७ बजे घर फर्कने क्रममा उनीमाथि निर्घात कुटपिट गर्दै सामूहिक बलात्कार गरिएको थियो।

उनलाई भोलिपल्ट मात्रै आफन्तले गोदावरी खोलानजिकै तोरीबारीमा फेला पारेका थिए। उनी अर्धनग्न अवस्थामा थिइन् भने टाउको, हात, खुट्टा र तिघ्रामा गहिरो चोट लागेको थियो।

घटनापछि परिवारले जिल्ला प्रहरी कार्यालय ललितपुरमा किटानी जाहेरी दिएका थिए। सोही आधारमा अभियुक्तहरू पक्राउ पनि परेका थिए।

प्रतिकृया दिनुहोस