२० कात्तिकदेखि अनलाइनबाट शेयर कारोबार
काठमाडौं- शेयर बजारमा बहु प्रतिक्षित अनलाइन ट्रेडिङ सफ्टवेयर मंगलबारदेखि सञ्चालन आउँदैछ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सफ्वेयर परीक्षणपछि सञ्चालनका लागि तयार भएको जनाएको छ। अर्थमन्त्री युवराज खतिवडाले २० कात्तिक बिहान सफ्टवेयर उद्घाटन गरेपछि लगानीकर्ताले घरबाटै शेयर कारोबार गर्न पाउनेछन्।
अनलाइन कारोबार गर्न आवश्यक सबै पुर्वाधार तयार भएको नेप्सेका आईटी प्रमुख निरञ्जय नायकले जानकारी दिए। “सबै तयारी पूरा भइसकेको छ। मंगलबार बिहान मन्त्रीज्यूले सफ्टवेयर उद्घाटन गरेपछि बजारमा अत्याधुनिक प्रविधिबाट सेयर कारोबार हुन्छ,” नायकले हिमालखबरसँग भने।
उनका अनुसार अहिले प्रयोगमा रहेको सफ्टवेयरबाट सोमबार अन्तिम कारोबार हुनेछ। अनलाइन माध्यमबाट घरै बसेर शेयर कारोबार गर्न ब्रोकर कार्यालयमा खाता खोली युजर नेम र पासवर्ड लिनुपर्नेछ। अनलाइन कारोबारका लागि खाता खोल्न डिम्याट खाता आवश्यक हुन्छ।
यस्तै, शेयर खरिद गर्न खातामा कारोबार लिमिट पनि चाहिन्छ। नायकका अनुसार ब्रोकर कार्यालयले अग्रिम रकम लिएर सोहीअनुसारको कारोबार लिमिट दिइन्छ।
जस्तो रु. १ लाखको शेयर खरिद गर्न १ लाखबराबरको कारोबार लिमिट आवश्यक पर्छ। त्यसका लागि कम्तीमा ३० प्रतिशत अग्रिम रकम ब्रोकर कार्यालयमा जम्मा गर्नुपर्नेछ। शेयर खरिद गरेको तेस्रो दिनभित्र लगानीकर्ताले पूरा रकम ब्रोकर कार्यालयमा बुझाउनुपर्नेछ।
लगानीकर्ताले आफ्नो कारोबारका आधारका अग्रिम रकम बुझाएर ब्रोकर कार्यालयबाट कारोबार लिमिट थप गर्न सक्नेछन्। यस्तै, शेयर बिक्री गर्न पनि डिम्याट खातामा शेयर हुनुपर्नेछ।
ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष प्रियराज रेग्मीले ब्रोकर कार्यालयका कर्मचारीसँगै व्यवसायीले नयाँ सफ्टवेयर सिक्दै काराेबारमा अभ्यस्थ हुन केही समय लाग्ने बताए। लगानीकर्तालार्इ आफैं कारोबार गर्न दिन केही समय लाग्ने उनको भनाइ छ।
पढ्नूस्
शेयर बजारमा अनलाइन ट्रेडिङको अलमल