कला/साहित्यसोमवार, कार्तिक १९, २०७५

अपमानित हुँदा आनन्द मान्छन् मनोज वाजपेयी

हिमालखबर

मनोज वाजपेयी बलिउडका अब्बल अभिनेतामा गनिन्छन्। दमदार अभिनयबाट दर्शकको मन जितिरहेका उनी कुनै समय असफलताका कारण आत्महत्या गर्ने सोचमा पुगेका थिए भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ। राष्ट्रिय नाट्य विद्यालयमा भर्ना नलिँदा उनले त्यस्तो सोच बनाएका थिए।

वाजपेयीको भनाइमा उनले त्यही समयदेखि 'नाइँ' वा 'हुँदैन' शब्द सुन्दा उदास नहुने मनोभाव बनाए, बरु त्यस्तो अपमानलाई हेर्ने दृष्टिकोण बदल्दै उनले त्यसबाट आनन्द लिन थाले। उनका अनुसार शुरुआती समयमा उनले जति पटक 'नाइँ' सुने, त्यसले उनलाई व्यावहारिक बनायो र कडा मिहिनेत गर्न प्रेरणा दियो।

४९ वर्षीय वाजपेयी भन्छन्, "मैले के महशुस गरें भने, अस्वीकार सुन्नु केही पनि होइन, बरु त्यसले अझ कडा मिहिनेत गर्न जरुरी छ भन्ने संकेत गर्छ। अस्वीकार सुन्नु नकारात्मक कुरा नभई यसले तपाईंको क्षमतालाई यथार्थवादी र व्यावहारिक रूपबाट हेर्न योग्य बनाउँछ। मैले मानिसहरूबाट सुन्ने अस्वीकार र 'नाइँ' सुनेर हुने बेइज्जतीबाट नै आनन्द उठाउन थालें।"

यसबाट आफूलाई अर्को पटक सम्भावनाको ढोका ढकढक्याउन दोब्बर तागत मिल्ने गरेको उनको अनुभव छ।

उनी भन्छन्, "तपाईंले कुनै पनि चीजलाई कसरी हेर्नुहुन्छ भन्ने कुरामा निर्भर गर्छ। अस्वीकार हुँदा तपाईंलाई दु:ख लाग्दैन, उदासी महशुस हुँदैन भनेर म भन्दिनँ। तर, के कुराले महत्त्व राख्छ भने त्यसबाट तपाईं कति राम्रो तरिकाले बाहिर निस्कनुहुन्छ।"

वाजपेयी ती समर्पित दर्शकलाई आफ्नो भरोसा मान्छन्, जो उनको फिल्मको सम्मान गर्छन् र त्यसलाई बुझ्छन्। उनी भन्छन्, "मेरो काम रुचाउने दर्शक नै मेरो प्रेरणाको स्रोत हुन्। मलाई थाहा छ, यदि मेरो फिल्म सिनेमाघरमा लाग्यो भने, त्यहाँ मेरा दर्शकको कमी हुँदैन। मैले कमाएका यी खास दर्शकलाई गुमाउँला भन्ने मलाई डर लाग्दैन। मेरो उद्देश्य त दर्शकको संख्या थप बढाउनु हो।"

उनलाई लाग्छ, भविष्य आजभन्दा खराब हुन सक्दैन। यो त झन् राम्रो अवस्थामा उक्लिँदै जाने खुड्किलो हो। वाजपेयीको यस वर्ष 'ऐयारी', 'बाघी २', 'मिसिङ', 'सत्यमेव जयते', 'गली गुलियाँ' र 'लभ सोनिया' फिल्म प्रदर्शनमा आएका थिए। एजेन्सी

प्रतिकृया दिनुहोस