माथिल्लो तामाकोशीको शेयर बाँडफाँट
जिरी- आयोजना प्रभावित दोलखाका बासिन्दाका लागि साधारण शेयर (आर्इपीओ) बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बुधबार शेयर बाँडफाँट गर्दैछ। कम्पनीले गत १६ साउनदेखि बिक्री खुला गरेको थियो।
आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरी तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजार आवेदन परेका थिए। आयोजना प्रभावित क्षेत्रका आधारमा बाँडफाँट हुने शेयरमा 'क' वर्गको क्षेत्रका आवेदनकर्ताले कम्तिमा १०२, 'ख'ले ४८ कित्ता र 'ग'ले न्यूनतम ३४ कित्ता पाउने सम्भावना रहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए। आवेदकको बाँकी रकम पाँच दिनभित्र आवेदन भरेको खातामार्फत् नै फिर्ता हुने उने बताए।
आयोजनाले १४ साउनदेखि १६ भदौसम्म दोलखावासीका लागि शेयर निश्काशन गरेको थियो। पहिलो चरणमा पनि शेयर आवेदनकर्ताको भीड नघटेपछि थप पाँच दिन समय थपिएको थियो। शेयर आवेदन दिएकामध्ये १० जनाले दुई स्थानबाट आवेदन दिएको पाइएको र उनीहरूको आवेदन रद्द हुने प्रवक्ता न्यौपानेले बताए।
कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सर्वसाधारणलाई बिक्री गरिने दुई करोड ६४ लाख ७५ हजार कित्तामध्ये एक करोड पाँच लाख ९० हजार कित्ता स्थानीय बासिन्दालाई बिक्री गरिएको थियो। रासस