टिप्पणीबुधवार, कार्तिक १४, २०७५

१८औं एसियाडबाट के सिक्ने ?

हिमालखबर

१३औं साग आयोजनाको चुनौती रहेका बेला नेपालले एसियाडमा इन्डोनेशियाले पाएको सफलताबाट धेरै सिक्न सक्छ ।

नेपाली खेलकुद क्षेत्रमा यतिबेला १३औं दक्षिण एशियाली खेलकुद (साग) को आयोजना चर्चाको विषय बनेको छ । आफूले कबुल गरेको समय–सीमाभित्र नेपालले साग आयोजना गर्न नसकेपछि सहभागी अन्य ६ राष्ट्रको खेलकुद क्षेत्रलाई समेत यसले तरंगित पारेको छ । आगामी संस्करणदेखि अफगानिस्तानले सार्कबाट बाहिरिने निर्णय लिएकाले सागमा ७ राष्ट्र मात्र सहभागी छन् ।

एकातिर दक्षिण एशियाली ओलम्पिक परिषद्ले १३औं साग आयोजनाबारे नेपालसामु प्रश्न तेर्साउँदै आएको छ, अर्कोतिर नेपालले नसके आफू साग आयोजनाका लागि तयार रहेको दाबी श्रीलंकाले गरेको छ । एकपटक साग आयोजनाको समय सारिसकेको नेपालले दोस्रो पटक पनि समय सार्नुको विकल्प देखिंदैन । दक्षिणएशियाकै सबैभन्दा बृहत् खेलकुद प्रतियोगिता भएकाले यो आयोजना देशको प्रतिष्ठासँग पनि जोडिएको छ ।

इन्डोनेशियाको जकार्ता र पालेम्बाङमा (१८ अगस्ट–२ सेप्टेम्बर) सम्पन्न १८औं एशियाली खेलकुद (एसियाड) का क्रममा बसेको दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले समेत १३औं साग आयोजनाबारे नेपालको स्पष्ट धारणा माग गरेको थियो ।

एसियाडमा ९३५ खेलाडी सहभागी गराएको इन्डोनेशियाले ३१ स्वर्ण, २४ रजत र ४३ कांस्यसहित कुल ९८ पदक जित्दै चौथो स्थानमा रह्यो । इन्डोनेशियाले एशियाली खेलकुदको इतिहासमा हालसम्म जितको यो नै सबैभन्दा बढी पदक हो । १३औं साग आयोजनाको चुनौती रहेका बेला नेपालले इन्डोनेशियाको सफलताबाट केही पाठ सिक्नुपर्ने देखिन्छ ।

सरकारको लगानी, नागरिकको साथ
१८औं एसियाडको साक्षी बन्ने अवसर यो पंक्तिकारलाई जुरेको थियो । चारैतिरबाट समुद्रले घेरिएको थुप्रै टापुको देश इन्डोनेशिया एसियाड शुरु हुनु ठीकअघि विनाशकारी भूकम्पको चपेटामा पर्‍यो । यस्तो प्रतिकूल अवस्थामा पनि इन्डोनेशियाले एसियाडलाई भव्यतापूर्वक सम्पन्न गर्न सक्यो । एसियाड अवधिभर (१६ दिन) इन्डोनेशियाका दुई प्रमुख शहर जकार्ता र पालेम्बाङ पूर्ण रूपमा खेलकुदमय बन्न पुगे ।

इन्डोनेशियामा भएको १३ औं एसियाडमा प्याराग्लाइडिङमा नेपालले दोस्रो स्थान हासिल गरेपछि ।

खेलकुदको भौतिक पूर्वाधारमा इन्डोनेशिया सरकारले गरेको लगानी निकै लोभलाग्दो छ । खेलहरू भएका हरेक भेन्यू (खेल स्थल) भव्य, सुविधासम्पन्न र प्रविधिमैत्री छन् । मध्य जकार्तास्थित गेलोरो बुङ कार्नो खेल परिसरभित्र करीब ८० हजार दर्शक क्षमताको तीनतले मूल रंगशाला छ । १८औं एसियाडको उद्घाटन र समापन समारोहसँगै एथलेटिक्सका स्पर्धाहरू यही रंगशालामा भएका थिए ।

परिसरभित्रै पौडी र वाटर पोलोका लागि भव्य पूर्वाधार निर्माण गरिएको छ । एउटै स्वीमिङ कम्प्लेक्सभित्र ६ वटा स्वीमिङ पुल छन् । हकी खेलका लागि बेग्लै विशाल रंगशाला तयार पारिएको छ भने ब्याडमिन्टनका लागि सुविधासम्पन्न कभर्डहल निर्माण गरिएको छ । साना/ठूला हरेकखाले प्रतियोगिताका लागि एउटै जीर्ण दशरथ रंगशालामा भर पर्नुपर्ने हाम्रा लागि इन्डोनेशियाली खेलकुद क्षेत्रमा देखिएको लगानी अनुकरणीय हो ।

गाडीको यात्रामा जकार्तादेखि आधा घण्टाको दूरीमा रहेको जीएक्सपो खेल परिसर, जी बुलुङगन भलिबल स्टेडियम र दुई घण्टाको दूरीमा रहेको पश्चिम जाभास्थित गुनुङ मस पुन्काक (प्याराग्लाइडिङको भेन्यू) को भव्यता पनि उत्तिकै चित्ताकर्षक छ । खासगरी साहसिक खेलकुदलाई ध्यानमा राखी इन्डोनेशिया सरकारले पालेम्बाङमा पनि पर्याप्त पूर्वाधार निर्माण गरेको छ ।

प्रतियोगितालाई सफल बनाउन अहोरात्र खटिएका हजारौं स्वयंसेवक, मैदानमा खेलाडीको तँछाडमछाड, प्यारापिटमा समर्थकको भीडसँगै आयोजना सफल पार्न निजी क्षेत्रले समेत उत्तिकै जोडतोडका साथ सहयोग गरेको देखियो । एशियाका ४५ राष्ट्रका १६ हजारभन्दा बढी सहभागी खेलाडी, प्रशिक्षक, निर्णायक, खेल पदाधिकारी र सञ्चारकर्मीलाई प्रतियोगिता अवधिभर सुरक्षा र सुविधा दिनु चानचुने कुरा थिएन ।

विमानस्थलदेखि करीब ४५ मिनेटको दूरीमा रहेको मुख्य जकार्ता शहर पुगुन्जेलसम्म कुनै यस्तो घर भेटिएन, जहाँ एसियाडका ब्यानर र इन्डोनेशियाको राष्ट्रिय झण्डा नराखिएको होस् । जकार्ता र पालेम्बाङमा प्रतियोगिता अवधिभर प्रत्येक खेल स्थलमा टिकटका लागि दर्शकको घुइँचो देखिन्थ्यो । एक करोडभन्दा बढी जनसंख्या धानिरहेको जकार्ता शहर १६ दिनसम्म पूरै खेलमय बन्यो ।
 
खेलमा नेतृत्वको रुचि
१८औं एसियाड मार्फत नै इन्डोनेशिया सरकारले खासै चर्चामा नरहेको आफ्नो शहर पालेम्बाङलाई पनि चर्चित बनायो । यसअघि नै चर्चित बनेको बाली शहरमा एसियाडका कुनै पनि खेल नराखी पालेम्बाङमा खेल आयोजना गर्नुको पछाडि नयाँ शहरलाई पर्यटक प्रवद्र्धन हेतु चर्चामा ल्याउनु नै प्रमुख कारण देखिन्छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी इन्डोनेशियाका राष्ट्रपति जोको विडोडोले प्रत्यक्ष रेखदेखमा गराएका थिए । उद्घाटन समारोहमा अविश्वासिलो तरिकाले मोटरसाइकलको स्टन्ट गर्दै रंगशाला प्रवेश गरेका राष्ट्रपति विडोडो प्रतियोगिता अवधिभर कुनै न कुनै खेल हेर्न खेलस्थल पुगिरहे । उनले आफ्ना खेलाडीको मनोबल बढाए भने विजेतालाई पुरस्कार बाँड्न र हार्ने खेलाडीलाई सान्त्वना दिन पनि भ्याए ।

कार्य व्यस्तताका कारण समापन समारोहमा उपस्थित हुन नभ्याएका राष्ट्रपति विडोडोले भिडियो सन्देश मार्फत प्रतियोगिताको सफलताका लागि सबैलाई धन्यवाद दिन छुटाएनन् ।

आफ्ना खेलाडीले पदक जितेपछि राष्ट्रपति विडोडो र राष्ट्रपतीय निर्वाचनमा उनीसँग पराजित प्रबोओ सुबिएन्टोले एउटै मञ्चमा बसेर पुरस्कार वितरण गरेको समाचारले स्थानीय सञ्चारमाध्यममा निकै चर्चा पायो । आगामी राष्ट्रपतीय निर्वाचनमा पनि विडोडो र उनका तिनै प्रतिद्वन्द्वीबीच पुनः भिडन्त हुँदैछ । खेलकुदको मञ्चमा भने उनीहरू दुवैले आफ्नो राजनीतिक स्वार्थ त्यागेर एकअर्कालाई अँगालो हाले ।

एशियाली खेलकुदको सफल आयोजनाबाट हौसिएको इन्डोनेशिया सरकारले राष्ट्रपति विडोडोकै सक्रियतामा सन् २०३२ को ओलम्पिक आयोजनाका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसमक्ष दाबी प्रस्तुत गरिसकेको छ ।

नेपाल दक्षिणएशियामै दोस्रो
प्रतियोगितामा सहभागी ४५ राष्ट्रमध्ये ३६ राष्ट्रले कुनै न कुनै पदक हात पारे । ८४४ खेलाडी सहभागी गराएको चीन १३२ स्वर्ण, ९२ रजत र ६५ कांस्यसहित कुल २८९ पदक जित्दै पहिलो भयो । ७६१ खेलाडी सहभागी गराएको जापान ७५ स्वर्ण, ५६ रजत र ७४ कांस्यसहित २०५ पदक जित्दै दोस्रो स्थानमा रह्यो । ७७५ खेलाडीलाई प्रतिस्पर्धामा उतारेको दक्षिण कोरिया ४९ स्वर्ण, ५८ रजत र ७० कांस्यसहित १७७ पदक हात पार्दै तेस्रो भयो भने पाँचौं हुने उज्वेकिस्तानले २१ स्वर्ण, २४ रजत र २५ कांस्य गरी कुल ७० पदक जित्यो ।

प्रारम्भमा पदकको आशा गरिएका हरेक खेलमा लगातार असफलता हात पारेको नेपाली टोलीलाई प्रतियोगिताको अन्त्यतिर प्याराग्लाइडिङले दिलाएको एउटै रजत पदकले ठूलो राहत दियो ।

विभिन्न २९ खेलमा १८७ खेलाडी सहभागी गराएको नेपाल समग्रमा पदक तालिकाको ३३औं स्थानमा रहे पनि दक्षिण एशियाली राष्ट्रहरूमध्ये दोस्रो स्थानमा आयो ।

एशियाली खेलकुदमा २० वर्षपछि रजत पदक जितेकाले पनि १८औं एसियाड नेपालका लागि विशेष बन्न पुग्यो । यसअघि सन् १९९८ मा थाइल्यान्डको बैंकक्मा सम्पन्न एशियाली खेलकुदमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले पहिलो पटक रजत पदक जितेकी थिइन् । त्यसयता नेपालले एसियाडमा निरन्तर सहभागिता जनाए पनि कांस्य पदकभन्दा माथि उक्लन सकेको थिएन ।

त्यस्तै, ६१५ खेलाडी सहभागी गराए पनि पदक तालिकाको आठौं स्थानमा रहेको भारतले १५ स्वर्ण, २४ रजत र ३० कांस्य गरी ६९ पदक हात पा¥यो । प्रतियोगितामा सहभागिता जनाउने नौ वटा राष्ट्र भने पदकविहीन बन्न पुगे । दक्षिण एशियाली खेलकुदमा बढी पदक जित्ने पाकिस्तान र अफगानिस्तान एसियाड पदक तालिकामा भने नेपालभन्दा पछाडि परे ।

पाकिस्तानले चार र अफगानिस्तानले दुई कांस्य मात्र जित्न सके । १२औं सागमा नेपालभन्दा अगाडि देखिएका श्रीलंका र बाङ्लादेशले यसपालि एउटा पनि पदक जित्न सकेनन् ।

नेपाललाई थपिएको चुनौती
प्याराग्लाइडिङ नयाँ खेल होइन, तर नेपालका लागि यो खेल प्रचुर सम्भावना बोकेको खेलका रुपमा उदाउन पुगेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेका नेपाली प्याराग्लाइडिङ खेलाडी अत्यन्तै झिनो अन्तरले मात्र स्वर्ण पदकबाट चुकेका थिए ।

घरेलु प्रतियोगिताहरूमा नेपाली खेलाडीले देखाएको प्रदर्शनबाट प्रभावित भएरै राष्ट्रिय खेलकुद परिषद्ले प्याराग्लाइडिङमा पहिलो पटक आफ्ना खेलाडी सहभागी गराउने चुनौतीपूर्ण निर्णय लिएको थियो ।

यो खेलमा नेपाली खेलाडी पदकबाट चुकेको भए पक्कै पनि अनावश्यक खेलमा खेलाडी पठाएको अर्को आलोचना परिषद्ले खेप्नुपर्ने थियो । तर, खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आगामी दिनमा प्याराग्लाइडिङ खेलको सम्भावनालाई उजागर गरे । प्याराग्लाइडिङ खेलाडीलाई एसियाड शुरु हुनु केहीअघि प्रशिक्षणका लागि इन्डोनेशिया पठाएर पनि परिषद्ले गतिलो निर्णय लिएको देखियो ।

एसियाडमा रजत पदक हात पारेको साखलाई जोगाएर अघि बढ्ने चुनौती पनि नेपाली खेल क्षेत्रमा थपिएको छ । आगामी दिनमा अन्य राष्ट्रले पनि यो खेलमा आफ्नो ध्यान केन्द्रित गर्नेछन् । यस्तो स्थितिमा हामीसँग स्तरीय नतिजाका लागि अझ बढी परिश्रम र प्रशिक्षण गर्नुको विकल्प छैन ।

इन्डोनेशियाबाट के सिक्ने ?
इन्डोनेशियामा अधिकांश खेल संघलाई त्यहाँका राजनीतिक दलका उच्च तहका नेताहरूले नै सफल नेतृत्व प्रदान गर्दै आएका छन् । राजनीतिक मैदानमा एकअर्काको प्रतिस्पर्धी भए पनि खेल क्षेत्रको विकासमा भने सरकार र अन्य राजनीतिक दल आपसमा हातेमालो गरेर अगाडि बढेको देखियो, हरेक क्षेत्रमा राजनीतिक खिचातानी भोगिरहेका हामीलाई यो एउटा पाठ हुन सक्छ ।

ओलम्पिक, एसियाड र साग जस्ता ठूला प्रतियोगिताबाट सहभागी राष्ट्रका खेलाडी, खेल पदाधिकारी र सरकारी प्रतिनिधिले अनुभव आर्जन गर्न सक्छन् । १८औं एसियाडबाट खेल संस्कृतिको विकास, पूर्वाधार निर्माण र ठूला प्रतियोगिताहरूको आयोजनाका लागि सरकार र निजी क्षेत्रको हातेमालोबारे नेपालले सिक्ने अवसर पाएको छ ।

ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै राष्ट्रका खेल पदाधिकारी र अन्तर्राष्ट्रिय खेल संघका प्रतिनिधिको समेत जमघट हुने हुँदा हाम्रो जस्तो देशका लागि यस्ता मञ्चहरू निकै फलदायी बन्न सक्छन् । यस्ता प्रतियोगितामा खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने, शक्तिशाली राष्ट्रहरूबाट सहयोग वा सहुलियतमा विदेशी प्रशिक्षक झिकाउने, खेल पूर्वाधार निर्माणमा सहयोगको वातावरण तयार पार्ने जस्ता महत्वपूर्ण विषयमा द्विपक्षीय छलफल हुन्छन् ।

विकसित राष्ट्रहरूले खेलकुदलाई हेर्ने दृष्टिकोण, खेलकुदमा गरिएको लगानी, भौतिक पूर्वाधारको अवस्था, विश्व खेलकुदमा भित्रिएका नवीनतम प्रविधि, ठूला प्रतियोगिताहरू आयोजना गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रियाबारे नेपालले सिकेर व्यवहारमा उतार्न आवश्यक छ ।

प्रतिकृया दिनुहोस