प्रिमियर लिग : च्याम्पियन सिटी शीर्षस्थानमा उक्लियो
डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फूटबलको अंक तालीकामा शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार बिहान सम्पन्न खेलमा टोटनहम हटस्पर्सलाई १–० गोलले पराजित गर्दै सिटीले शीर्ष स्थानमा पुनरागमन गरेको हो ।
सिटीले लिगका शुरुवाती १० खेलबाट २६ अंक जोडेको छ । १० खेलबाट समान २६ अंक जोडेको लिभरपुल गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ भने २४ अंकसहित चेल्सी तेस्रो स्थानमा छ । सिटी, लिभरपुल र चेल्सी जारी सिजनका १० खेलसम्म अपराजित छन् ।
टोटनहमको अन्तरिम घरेलु मैदान वेम्बलीमा भएको खेलमा सिटीले रियाज माहरेजको गोलमा छैठौं मिनेटमै अग्रता लिएको थियो । पुरै खेल अवधिभर टोटनहमको पोस्टमा ६ वटा ‘अन टार्गेट’ प्रहार गरेको सिटीले दोस्रो गोल भने थप्न सकेन ।
पहिलो हाफमा सिटीसामु केही कमजोर दिएको टोटनहमले दोस्रो हाफमा भने सुधारिएको प्रदर्शन गरेको थियो । दोस्रो हाफमा टोटनहमले बराबरी गर्ने सुनौलो अवसर खेर फालेको थियो ।
सब्स्टिच्युट खेलाडीका रुपमा मैदान प्रवेश गरेका डेली अलीले मिलाइदिएको सुन्दर पासलाई एरिक लामेलाले पोस्टको दिशा दिन नसक्नु टोटनहमको हारका प्रमुख कारण बन्यो ।
यसअघि आइतबार राति सम्पन्न खेलमा चेल्सीले बर्नलीमाथि ४–० को जित निकालेको थियो । स्टार खेलाडी एडिन हाजार्डबिना नै खेलेको चेल्सीका तर्फबाट अल्भारो मोराटा, रोस बार्कले, विलियन र लफ्टस चिकले गोल गरेका थिए ।
आर्सनल र क्रिस्टल प्यालेसबीचको खेल २–२ को बराबरीमा रोकियो भने म्यानचेस्टर युनाइटेडले एभर्टनमाथि २–१ को जित निकाल्यो । शनिबारको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई ४–१ गोलले पराजित गरेको थियो ।