कला/साहित्यआइतवार, कार्तिक ११, २०७५

आयुष्मान खुरानाको सर्वाधिक हिट फिल्म बन्यो 'बधाई हो'

हिमालखबर

आयुष्मान खुराना र सान्या मल्होत्रा अभिनीत फिल्म 'बधाई हो' ले दर्शकबाट पाइरहेको साथ यसको निरन्तर कमाइले  देखाइरहेको छ। अक्टोबर १८ मा रिलिज भएको फिल्मले अहिलेसम्म ७६ करोड भारु कमाइसकेको छ। दोस्रो सातामा पनि बक्स-अफिस उत्साहजनक देखिएको छ।

बलिउडका व्यापार विश्लेषक तरण आदर्शको ट्विट अनुसार, दोस्रो सप्ताहन्तको शुरुवाती दुई दिन अर्थात् शुक्रबार र शनिबार गरी 'बधाई हो' ले ९ करोड ९० लाख कमाएको छ। फिल्मको कमाइ बारे लगाइएको अनुमानलाई गलत साबित गर्दै कम बजेटमा बनेको यो फिल्मले राम्रो व्यापार गरेको उनले बताएका छन्। करीब २० करोडमा निर्माण भएको फिल्मले ७६ करोड बटुलिसकेको छ र कमाउने क्रम जारी रहँदा एक सय करोड क्लबमा प्रवेश गर्ने सम्भावना देखाएको छ।

'बधाई हो' अभिनेता आयुष्मान खुरानाको करिअरमा सबैभन्दा बढी कमाउने फिल्म बनेको छ। यसअघि ५ अक्टोबरमा  रिलीज भएको उनको फिल्म 'अन्धाधुन' ले भारतीय बक्स-अफिसमा ६१ करोड १५ लाख मात्र कमाउन सकेको थियो।

'बधाई हो' भारतका २००० स्क्रिनमा रिलिज भएको थियो। अमित शर्माले निर्देशन गरेको यस फिल्ममा आयुष्मान र सान्याका साथै गजराज राव, नीना गुप्ता, सुरेखा सीकरी मुख्य भूमिकामा छन्। - एजेन्सी

 

प्रतिकृया दिनुहोस