ब्लगशनिवार, कार्तिक १०, २०७५

जनमतसंग्रहले कोरेको रेखा

भैरव रिसाल

गिरीको स्पष्ट भनाइ थियो– हिजोसम्म ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली’, जनमतसंग्रहपछि भने करीब २४ लाख नेपाली पञ्च, २० लाख नेपाली अपञ्च ।

जनमतसंग्रहपछि राजनीतिक मुद्दा छिनियो कि शुरू भो !

यी दुई नितान्त फरक अथवा उल्टो ठहर हुन्, पञ्चायत राजनीतिका दुई हस्ती सूर्यबहादुर थापा र डा. तुलसी गिरीका ।

२०१५ सालको प्रथम आमनिर्वाचनपछि १६ असार २०१६ मा बनेको विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको सरकारलाई १ पुस २०१७ मा राजा महेन्द्रले हत्याएसँगै पञ्चायतको बीजारोपण हुन्छ । तर, शुरूमा अब कस्तो राजनीतिले शासन गर्छ भन्नेमा मौनता साधिएको थियो । १३ पुसमा राजाले आफ्नै नेतृत्वमा सरकार गठन गरेर पाँच जनालाई मन्त्री, चार जनालाई सहायक मन्त्री बनाएसँगै स्पष्ट रूपमा शिशु संसदीय प्रजातन्त्रको घाँटी निमोठियो ।

२२ पुस २०१७ मा राजाले ‘एउटा नयाँ शक्तिको मूल फुटाउन, नेपाली माटोमा जरा हाल्न सक्ने यहाँकै हावापानी सुहाउँदो प्रजातन्त्रको बिरुवा फुलाउन/फलाउन सक्ने पञ्चायत पद्धति नै प्रजातन्त्रको जग भएको’ जस्ता प्रजातन्त्रका फुर्का जोडी पञ्चायत पद्धतिको घोषणा गरे ।

निर्दल भने भनेनन् । योसँगै सम्पूर्ण राजनीतिक पार्टी र वर्गीय संगठनहरू प्रतिबन्धित भए । यसरी आएको पञ्चायत पद्धति विरुद्ध शुरू भएको आन्दोलन बेलाबेला चर्कन्थ्यो र मत्थर भएजस्तो देखिन्थ्यो ।

जनमतको नतिजा
पञ्चायत विरुद्धको आन्दोलन चर्केपछि १० जेठ २०३६ मा राजा वीरेन्द्रले सुधार सहितको पञ्चायत र बहुदलीय व्यवस्थामध्ये एउटा रोज्न जनमतसंग्रहको घोषणा गरे । २० वैशाख २०३७ मा भएको जनमतसंग्रहको १ जेठ बिहान नतिजाको घोषणा गरियो । तर, अनेक उपाय र वैध/अवैध हर्कत गरी पञ्चायतलाई जिताइयो, चार लाख २५ हजार ४८ बढी मत पारेर ।

देशभरका ७१ लाख, ९२ हजार ४५ मतदातामध्ये ४८ लाख १३ हजार ४८ (६६.९२ प्रतिशत) मत खस्यो । ७.७३ प्रतिशत (३ लाख, ७२ हजार, ७६९ मत) बदर भयो । ४४ लाख, ४१ हजार ४१७ सदर मतमध्ये पञ्चायतलाई सामयिक सुधार गर्दै जाने पक्षमा २४ लाख, ३३ हजार ४५२ (५४.७९ प्रतिशत) मत खस्यो भने बहुदलीय व्यवस्थाका पक्षमा २० लाख ७ हजार ८६५ (४५.२१ प्र्रतिशत) मत खसेको देखाइयो । जनमतसंग्रहको अगाडि नै ५५ प्रतिशतभन्दा बढी मत प्राप्त गरी पञ्चायतले जित्छ भनी ज्योतिषहरूबाट भविष्यवाणी पनि गराइएको थियो ।

दुई हस्ती दुई दृष्टिकोण
पञ्चायतको विजयपछि नै राजनीतिक फाँटमा बहस शुरू भो– अबको राजनीतिक मुद्दा के ? मुद्दा छिनियो कि शुरू भो ?

पर्दा बाहिर चर्को रूपमा दुई खेलाडी उत्रिए, सूर्यबहादुर र डा. तुलसी गिरी । थापा भन्न लागे, “देशमा अब राजनीतिक मुद्दा छिनियो, जनमतसंग्रहको नतिजाबाट ।”

उता गिरीको भनाइ थियो, “यही जनमतको परिणाम अनुसार राजनीतिक असली मुद्दा बल्ल शुरू भो ।” गिरीको स्पष्ट भनाइ थियो– हिजोसम्म ‘सबै नेपाली पञ्च सबै पञ्च नेपाली’, अब जनमतले स्पष्ट रेखा कोरिदियो, २४ लाखभन्दा केही बढी नेपाली पञ्च ठहरिए भने २० लाख ७ हजार ९६५ नेपाली अपञ्च ।

जनमत नबुझ्दासम्मको स्थिति एउटा थियो, जनमतपछि खाका कोरियो । राजनीतिक मुद्दा छिनियो कि औपचारिक रूपमै प्रारम्भ भो भन्ने आम छलफलको विषय हुन थाल्यो ।

विजयपछि पञ्चायत अन्तर्राष्ट्रिय मञ्चहरूमा कुर्लन भने छाड्यो । किनकि, निर्दलको विपक्षमा ४५ प्रतिशत भन्दा बढी मान्छे उभिएछन् । यो सानो प्रतिशत पक्कै होइन । डा. गिरी र थापाले यो मुद्दा छाडेनन् । हामी पत्रकार वर्गलाई पनि रिपोर्टिङ गर्न सहज हुन थाल्यो, यी दुई हस्तीबारे । त्यति बेला डा. गिरी र थापालाई पञ्चायत राजनीतिको आमा (मदर अफ पञ्चायत) भन्थे ।

सूर्यबहादुर थापा सत्ताबाट फालिए, २०४० सालमा महाअभियोग लागेर । पञ्चायत पद्धतिमा प्रधानमन्त्री भएकामध्ये अरूले जनमतसंग्रहले जन्माएको मुद्दा गम्भीर रूपमा उठाएको जस्तो लागेन । पञ्च प्रधानमन्त्रीमा कीर्तिनिधि विष्ट र मरिचमान सिंह श्रेष्ठ मौन बसे । नगेन्द्रप्रसाद रिजाल यस्ता कुरा कति बुझ्थे वा बुझ्दैनथे, छलफलको विषय हुन सक्छ ।

लोकेन्द्रले प्रश्न बुझेनन्
लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री भएपछि धनकुटा भ्रमणमा जाने भए । राससबाट म पनि उनीसँगै जान पाएँ । एउटा पाँचसिटे हेलिकप्टरमा जाँदा उनलाई सोधें “सूर्यबहादुर थापा जनमतसंग्रहपछि नेपालको राजनीतिक मुद्दा सकियो भन्नुहुन्छ । डा. गिरी भने नेपालमा अब राजनीतिक मुद्दा शुरू भो भन्नुहुन्छ । दुवै पूर्व प्रधानमन्त्री । तर, दृष्टिकोण भने बिल्कुल उल्टो । प्रधानमन्त्रीज्यूको के कस्तो दृष्टिकोण हो ? यो थाहा पाउन पाए रिपोर्टिङ गर्न सहज हुनेथियो !”

तर, लोकेन्द्रजीले मलाई स्पष्ट उत्तर दिएनन् । मैले उनलाई बुझउन सकिनँ वा उनले बुझ्न खोजेनन्, यो पनि स्पष्ट भएन । डा. गिरीले भने झैं जनमतसंग्रहपछि राजनीतिक मुद्दा सकिएन, बरु शुरू भो । २०४२ सालमा पनि ठूलै संघर्ष भो । २०४६ सालमा पञ्चायती व्यवस्था नै पलायन भो । यी घटना हेर्दा लाग्छ, डा. गिरीको राजनीतिक विश्लेषण सही थियो ।

प्रतिकृया दिनुहोस