सम्पादकीयमंगलवार, आश्विन ३०, २०७५

जनअपेक्षासित एकाकार होऊ (सम्पादकीय)

किरण नेपाल

एक वर्षअघिको दशैं र तिहारमा पर्वभन्दा मंसीरमा तय आम चुनावको सरगर्मी थियो । तीन चरणमा भएको स्थानीय तहको निर्वाचन भर्खरै सकिएको, प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सँघारमै आइपुगेकाले दशैंको माहोलमा थपिएको चुनावी रौनकले सिंगो मुलुक तरंगित थियो । राजनीतिक स्थिरता र आर्थिक समृद्धिको चुनावी नाराले आम नेपालीको अपेक्षा समेत ह्वात्तै बढाइदिएको थियो ।

दशैं फेरि आइपुगेको छ । तर, गएको वर्ष झैं यो दशैंसँग उल्लासको राजनीतिक रङ मिसिएको छैन । घरघरमा दशैं भित्रिएको छ, तर मनमा पटक्कै पर्वमय हुनसकेको छैन ।

आमजनमा असन्तुष्टि र निराशाले घर गरेको छ । त्यसको प्रमुख कारण बनेको छ– उही राजनीति । दशैंताका नै जनतालाई स्थिरता र समृद्धिको सपना देखाएको त्यही राजनीतिले एक वर्षमै कटु विपनासँग साक्षात्कार गराएको आभास हुन थालेको छ । यस्तो अवस्था मुलुकको भविष्यका लागि सुखद संकेत पक्कै होइन ।

जनमानसमा किन असन्तुष्टि र निराशा बढेको छ ? यसबारे जान्न तीन तहका सरकार–संसद र राज्य–संयन्त्रहरूका प्रस्तुति, कार्यसम्पादन र व्यवहार हेरे पुग्छ ।

पूरै एक वर्ष बिताइसकेका स्थानीय सरकारहरूको पहिलो वर्षको कार्यकाल नियाल्दा संवैधानिक आधारशिलामा अडिएका शक्तिशाली सरकार होइन, हिजोका स्थानीय निकायभन्दा पनि कमजोर र फितलो बनेको महसूस हुन्छ ।

अधिकांश स्थानीय सरकारहरू जनताको घरदैलोमै सुशासनको अनुभूति दिलाउने भन्दा हिजो सिंहदरबारमा मौलाएका विकृति र विसंगतिलाई विकेन्द्रीकृत गर्नेमै तल्लीन देखिन्छन् । प्रादेशिक सरकारहरू त झनै बिजोग देखिएका छन् । यी सरकारहरू शासनको ९ महीनासम्म अधिकार, स्रोत र साधन नपाएको गुनासोमै रुमल्लिएका छन् ।

गएको वर्ष सम्पन्न तीनै तहका निर्वाचन– सामान्य आवधिक निर्वाचन मात्र थिएनन्, ती त दशक लामो हिंसात्मक विद्रोह र करीब त्यति नै अवधिको राजनीतिक संक्रमणकाललाई औपचारिक रूपमै बिट मार्ने ऐतिहासिक प्रस्थानविन्दु थिए ।

बहुसंख्यकमा निर्वाचनपछि हिंसा र निरन्तरको अस्थिरताबाट अवरुद्ध आर्थिक विकासको बाटो खुल्ने अपेक्षा थियो ।

राजनीतिक स्थिरता र आर्थिक समृद्धिका चुनावी नाराले पनि यस्तो जनअपेक्षा चुलीमा पुर्‍याउन मलजल गरे । निर्वाचित सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नाराले झनै तरंग थपिदियो । तर विडम्बना, जनताले ती नारा, प्रतिबद्धता, भाषणलाई अनुभूत गर्न सकिरहेका छैनन् ।

सरकारले पानीजहाज र उत्तर–दक्षिण रेल–मार्गका महत्वाकांक्षी योजना र आश्वासन बाँडिरहँदा खानेपानी, स्वास्थ्य, शिक्षा, सडक जस्ता आम मानिसका दैनन्दिनका आवश्यकतालाई सहज पार्ने पहल देखिन्न ।

सरकारी अड्डाहरूमा खुलेआम घुसखोरी रोकिएको छैन, आकाशिंदो महँगी सरकारकै नियमन र नियन्त्रणमा छैन । जनताको सानातिना चासोलाई नै सम्बोधन गर्न नसकेको सरकार सम्हालिने होइन, ‘असफल’ बन्ने दौडमा देखिन्छ ।

जोखिम त के छ भने यसले सरकार मात्र होइन, राजनीतिप्रति नै जनतामा वितृष्णा बढाएको छ ।

निश्चय नै, जनतामा बाँडेका आश्वासन, पलाएका आशा र अपेक्षा पूरा गर्न समय लाग्छ । पाँच वर्ष पदावधि भएको सरकारले पहिलो वर्षमै सबै बाचा पूरा गर्नुपर्छ भन्नु आफैंमा अनुचित तर्क हो ।

तर, सही बाटो हिंडे ढिलै भए पनि गन्तव्यमा पुगिन्छ भन्ने आम सत्यबाट सरकार विमुख भएको देखिन्छ । र, तिनै तहका सरकार आफ्नो बाटो पहिल्याउन चुकेका छन् । परिणाम, आमनजरबाट सरकारको शिर गिरेको छ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरणको अनुसन्धान र अभियुक्तलाई कानूनी दायरामा ल्याउन देखाएको रवैयाले सरकारको साङ्गोपाङ्ग अवस्था उदाङ्गो पारेको छ ।

नागरिकको जीउज्यान रक्षा र कानून व्यवस्थाको हविगत दर्शाउने दृष्टान्त पनि हो, निर्मला पन्त प्रकरण । शक्तिशाली सरकारले यो प्रकरणबाट पाठ नसिक्नु मुलुककै ‘दुर्भाग्य’ हो ।

दशैं उत्सवका रूपमा मनाइने उल्लासको चाड हो । परिवार र नातागोतासँग रमाउने यो चाडसँग व्यक्ति–व्यक्ति र परिवार–परिवारको आर्थिक पक्ष पनि जोडिएको छ ।

पछिल्लो समय यो पर्व ‘बजारको पर्व’ पनि बनिरहेको छ । प्रत्येक नेपालीको जीवनस्तर उकास्ने भन्दै निर्वाचनमा लगाइएको समृद्धिको नारा र सरकारले निर्धारण गरेको प्राथमिकता यहीसँग जोडिन्छ ।

दशैं अहिले कुनै एक सम्प्रदाय वा जातिविशेषको मात्र नभई सांस्कृतिक पर्व बनिसकेको छ, जसले सामाजिक/सांस्कृतिक अन्तरघूलन र मूलप्रवाहीकरणमै योगदान दिइरहेको छ ।

आफ्ना कलिला सन्तानको प्राणपखेरु खोस्नेहरू विरुद्ध कारबाहीका निम्ति समेत सरकारको दैलो गुहार्नुपर्ने नियति कायम रहँदा कसरी पो आउला, दशैंको रमझम !

असत्यमाथि सत्यको जित–दशैंको परम्परागत विश्वास हो । यो धार्मिक र पारम्परिक आस्था र विश्वासको पर्वको अवसरमा सरकारले पनि बिराएको बाटो बदल्न सक्छ । जनतामा चुलिंदो असन्तुष्टि र निराशाका मर्म नियाल्ने प्रयत्न गर्न सक्छ, जहाँबाट मुलुकको राजनीति जनअपेक्षासित जोडियोस्, जनतामा सुशासनप्रतिको आशा र राजनीतिप्रति भरोशा पैदा गराउन सकोस् ।

समग्रमा, मुलुकको समृद्धि–मार्ग कोर्न सकोस् । 

बडा दशैं २०७५ को शुभकामना !

प्रतिकृया दिनुहोस