रिपोर्टआइतवार, आश्विन २८, २०७५

तातोपानी नाकाः ओझेलमा परेको तीन वर्ष

हिमालखबर

कल्पना भट्टराई, सिन्धुपाल्चोकबाट फर्केर

महाभूकम्पका कारण भन्सारमै लोडरको काम गर्ने ४०० नेपाली कामदारको काम र व्यवसाय गरेर बसेका १५ हजारको खोसिएको रोजीरोटी अझै प्राथमिकतामा परेको छैन ।

बाह्रबिसे तातोपानी सडकखण्डको निरीक्षण गर्दै तिब्बत सरकारका भाइस सेक्रेटरी जनरल छुयाङ लिउ (अगाडि दायाँ) ।

सिन्धुपाल्चोकस्थित नेपाल र चीनको सीमा नाका क्षेत्र तातोपानी, लिपिङमा व्यवसाय गर्ने जगमाया श्रेष्ठ (६०) लाई अहिले गुजारा चलाउन समस्या परिरहेको छ । उनले पारि खासाबाट समान ल्याएर बिक्री गरी दैनिक रु.४०० सम्म कमाउने गर्थिन् । वैशाख २०७२ को महाभूकम्पपछि नाका बन्द भएसँगै उनको कमाइ पनि सुकेको छ ।

यो नाका खुला हुँदा सामान ल्याउने व्यापारीको चहलपहल हुन्थ्यो र लिपिङका सानु थामी भारी बोक्ने काम गर्थे । नाका बन्द भएसँगै लिपिङका उनी जस्तै भारी बोकेर गुजारा गर्ने विकास तामाङ, युकेश शेर्पा रोजगारीका लागि खाडी मुलुक गए । लिपिङकी जालमाया शेर्पा भन्छिन्, “पहिले नाकामा काम गर्ने धेरै अहिले विदेश उडे ।”

भूकम्पका कारण नाका बन्द भएसँगै रोजगारी र व्यापारबाट हुने आम्दानी गुमाएका यस क्षेत्रका धेरै स्थानीय अहिले काठमाडौं लगायत देशभित्रैका शहर र खाडी मुलुकतिर लागेका छन् । दुई साताअघि भोटेकोशी गाउँपालिका–५ मार्मिङ पुग्दा रोजगारीका लागि प्रतिबन्धित मुलुक इराक र अन्य खाडी मुलुक नगएको सदस्य भएको घरै भेट्टाउन मुश्किल पर्‍यो ।

त्यहाँका कतिपयले तातोपानी नाका बन्द हुँदा रोजगारी नपाएकाले ‘अवैध’ मुलुक इराक जानुपरेको समेत बताए । तातोपानीस्थित मितेरीपुलको पारिदेखि वारिसम्म सामान ओसार्ने भरियाको काम गर्दै आएका मार्मिङ छ्यादीका नोर्बु शेर्पा अहिले काम खोज्दै साउदी पुगेका छन् ।

माइती नेपालले गएको वर्ष गरेको सर्वेक्षण अनुसार, भूकम्पपछि मार्मिङ, गाती र तातोपानी क्षेत्रमा वैदेशिक रोजगारीमा जाने युवा खासगरी महिलाको संख्या बढेको छ ।

नाका बन्दको मार
तातोपानी नाकाका प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतका अनुसार, भूकम्पअघिका पछिल्ला वर्ष यस नाकाबाट वार्षिक रु.२० अर्ब बराबरको सामग्री आयात र पौने तीन अर्ब बराबरको निर्यात हुने गरेको थियो ।

नाका बन्द हुनुको प्रत्यक्ष मार खुद्रा व्यापारी र मजदूरी गरेर खाने यस क्षेत्रका स्थानीयलाई परेको छ । उद्योग वाणिज्य संघ, सिन्धुपाल्चोकका वरिष्ठ उपाध्यक्ष राजकुमार बस्नेत मितेरी पुलमै रहेर व्यापार गर्ने झ्ण्डै चार हजार व्यापारी विस्थापित र भन्सारमै लोडरको काम गर्ने ४०० नेपाली कामदार बेरोजगार भएको बताउँछन् ।

संघका सिन्धुपाल्चोक अध्यक्ष वेदबहादुर श्रेष्ठको भनाइमा, नाका बन्द भएसँगै यस क्षेत्रमा व्यवसाय गरेर बसेका १५ हजारको रोजीरोटी खोसिएको छ । त्यस्तै, नाका बन्द हुँदा पारि ल्हासामा व्यवसाय गर्ने दश हजार नेपाली समेत विस्थापित भएको नेपाल हिमाल सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल बताउँछन् ।

यो नाका नखुल्दा जति नेपाललाई नोक्सानी छ, उति नै चीनलाई पनि छ । तिब्बतको वैदेशिक व्यापारको आम्दानी खुम्चनु र स्थलमार्गबाट नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या स्वात्तै घट्नुलाई उदाहरणका रूपमा लिन सकिने अध्यक्ष पौडेलको भनाइ छ । उनका अनुसार, नाका बन्द भएसँगै अरनिको राजमार्गमा समेत दैनिक रु.३५ लाखभन्दा बढीको व्यापारिक कारोबार घटेको छ भने तातोपानी नाकामा चल्ने सवारी साधन त्यतिकै थन्किएका छन् ।

किन खुल्दैन नाका ?
गएको साता नेपाली अधिकारीहरू र तिब्बत सरकारका भाइस सेक्रेटरी जनरल छुयाङ लिउको नेतृत्वमा आएको ३९ सदस्यीय टोलीले तातोपानीस्थित मितेरीपुलदेखि बाह्रबिसे बजारसम्म स्थलगत निरीक्षण गर्‍यो । नेपालतर्फ भूगोल, सडक र अन्य भौतिक पूर्वाधार निरीक्षणपछि नेपालका अधिकारीहरूलाई पनि चीनतर्फ लगिएको थियो । हाम्रोतिर भूकम्पले भत्काएको संरचनामा खासै पुनर्निर्माण नभए पनि चीनतर्फ सडक लगायत अन्य संरचना निर्माण भइसकेको पाइएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पा बताउँछन् ।

“हामीलाई तातोपानी नाका सञ्चालनका लागि केही समस्या छैन । तर, तपाईंहरूतर्फ धेरै समस्या देखियो” चिनियाँ अधिकारीहरूको भनाइ उद्धृत गर्दै मेयर शेर्पाले भने । चिनियाँ अधिकारीहरूले नेपालतर्फका सडकको पहिरो पन्छाउन आग्रह गरेको शेर्पाको भनाइ छ ।

तातोपानी नाकाको लिपिङ बजार ।

सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार, चिनियाँ टोलीले नाका सञ्चालनका लागि सडक नै मुख्य समस्या भएको बताएको छ । नाका क्षेत्रमा अहिलेसम्म भएको प्रगति दुवैतर्फबाट माथिल्लो निकायलाई जानकारी गराइएको छ । निर्णय उच्च तहबाट हुने बञ्जाडे बताउँछिन् ।

ल्हासाका लागि महावाणिज्य दूत गोविन्दबहादुर कार्की नेपालतर्फको सडक लगायत क्षतिग्रस्त संरचना निर्माण भए नाका छिटै खुल्ने बताउँछन् । अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालका अनुसार भने एक वर्षअघि नै रु.१७ अर्बको लागतमा अरनिको राजमार्ग (धुलिखेलदेखि तातोपानीसम्म) चीन सरकारले बनाइदिने सहमति भएको छ ।

नौ किलोस्थित सडक १०० मिटर भासिएपछि मर्मत गरिए पनि पुनः बिग्रिएको छ भने पोप्लाङखण्ड खोलाले बगाएपछि सीमा बजारसँग सम्पर्क टुटेको छ । सीमामा पहिरो खस्ने क्रम नरोकिएको, बिरामी र स्थानीय घण्टौं पैदल हिंडेर बाह्रबिसे आउने गरेको भोटेकोशी गाउँपालिका प्रमुख राजकुमार पौडेल बताउँछन् । उनका अनुसार, चिनियाँ कम्पनी रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) ले यो सडक खण्ड पुनर्निर्माणको जिम्मा लिएको छ ।

२१ साउन २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प र २१ असार २०७३ को भोटेकोशी बाढीले ध्वस्त बनाएको सडक चिनियाँ निर्माण कम्पनी सीआरसीसीले पुनर्निर्माण गरेको थियो । भोटेकोशी बाढीको कटानमा परेको बाह्रबिसे तातोपानी खण्ड २६ किलोमिटर सीआरसीसीले सामान्य मर्मत गरे पनि अहिले दर्जनौं स्थानमा बिग्रिसकेको छ ।

नेपाली पक्षले सडकमा खसेका पहिरो र ढुंगा हटाइदिए बाटो निर्माणको काम शुरू गर्न समस्या नभएको चिनियाँ पक्षको भनाइ रहेको सहसचिव नेपाल बताउँछन् । सडक विभागले पहिरो नपन्छाउँदा चीन सरकारले काम शुरू नगरेको नेपालको भनाइ छ ।

सीमाबाट ६ किलोमिटर पश्चिम (बाह्रबिसेतिर) तातोपानीकै लार्चामा चीनकै सहयोगमा ८ करोड ६२ करोड युआन (नेरु झ्ण्डै डेढ अर्ब) लगानीमा सुक्खा बन्दरगाह निर्माण भइरहेको छ । नाका सुचारु हुँदा ‘फ्री तिब्बत’ गतिविधि हुनसक्ने आशंकाले पनि चीन सरकारले यो नाकालाई प्राथमिकतामा नराख्दा ढिलाइ भएको स्थानीय व्यापारीहरूको बुझाइ छ ।

गाउँपालिका प्रमुख राजकुमार पौडेलका अनुसार, करीब २२०० परिवारको बसोबास रहेको तातोपानीमा नाका नखुल्दा र जोखिमको त्रासले पनि स्थानीय विस्थापित भइरहेका छन् । आफूहरू आवश्यक पूर्वाधार निर्माण र व्यवस्थित बनाउने पहलमा लागिरहेको उनको भनाइ छ ।

केरुङ नाका पनि उस्तै
चीनसँग सडक सञ्जालबाट जोडिएका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङ ऐतिहासिक नाका हो । चीनसँगको व्यापारिक कारोबार भने अहिले केरुङ नाकाबाट मात्र भइरहेको छ । २०७२ सालको भूकम्पका कारण तातोपानीसँगै केरुङ नाका पनि बन्द भएको थियो । यद्यपि सामान्य सुधारपछि २०७२ मंसीरयता चीनबाट हुने धेरैजसो आयात केरुङ नाकाबाट हुँदै आएको छ ।

चीनबाट रेडिमेड कपडा र घडी लगायत सामग्री ल्याएर काठमाडौंका विभिन्न थोक पसलमा सप्लाई गर्दै आएका व्यापारी नारायण घिमिरेको सामान एक महीना चीनको गोदाममै थन्कियो । रसुवा–काठमाडौं सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेर एक महीना सडक अवरुद्ध हुँदा सामान गोदाममै थन्काउनुपरेको घिमिरे बताउँछन् । उनका भनाइमा, केरुङ काठमाडौंदेखि १५५ किलोमिटर दूरी रहे पनि सडकको दुरवस्थाका कारण त्यहाँ पुग्न १५ घण्टा समय लाग्छ ।

त्यहाँको सीमा नाकामा बाहिरी जिल्लाका व्यापारीलाई ‘वान–डे पास’ पनि व्यवस्था छैन । बाहिरी सवारी समेत लैजान नदिंदा थप समस्या परेको उनले गुनासो गरे ।

तातोपानी नाकाबाट हुने व्यापार केरुङमा सरेको भए पनि यस नाकाको सडक मर्मतका लागि सरकारले चासो नदिंदा यहाँबाट सामान ओसारपसार गर्न समस्या भएको उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष श्रेष्ठ बताउँछन् ।

जिल्ला बाहिरका व्यापारी तथा गाडी चालकसित ‘वान डे पास’ नहुने, सवारी साधन बिग्रिंदा बनाउन जान नपाउने तथा भन्सार यार्ड व्यवस्थित नहुँदा सामान चोरी हुने र खुला ठाउँमा भएकाले पानी पर्दा समस्या हुने श्रेष्ठको भनाइ छ ।

यही नाकालाई १४ भदौ २०७४ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गए पनि भौतिक अवस्था अस्तव्यस्त भएको रसुवागढी भन्सार कार्यालयका सूचना अधिकारी धर्म सुवेदी बताउँछन् ।

प्रतिकृया दिनुहोस