रिपोर्टआइतवार, आश्विन २८, २०७५

शोभाकलीले छावा जन्माई

हिमालखबर

कोशीटप्पुमा ६० वर्षीया ढोई शोभाकलीले छावा जन्माएपछि आरक्ष प्रशासनले स्याहार बढाउँदै सुरक्षामा पनि विशेष ध्यान दिएको छ ।

तस्वीर: कमल रिमाल 

कोशीटप्पु वन्यजन्तु आरक्षमा रहेका चार गर्भिणी ढोईमध्ये शोभाकली (६०) सुत्केरी भएकी छे । १० वर्षपछि शोभाकलीले १९ असोजमा पुनः पोथी छावा जन्माएकी हो । लामो समयपछि आरक्षमा हात्तीले छावा जन्माएकाले हात्तीसार र आरक्ष प्रशासनले खुशियाली मनाएको हात्तीसारका शाखा अधिकृत रामगुलाम चौधरी बताउँछन् ।

छावाको न्वारान कोशीटप्पुमा १२ दिनमा गर्ने चलन छ । आरक्ष प्रशासनले उपयुक्त नाम जुराएर ३० असोजमा छावाको नामकरण गर्ने भएको छ । पोथीको नाम राख्दा ‘कली’ र भालेको नाममा ‘गज’ जोड्ने गरिन्छ ।

एउटा हात्तीको रेखदेख गर्न तीन जनाको दरबन्दी हुन्छ । छावा दुई वर्षको भएपछि तालिम दिनुपर्ने भएकाले अब कोशीटप्पुमा माउतेसहित तीन जना हेरालु थपिने भएका छन् ।

१० वर्षअघि शोभाकलीले जन्माएकी लक्ष्मीकली पनि गर्भवती छे । शोभाकलीले पहिलो पटक २०५९ सालमा ४४ वर्षको उमेरमा बराहगजलाई जन्माएकी थिई । बराहगजको १३ वर्षको उमेरमा सर्पको डसाइले चितवनमा मृत्यु भयो । दोस्रो पटक शोभाकलीको छावा जन्मिने बित्तिकै मरेको थियो ।

तेस्रो पटकमा लक्ष्मीकलीको जन्म भएको हो । आरक्षमा रहेका पाँच ढोईमध्ये लक्ष्मीकली मात्रै कोशीटप्पुमा जन्मिएकी हो । “आरक्षका अरू हात्ती भन्दा शोभाकलीको व्यवहार ठीक छ”, माउते जगन्नाथ चौधरी भन्छन् । २८ वर्षदेखि कोशीटप्पुमा माउते रहेका चौधरीका अनुसार, जंगली हात्तीलाई देख्दा बाहेक शोभाकलीले कहिल्यै दुःख दिएको याद छैन ।

आरक्षमा रहेका १३ वर्षीया सरस्वतीकली र दमदमकली पनि आमा बन्दैछन् । लक्ष्मीकली २०७६ मंसीरमा, सरस्वतीकली २०७६ कात्तिकमा र दमदमकली २०७६ भदौमा सुत्केरी हुँदैछन् । आरक्षमा रहेका पाँच ढोईमध्ये अमेरिका कली (६०) भने गर्भवती छैन ।

आरक्षका सबै हात्ती जंगली हात्तीको संसर्गमा गर्भवती भएका हुन् । आरक्षमा २०४७ साल यता भारतबाट आएका जंगली भाले हात्ती बस्छन् । जंगली हात्ती आउनु अघिसम्म आरक्षका ढोई गर्भवती हुँदैनथे । “भाले लागेको १८ देखि २२ महीनामा हात्ती ब्याउँछ”, अधिकृत चौधरी बताउँछन् ।
आरक्षमा दरबन्दी भएका १० मध्ये पाँच हात्ती चितवनमा काजमा छन् ।

सुत्केरीको स्याहार
सुत्केरी शोभाकली र तीन गर्भवती हात्तीको स्याहार बढाइएको छ । सरकारी स्केलमा एउटा हात्तीले दैनिक १५ किलो धान, डेढ किलो सक्खर र हरियो घाँस पाउँछ । “स्केल बाहेक दैनिक एक किलो चना र डेढ किलो सक्खरमा पाँच किलो चामलको खीर शोभाकलीलाई दिंदैछौं”, अधिकृत चौधरी भन्छन्, “छावाले पनि माउकै जति स्केल पाउने भएकाले उसको भाग पनि आमाले खान्छे ।”

गर्भवती ढोईहरूलाई दिइने धान र हरियो घाँसको परिमाण पनि बढाइएको छ । आरक्षमा हात्तीले छावा जन्माएको हल्ला आसपासका गाउँमा फैलिएकाले हेर्न आउनेको घुइँचो हुन्छ । शोभाकलीको छावाको छेउमा मानिस नजाऊन् भनेर फलामे बार लगाइएको छ । यस्तै, जंगली हात्ती नछिरोस् भनेर सोलार जडित तारले बेरिएको छ ।

गर्भवती हात्तीहरूको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ । उनीहरूलाई जंगली भालेले दुःख नदेओस् भनेर चरनका लागि धेरै टाढा लगिंदैन । सुत्केरी र गर्भवती ढोईलाई जंगली हात्तीबाट जोगाउन हात्तीसारमा राति आगो बालेर पहरा दिइनुका साथै नेपाली सेनाको गस्ती पनि बढाइएको छ । “सेनाको नियमित गस्तीले जंगली हात्ती हात्तीसारमा आउन पाएका छैनन्”, आरक्षका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारी बताउँछन् ।

जंगली हात्ती धपाउन आरक्ष प्रशासनले रबरको गोली हान्ने बन्दूकको व्यवस्था गरेको छ ।

कमल रिमाल, कोशीटप्पु

प्रतिकृया दिनुहोस