काठमाडौंमा हेटौंडाका खसीबोका र मुस्ताङका च्याङ्ग्रा
नेपाल खाद्य संस्थानले आजबाट खसीबोका र च्याङ्ग्राको बिक्री शुरु गरेको छ ।
पहिलो चरणमा ५५० च्याङ्ग्रा र २५० खसीबोका ल्याएर बिक्री शुरु गरिएको संस्थानका सूचना अधिकारी शंकर सापकोटाले जानकारी दिए ।
यो वर्ष संस्थानले च्याङ्ग्रा मुस्ताङबाट ल्याएको छ भने खसीबोका हेटौंडाबाट ल्याएको छ ।
आजदेखि हरेकदिन बिहान ८ देखि बेलुका ६ बजेसम्म खसीबोका र च्याङ्ग्राको बिक्री गरिने सापकोटाले बताए ।
यो वर्ष एक हजार च्याङ्ग्रा र एक हजार खसीबोका बिक्री गर्ने लक्ष्य संस्थानको छ । खसीबोकाभन्दा तुलनात्मक रुपमा च्याङ्ग्रा महंगो भएपनि ग्राहकको आकर्षण बढी भएको सापकोटाको भनाइ छ ।
अहिले काठमाडौंका अन्य बजारमा जिउँदो खसीबोका प्रतिकिलो ५३५ रुपैयाँ हाराहारीमा बिक्री भइरहेको छ भने खाद्य संस्थानले खसीबोका प्रतिकिलो ५१० र च्याङ्ग्राको भाउ ७१० तोकेको छ ।
त्यसमा पनि १० रुपैयाँ छुट दिएर ५०० र ७०० को दरमा बिक्री भइरहेको सापकोटाले जानकारी दिए ।
आज बिहानैदेखि खाद्य संस्थानमा च्याङ्ग्रा र खसीबोका किन्ने ग्राहकको भिड लागेको छ ।