दस्तावेजशुक्रवार, आश्विन २६, २०७५

खासा सीमा नाकाको रेटघोट

ज्ञानमणि नेपाल

जित्दै गएर भीम मल्ल दलबल सहित ल्हासा दाखिल भए, भोटसँग सन्धि–सम्झौता गरेर नेपालको भोट बेपारमा पूर्ण प्रभुत्व कायम भयो।

प्राचीनकालदेखि नै नेपाल र भोटबीच आवतजावत र बेपारका लागि मुख्य चल्तीको नाका खासा र केरुङ नै हुन् । त्यसबेला भोटसँग सम्बन्ध बिग्रिएर यी दुवै सीमा नाकामा पनि गडबड भइरहेको थियो । राजा प्रताप मल्ल (सं. १६९८–१७३१) ले भोट विजयका लागि काजी भीम मल्ललाई सैनिक दलको साजवाज सहित पठाए ।

भीम मल्लको सैनिक अभियान कुती र केरुङ नाकाबाट भोट पस्यो । जित्दै गएर भीम मल्ल दलबल सहित ल्हासा दाखिल भए, भोटसँग सन्धि–सम्झैता गरे । सम्झाैता अनुसार, नेपालको भोट बेपारमा पूर्ण प्रभुत्व कायम भयो । नेपालका साहू–महाजनहरू यिनै दुई नाकाबाट भोट व्यापार जान पाउने, भोटले पनि यहीं बेपार गर्नुपर्ने भयो ।

कश्मीरी मुसलमान र सन्यासी बेपारीले पनि यी दुई बाटाको मात्र प्रयोग गर्नुपर्ने भयो । भोटमा यिनका बत्तीस वटा कोठी स्थापित भए । बत्तीस कोठीका महाजनले मात्र विना भन्सार दस्तुर बेपार गर्न पाउने भए । सीमा व्यापार, सटही बेपारमा नेपाली व्यापारीले सामान्य सिसार दिएर बेपार गर्न पाउँथे ।

यी महाजनहरूको अधिकारको सुरक्षाका लागि र झै–झगडा मिलाउन नेपाली नाइके ल्हासामा बस्थे । अन्तका बेपारीको यस्तै हेरचार गर्ने चाहिं थकालीहरू हुन्थे । जंगबहादुरले १९१२ सालमा भोट विजय गरेपछि भने ल्हासामा वकिल अड्डा स्थापित भयो र वकिलले सबै काम–कारबाही गर्न लागेका हुन् ।

जंगबहादुरकै भनाइ अनुसार, भीमसेन थापाका पालादेखि नै भोटले सीमा बेपार र सीमाकै बारेमा बत्तीस वटा अर्घेल्याइँ गरेको उजागर भएका थिए । त्यही प्रसंगमा हामीले पहिले केरुङका गुमास्ताको छोरो मारिएको, उसको धनमाल लुटिएको र खम्पा काण्डको बारेमा विवेचना गरिसक्यौं । अब खासा सीमा र अपराधी सुपुर्दगी सम्बन्धमा यथार्थ चर्चा गरिन्छ, मूल प्रतिबाटै अलिकति सच्याएर ।

श्री ५ गोर्खा सरकार र भोट सरकारको खासापट्टिको साँध–सिमाना सच्याएको कागज
उप्रान्त अघि छयांलुङ ५७ सालमा श्री ५ चीन वादशाह हुकुमले आएका वडा टुंथबाङ च्यानचुन श्री ५ गोर्खा सरकारलाई गरिदिएको सनदमा र मोतासिन् अम्बाले कुतीका ढेवा कटुवाललाई गरिदिएको सनदमा खासा फलाम साघुका जगामा ढुंगाको थुप्रो र पानीले छेकेको सम्म सोझाे दखिन गोर्खाले चर्चनु, उत्तर भोटले चर्चनु, भन्ने बेहोराको सनद भएको छदाछदै खासातर्फबाट केही जगा मिचिन जादा श्री ५ को गोर्खा सरकारबाट ल्हासाका श्रीअम्बालाई लेखी रमना हुदा सिमाना जाजी सच्याई रफा गर्नालाई चिनिया भोट्या साहेवानहरूबाट खटन भै लावाङ घ्यान्जोय लावान् गोन्बो कुतीका २ ढेवा नैवोहरू सिवानामा आया, श्री ५ गोर्खा सरकारबाट काजी उमाकान्त उपाध्याय कप्तान सताराम खत्री कप्तान जबर कार्कीहरूलाई खासा सिवानामा २ तरफका भारदार बसी २ सनद हेर्दा दुवै सनदमा फलाम साघुदेखि दखिन गोर्खाको उत्तर भोटको भनी खुलासा लेखेको रहेछ, फलाम साघु देखी पूर्व पश्चिम यताउता अघिबमोजिम चर्चनु भनी लेखेको रहेछ, फलानु साध भन्या बेहोरा खुलासा नलेखेको हुनाले गोर्खाका भारदारहरूले फलाम साघुका ढुंगा थुप्राएका किलादेखि पूर्व पश्चिम सोझाे साध लाउनु भन्दा भोटतर्फका भारदारहरूले छ्याङ लुङ ५७ देखि भोटबाट चर्चिआएको जगा आज हामी छोड्न सक्तौन भनि भन्दा दुवै तर्फका कुरा नमिल्दा छयान्जोयल्हावाङ गोन्बोले कारोवारी नामध्याल छेटेनलाई श्री ५ गोर्खा सरकारका बडा बाजीर श्रीमिनिष्टर साहेबका हजुरमा हाजिर भै गोर्खाबाट आउन्या भारदारहरूसित सिवानाफो कुरा रफा हुन नसक्ता हामी यहा हाजिर भयौं हजुरका तजबीजले दुवै सर्कारको चित्ररहन्या सल्लाह गरी पछिसम्म तक्रार नहुने पाठ रफा गरिबक्सनुहोस् हामीलाई मंजुर छ भनी बिंती गर्दा दुवै तर्फका सनदमा पनि फलाम साघु दखिन गोर्खाको उत्तर भोटको भनी लेखेको बेहोराले फलाम साघु देखि पूर्व पश्चिम सोझसोझ् गर्नु पर्ने हेर, तैपनि गोर्खा भोट दुवै सर्कार श्री ५ बादशाहका हुकुममा रहने हुनाले र तिमीहरूले पनि नेपालसम्म आइ छिनि बक्सनु हवस् भनी विन्ति गर्‍या पछि हामीले सहलह गर्दैनौ भनि ज्याव दिन मुनासिव पर्दैन, अब उप्रान्त सिवानाका फलाम साघुदेखि पूर्वतर्फ अघिदेखि भोटबाट चर्चेको लिपिङ खोला र भोट्या कोसीका दोभानदेखि जुमखोला र भोटया कोसीको दोभान सम्मका बीचमा भोट्या कोसी देखि पूर्व भोटको पश्चिम गोर्खाको फेरि भोट्या कोसी र जुमखोला २ का दोभानमा ढुंगाका थुप्रादेखि जुमखोलाको सिर छार्‍या भनेको पानि र बीच बीचमा ढुंगा थुप्रा लाएको छ उत्तर भोटको दखिन गोर्खाको, फेरि जुभखोलाको सिर छार्‍याका ढुंगाका थुप्रादेखि तिनचाल्याका डाडाघारदेखि हिमालयसम्म पानीढलो दखिन पूर्व गोर्खाको उत्तरपूर्व भोटको फेरि फलाम साघुको भोटया कोसी र लिपिङ खोलो २ का दोभानदेखि लिपिङ खोलाका सिरको खरान्या पोखरी देखि हिमालयसम्म ठाकठाउमा ढुंगाका थुप्रा लाएको छ पानी ढलो पश्चिम दखिन गोर्खाको, उत्तर पश्चिम भोटको यही बेहोरा बमोजिम दोहरा नक्साका कागजमा लाललकीरदेखी उभो भोटको, लाललकिर देखि उधो गोर्खाको भन्ने बन्दोबस्त दुवै तर्फ का बमोजिम तपसिलका भारदार बसी आजका मिति संवत्मा यस सनदमा र दुवै तर्फका सिवानाका नक्साका सनदमा दुवै तर्फका भारदारले दुवै कागजमा सहीछाप गरी भोट तर्फले गोर्खातर्फलाई दिञ्यूँ सोहीबमोजिम गोर्खाले भोटतर्फलाई दिञ्यूँ, यस सिवानामा अब उप्रान्त गोर्खा भोटका छोटा बडा सबैले यही स्थितिथामी जुगजुगसम्म झ्गडा तक्रार थिचो मिचो रतिभर नगर्नु नागरी अक्षर र भोट्या अक्षर भएको कागज र नक्साका सनदमा छाप लाई लिनु दिनु गयौं ।

तपसील

श्री ५ गोर्खातर्फका भारदार,

काजी उमाकान्त उपाध्याय–१ कप्तान सताराम खत्री १

कप्तान जबर कार्की १ डिठ्ठा मानसरवर १

भोट मुन्सी धिनरसिंह १

भोट तर्फका भारदार,

लावाङ छ्यान्जोप च्याङध्याप् ल्हावाङ गोन्वो १

ढेवा मेनछुवा १

ढेवा हिजिन्ताना १

कारोवारी नाघ्याल् छेटेन १

दोभासे कार्साङ १

दोभासे इस्ये १

साके १७५५ संवत् १९१० श्रावण सुदि १ रोज ६ मुकाम खासा शुभम्

प्रतिकृया दिनुहोस