वाणिज्य ब्यांंकको मिलेमतोमा नयाँ ब्याजदर
वाणिज्य ब्यांकहरुले एकआपसमा मिलेमतो गरी नयाँ ब्याजदर कायम गर्ने समझदारी गरेका छन् ।
नेपाल ब्यांकर्स संघको आजको बैठकले व्यक्तिगत बचत खातामा पाँच प्रतिशतसम्म ब्याज दिने समझदारी गरेका हुन् ।
बैठकमा २८ वटा वाणिज्य ब्यांकका प्रमुख कार्यकारी अधिकृतको सहभागिता थियो ।
यस्तै व्यक्तिगत मुद्दती खातामा नौ प्रतिशत र संस्थागत मुद्दती खातामा भने १० प्रतिशतसम्म ब्याज दिने भएका हुन् ।
केही ब्यांकले निक्षेप तान्न भन्दै बचत खाता र मुद्दती खातामा बढी ब्याज दिन थालेका थिए । त्यसबाट बचतकर्तालाई भने फाइदा भएको थियो ।
नबिल ब्यांकका प्रमुख कार्यकारी अधिकृत एवं नेपाल ब्यांंकर्स संघका पूर्वअध्यक्ष अनिलकेशरी शाहले ब्याजदरमा सामान्य समझदारी भएको जानकारी दिए ।
उनले ब्यांक तथा वित्तीय संस्थाका विषयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र ब्यांंक र सरोकारवालाबीच भइरहेको छलफलको निरन्तरताका क्रममा आज संघको बैठक बसेको बताए ।
यसअघि साधारण बचतमा सात प्रतिशतसम्म र मुद्दतीमा १० दशमलव ५० प्रतिशतसम्म ब्याज दिने समझदारी ब्यांकहरुले गरेका थिए । तर केही ब्यांकले भने संस्थागत बचतकर्तालाई तोकिएभन्दा बढी ब्याजदर दिएको भन्दै ब्यांकर्स संघमा उजुरी गरेका थिए ।
गत साउनदेखि हालसम्म ब्यांकहरुले रु ३९ अर्ब निक्षेप संकलन गरेका छन् । तर, सोही अवधिमा रु ९२ अर्ब कर्जा प्रवाह भएको छ ।
निक्षेप संकलन र कर्जा प्रवाहमा सन्तुलन नभएपछि बजारमा फेरि लगानीयोग्य रकमको अभाव हुनसक्ने सम्भावना देखिएको छ । बजारमा करीब रु ३५ अर्बको हाराहारीमा मात्रै तरलता रहेको छ । रासस