टी २० विश्वकप छनोट: चीनसँग ११ बलमै नेपालको जित
मलेसियामा जारी एशिया क्षेत्रको टी २० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत् बुधबार भएको चीनविरुद्धको खेलमा नेपालले शानदार जित हासिल गरेको छ । लक्ष्य पछ्याएको नेपालले ११ बलमै जित हात पारेको हो।
क्वालालाम्पुरमा सम्पन्न खेलमा टस जितेको नेपालले पहिले फिल्डिङ रोज्दै चीनलाई व्याटिङको निम्तो दिएको थियो । नेपाली बलिङ र फिल्डिङसामु चीन पुरै निरीह देखियो । चीनले १३ ओभरमा सबै विकेट गुमाउँदै २६ रन मात्र जोड्न सक्यो । नेपालका तर्फबाट सन्दिप लामिछाने, बसन्त रेग्मी र ललित राजवंशीले तीन तीन विकेट लिए।
चीनका होङ जियाङ यानले ११, देङझी माले ५ र चेन जिनफेङले १ रन जोडे । अन्य कुनै पनि व्याट्सम्यानले खाता खोल्न सकेनन्।
२७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले एक ओभर ५ बलमा विना कुनै क्षति २९ रन जोड्यो । नेपालका ओपनर बसन्त भण्डारीले ८ बलमा २४ रन बनाए । चार ओभरमा चार रन खर्चेर तीन विकेट लिएका सन्दीप म्यान अफ द म्याच चुनिए।