ब्लगशनिवार, आश्विन २०, २०७५

पञ्चायतलाई जिताउन सूर्यबहादुरको जुक्ति

भैरव रिसाल

जनमत संग्रहको परिणाम आएको केही समयपछि समाचार खोज्ने क्रममा मन्त्रिपरिषद् सचिवालय पुग्दा आफूले थाहै नपाएको विषयमा प्रधानमन्त्रीबाट जस पाएको थिएँ ।

राजा वीरेन्द्रले दरबारियाहरूसँग सल्लाह नै नगरी १० जेठ २०३६ मा जनमत संग्रहको घोषणा गरेका थिए, ‘सुधार सहितको पञ्चायत कि बहुदलीय व्यवस्था ?’ त्यसमा निर्वाचन भएर १ जेठ २०३७ मा परिणाम आइसकेको थियो । म राष्ट्रिय समाचार समिति (रासस) को प्रमुख समाचारदाता थिएँ ।

महत्वपूर्ण समाचार नभएर दिक्क लागिरहँदा केही भेटिन्छ कि भनेर मन्त्रिपरिषद् सचिवालय गएको थिएँ । मुख्य सचिव भोगेन्द्रनाथ रिमाल बाटैमा भेटिए । समाचार लिन आएको भन्दा उनले एकछिन पर्खन भने । प्रधानमन्त्री सूर्यबहादुर थापाकहाँ गएर भनेछन्, “भैरवजी खबर लिन आइसके ।” तब प्रधानमन्त्री थापा आश्चर्य मान्दै कड्केछन्, “कति चाँडो थाहा पाउँछन् उनी यस्ता कुरा !”

के कुरा हो, मैले त सुइँको समेत पाएको थिइनँ । भएको के रहेछ भने, जनमत संग्रहको घोषणा गरेपछि देशभर व्यापक आन्दोलन भइरहँदा दरबारिया आत्तिइसकेका थिए । एक दिन दरबारमा शाही परिवारको बैठक बोलाइएछ ।

बैठकमा प्रधानमन्त्री थापा पनि सहभागी थिए । सबै दरबारियाले आफूसँग भएका गहनाका पोका ल्याएछन् र प्रधानमन्त्रीसँग भनेछन्, “जसरी भए पनि पञ्चायतलाई जिताउनुपर्‍यो । कति खर्च लाग्छ, हामीसँग भएका सुनचाँदी ल्याएका छौं ।”

राजा वीरेन्द्र केही नबोली मुसुमुसु हाँसेछन् । राजा नबोलेको अर्थ बुझन सूर्यबहादुर जस्ता चतुर मानिसलाई गाह्रो पर्ने कुरै भएन । थापाले गहनाको प्रस्ताव अस्वीकार गर्दै ‘अहिले यो दुःख नगरौं, म व्यवस्था मिलाउँछु । नपुगे बिन्ती गर्नेछु’ भनेछन् ।

अब थापालाई राष्ट्रिय सम्पत्तिको चरम दुरुपयोग गर्ने इजाजत स्वतः प्राप्त भयो । उनले विकाससँग सम्बद्ध सचिवहरूको बैठक गरी जेजे निकासी–पैठारी गर्ने हो, लाइसेन्स दिएर रकम जम्मा गर्न अह्राए । यो काममा उद्योग वाणिज्य, कृषि, जलस्रोत र सञ्चार सचिवहरू प्रयोग गरिए ।

६० लाख क्युविक फिट काठ, आठ हजार टन मुसुरोको दाल, मयूरको प्वाँख, चिनी जस्ता वस्तुका निकासीको भरमार अनुमति दिई थुप्रै रकम जम्मा गरियो । यस्तै, व्यापारमा फाइदा बढाउन अमेरिकी डलरको दुई वटा सटही दर रु.१६.१० र रु.१४.१० बनाइयो । अन्ततः जनमत संग्रहमा ४ लाख २५ हजार ४८७ मत बढी ल्याउँदै पञ्चायतले जित्यो ।

बर्खास्त गर्नू भनिएकालाई पुरस्कार !
राजा वीरेन्द्रलाई लागेछ, निर्दलको लागि पैसा जम्मा गर्न प्रयोग गरिएका ती सचिवहरूले फेरि पनि पैसा उठाएर खान सक्छन्, त्यसैले पदबाट हटाउनुप¥यो । उनले प्रधानमन्त्री थापासँग चारै जना सचिवलाई अवकाश दिन भने । सूर्यबहादुरले बिन्ती बिसाएछन्, “यिनलाई जागिरबाट हटाउँदा गोप्य कुरा खोलिदिन सक्छन् । बरु म सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने जुक्ति सोच्छु ।”

राजा वीरेन्द्रले प्रधानमन्त्री थापासँग चारै जना सचिवलाई अवकाश दिन भने। थापाले बिन्ती बिसाएछन्, “यिनलाई जागिरबाट हटाउँदा गोप्य कुरा खोलिदिन सक्छन्। बरु म सर्प पनि मर्ने लट्ठी पनि नभाँचिने जुक्ति सोच्छु।”

प्रधानमन्त्री थापाले ती सचिवहरूलाई राष्ट्रिय योजना आयोगको सह–सदस्य बनाएर थन्क्याउने उपाय निकाले । मर्यादाक्रम बढाउने तर अधिकार शून्य हुने । त्यसै अनुसार मन्त्रिपरिषद्ले निर्णय गर्‍यो । त्यसरी सह–सदस्य हुनेहरूमा पशुपतिप्रताप शाह, शंकरकृष्ण मल्ल, वेदबहादुर खड्का र सूर्यप्रसाद श्रेष्ठ थिए । मल्ल भने सह–सदस्यका साथै आयोगको सचिवमा पनि राखिए ।

मन्त्रिपरिषद्को निर्णय लगत्तै म समाचार लिन पुग्दा प्रधानमन्त्री थापाले ‘कसरी थाहा पायो’ भनेर आश्चर्य मानेका रहेछन् । थाहै नपाएको कुरामा मैले जस पाएँ । मुख्य सचिव भोगेन्द्रजी आएर प्रधानमन्त्रीसँग भएको संवाद मलाई सुनाए । उनले एउटा विज्ञप्ति दिंदै भने, “प्रधानमन्त्रीज्यूले भन्नुभएको छ, यो समाचार जस्ताको तस्तै छाप्नू रे !”

रासस पुगेर समाचार बनाएँ । आकर्षक पनि भयो । समाचारसँगै अन्त्यमा विज्ञप्तिको विवरण पनि राख्ने त्यसबेलाको चलन थियो । पत्रकारिता यात्रामा कहिलेकाहीं यति सजिलै गतिला समाचार भेटिन्छन्, तर खोज्ने हुटहुटी भइरहनुपर्छ । आफूलाई रत्तिभर थाहा नभएका विषयमा पनि स्वयं प्रधानमन्त्रीले ‘यस्ता कुरा उनी कसरी थाहा पाउँछन्’ भनी मलाई सहयोग गरेका छन् । 

प्रतिकृया दिनुहोस