१२ विद्यार्थीको भरमा प्रावि स्कूल
पाल्पाको रिब्दीकोट गाउँपालिका– २, डुम्रेपोखरास्थित ‘गाउँले प्रावि’मा जम्मा १२ जना विद्यार्थी छन् ।
विद्यालयमा कक्षा १ मा पाँच र कक्षा २ मा चार र कक्षा ३ मा तीनजना विद्यार्थी छन् ।
१२ जना विद्यार्थी पनि नियमित हुन नसक्दा एउटा कक्षामा कहिले एक त कहिले दुईजनालाई पनि पढाउनुपरेको प्रधानाध्यापक कमल भुसालले जानकारी दिए ।
विद्यार्थी कम हुँदा पठनपाठनमा असहजसँगै विद्यार्थीको सिर्जनात्मक क्षमता समेत कम हुने भुसालले बताए । विद्यार्थी अभावकै कारण विद्यालयमा अतिरिक्त क्रियाकलाप समेत हुँदैन ।
विद्यालयको सेवा क्षेत्रभित्र ७५ घरपरिवार छन् । तर, श्रीमान् वैदेशिक रोजगारमा रहेकाहरु मध्ये धेरैका श्रीमती बालबालिका पढाउनका लागि सदरमुकाम तानसेन धाउन थालेपछि विद्यालयमा विद्यार्थीको सङ्कट भएको हो ।
विद्यालयले विद्यार्थीबाट भर्ना, परीक्षा, मासिकलगायत कुनै पनि शुल्क लिँदैन । रासस