ब्लगशुक्रवार, आश्विन १९, २०७५

बीपीको समाचार बनाउँदा

भैरव रिसाल

बन्दीगृहमा रहेका बीपी उपचारका लागि अमेरिका जाँदैछन् भन्ने थाहा पाएपछि उनलाई भेट्न बुद्धि निकै घोट्नुपरेको थियो ।

२०३४ सालमा विश्वेश्वरप्रसाद कोइराला (बीपी) राजा वीरेन्द्रको हुकुम अनुसार क्यान्सरको उपचारका निम्ति अमेरिका जाँदै थिए । मलाई उनी उड्नुअघि नै भेट्ने हुटहुटी लाग्यो, आखिर पत्रकारको कामै यस्तै । त्यसअघि डा. मृगेन्द्रराज पाण्डेले राजा वीरेन्द्रलाई भेटेर भनेका रहेछन्, “विश्वेश्वरले अमेरिकाबाट फर्केर गर्ने राजनीतिले भन्दा उनको जेलमै मृत्यु भयो भने त्यसले राजतन्त्रलाई बढी पिर्छ ।” 

बीपी र गणेशमान सिंहलाई प्रहरी तालिम केन्द्र महाराजगञ्जमा थुनिएकोे थियो । बीपीको स्वास्थ्य अवस्थाबारे सूक्ष्म जाँच गर्न डा. पाण्डे, डा. लक्ष्मीनारायण प्रसाद र डा. दिनेशनाथ गोंगल दरबारबाट खटिएका थिए । पाण्डेलाई लागेछ, तत्काल राम्रो ठाउँमा उपचार नगरे बीपीलाई बचाउन सकिन्न । त्यसैले उनले बडो मिहिनेत गरी राजालाई भेटेर बीपीलाई उपचारका लागि विदेश पठाउनुपर्ने सल्लाह दिएका रहेछन् । डा. तुलसी गिरी प्रधानमन्त्री थिए, त्यतिबेला ।

मलाई पत्रकारिता सिकाउने गुरुहरू भन्नुहुन्थ्यो– खाँटी पत्रकारले बुद्धि घोटिरहनुपर्छ । बीपीलाई भेट्ने हुटहुटीले मलाई सताइरहेको थियो, उनी उड्नुभन्दा एक दिनअघि मैले बुद्धि निकै घोटें र अञ्चलाधीश कहाँ पुगें । सूर्यप्रसाद श्रेष्ठ अञ्चलाधीश थिए । मैले भनें, “म भोलि बीपीलाई भेट्न चाहन्छु ।”

उनी कड्के, “अकस्मात किन भेट्ने बीपीलाई ?” मैले विनम्र भएर भनें, “औषधि गर्न अमेरिका पठाएकोमा बीपीले राजाप्रति कृतज्ञता प्रकट गर्छु, धन्यवाद दिन्छु भन्छन् कि !”

बुद्धि घोटाइले काम गरेछ, अञ्चलाधीश श्रेष्ठले एकछिन पर्खन भने र गोप्यकोठामा पसे । २० मिनेटपछि निस्केर बडो सालीन पारामा भने “भोलि बिहान साढे आठ बजे महाराजगञ्ज प्रहरी तालिम केन्द्रमा जानुस् सह–अञ्चलाधीश विष्णुप्रताप शाहले भेटाइदिनुहुन्छ ।”

भोलिपल्ट राष्ट्रिय समाचार समिति (रासस)का जयशमशेर राणा र म प्रहरी तालिम केन्द्र गयौं, ढोकैमा भेटिए सह–अञ्चलाधीश ।

बीपी हँसिलो अनुहारमा थिए । गणेशमान सिंहले ‘लौ विश्वेश्वर बाबु स्वस्थ भई चाँडै फर्कनुस्’ भनी बिदा गरे । मैले बीपीलाई सोधें, “उपचारका लागि श्री ५ बाट अमेरिका पठाएकोमा केही भन्नु छ कि ?” उनले मलाई पहिल्यैदेखि चिन्थे । सपाट अंग्रेजीमा भने, “नो, आई एम प्रिजनर, नो नथिङ... ।”

त्यसपछि मैले आम मान्छेलाई चाख लाग्ने विषय ‘आज कहाँ बस्ने ? को को जाने ? अमेरिकाको कुन अस्पतालमा उपचार गराउने’ जस्ता कुरा सोद्धै गएँ । उनले आज दिल्ली बस्ने, भोलि अमेरिका उड्ने, साथमा दुई जना जाने लगायत सबै जानकारी दिए । बीपीलाई रातो प्लेटको रातै रङको कारमा एयरपोर्टतर्फ दौडाइयो, हामी राससतर्फ दौडियौं ।

रासस आएर सात–आठ प्याराग्राफको समाचार बनाएँ । उता बीपीलाई एयरपोर्टमै भेटेर अन्तर्वार्ता लिन गएका देशी–विदेशी पत्रकारले भने विश्वेश्वरलाई देख्नसम्म पाएनछन् । रिसले चुर भएर उनीहरू रासस आएका थिए ।

दिल्लीबाट धन्यवाद
मैले राससका लागि बनाएको समाचार नेपाली र अंग्रेजीमा तयार भयो । त्यो समाचारमा मानवीय रुचिका कुरा सक्दो समेटेको थिएँ । बनिबनाउ समाचार पाएर राससमा आएका पत्रकारको रिस मत्थर भयो ।

दिल्ली विमानस्थलमा पुगेपछि बीपीले पत्रकारहरूसँग ‘राजाले उपचारका लागि अमेरिका पठाएकोमा धन्यवाद दिन्छु’ भनेछन् । राससको मैले तयार पारेको समाचारमा दिल्लीकोे एउटा प्याराग्राफ थपिएपछि पूर्ण समाचार बन्यो । बीपीलाई भेट्ने मेरो हुटहुटीले त्यसबेला राम्रो समाचार बन्यो, जनताका नेताबारे सबैले थाहा पाए । त्यसले मेरो उचाइ पनि बढायो ।

गुरुहरूले भने अनुसार, बुद्धि नघोटेको भए मैले बीपीलाई अमेरिका जानुअघि कहाँ भेट्न पाउनु ! र, आम मानिसलाई त्यसको जानकारी कसरी दिनु ! मेरो अनुमानमा बीपीलाई भेट्न मैले गरेको तर्क ‘विश्वेश्वरले राजालाई धन्यवाद दिन्छु भन्छन कि !’ सुन्नासाथ अञ्चलाधीशले गोप्य कोठाबाट दरबारमा रिपोर्ट गरे । दरबारका भारदारहरू आफैंले निर्णय गरे कि राजाको कानसम्म पुर्‍याए, त्यो चाहिँ थाहा भएन ।

पत्रकारिता गर्दा सधैं कौतूहलता हुनुपर्छ । तर, यस्ता दुर्लभ क्षण भने सधैँ जुर्दैनन् । पत्रकार हुनुको आकर्षण यस्ता घटनाले झन् बढाउँछन् । त्यस दिन बीपीलाई भेट्न मैले बुद्धि घोटेर निकालेको ऊर्जा सम्झँदा अहिले पनि गर्व लाग्छ ।

प्रतिकृया दिनुहोस