टिप्पणीबिहिवार, आश्विन १८, २०७५

प्रदेश–२ मा जडीबुटी उद्योगको सम्भावना

हिमालखबर

कृष्णलाल कर्ण

पछिल्लो समय तराईका जिल्लामा जडीबुटी खेती र प्रशोधनबाट युवा तथा विपन्न महिलाहरूले फाइदा लिन थालेका छन् ।

देश संघीय संरचनामा गएसँगै विकासप्रति नागरिकको आकांक्षा ह्वात्तै बढेको छ । सरकारले आर्थिक समृद्धिको कुरा गरिरहँदा युवा जमातको आकांक्षा पनि त्यसभन्दा पर छैन । उनीहरू जागिर भन्दा पनि व्यावसायिक उद्यम गर्न इच्छुक देखिन्छन् ।

अहिले धेरै युवाले गाउँ तथा नगरभित्र उपलब्ध स्रोत र साधन प्रयोग गरी व्यवसाय अघि बढाइरहेका छन् । तराईका जिल्लाबाट खाडी मुलुक जाने लस्करलाई एक छेउमा राखेर हेर्ने हो भने व्यावसायिक जीवन अँगाल्नेहरू पनि बढ्दै गएका देखिन्छन् ।

सर्लाहीको बरहथवा नगरपालिकाका आत्माराम राय (३२) ले जडीबुटी प्रशोधन उद्योगबाट वार्षिक रु.५ लाखसम्म आम्दानी गर्दै आएका छन् । जडीबुटीका लागि हिमाली तथा पहाडी क्षेत्र प्रख्यात भए पनि पछिल्लो समय तराईमै कतिपयले भूबनोट अनुसारको जडीबुटी खेती गरी आयआर्जन सम्भव बनाएका छन् ।

६ वटा उद्योग स्थापना गराई १५० जनालाई रोजगार प्रदान गरेका आत्माराम ।

आत्मारामले रु.२ लाख ५० हजारमा उद्योग स्थापना गरेर अरूलाई पनि यस्तो उद्यममा सघाउँदै आएका छन् । उनले परामर्श र तालिमसँगै गरीब महिलाहरूलाई लगानी समेत गरिदिएर उद्योग स्थापनाका लागि प्रोत्साहन गर्दै आएका छन् । त्यस्ता उद्योगबाट उत्पादित जडीबुटी एवं तेल संकलन गरी बजारमा बिक्री गर्न समेत उनी सघाउँछन् । 

सर्लाहीकै फेकनी राम महिला उद्यमीको रूपमा चर्चित छिन् । उनले पनि रु.२ लाख ५० हजार लागतमा जडीबुटी उद्योग स्थापना गरी प्रत्यक्ष रूपमा सात जना महिलालाई रोजगार प्रदान गरेकी छिन् । उनको उद्योगमा ज्यालादारी काम गर्ने महिलाले मासिक रु.१२ हजारसम्म कमाउँछन् । फेकनी राम जस्तै नैनकुमारी मालिन र महालक्ष्मी चौधरी पनि उद्यमी बनेका छन् ।

उता, महोत्तरीको गौशाला निगौलकी अञ्जली बछार सानो लगानीमा उद्यमी बन्ने सपना साकार भएको बताउँछिन् । गाउँमा रहेको उनको जडीबुटी प्रशोधन गर्ने तीन वटा उद्योगमा ६० परिवारले रोजगारी पाएका छन् ।

पछिल्लो समय प्रदेश–२ अन्तर्गतको सर्लाही र महोत्तरी क्षेत्रका युवाहरू आफ्नो ठाउँलाई जडीबुटीको पकेट क्षेत्रका रूपमा विकास गर्न लागिपरेका छन् । विदेशबाट फर्किएका सहित अन्य युवाहरूले तैलीय मसला, केमोमाइल, लेमनग्रास, सिट्रोनोला, मेन्था, तुलसी लगायत विभिन्न प्रकारका जडीबुटीको खेती गर्न थालेका छन् ।

पहिले भारतबाट जडीबुटीको तेल प्रशोधन प्रविधि खरीद गर्दा महँगो पर्ने भएकोले ठूला लगानीकर्ताले मात्र जडीबुटी उद्योग स्थापना गर्थे । तर, बाराको सिमरास्थित सिद्धबाबा इन्जिनियरिङ वर्कशपले रु.२ लाख लागतमै यस्तो प्रविधिको विकास गरेपछि साना लगानीकर्ता पनि उद्योगी बनिरहेका छन् । वर्कशपका प्रोप्राइटर हरिशंकर ठाकुरका अनुसार प्रविधि स्थानीयस्तरमै उपलब्ध भएकोले गरीब महिला तथा युवाहरूले ४० उद्योग स्थापना गरिसकेका छन् ।

नेपाल हब्र्स तथा हर्बल उत्पादन संघका अध्यक्ष गोविन्द घिमिरे जडीबुटीको विकास तथा प्रवद्र्धनका लागि सरकारले नीति ल्याए पनि ग्रामीणस्तरका युवाहरूले चाहे जस्तो आर्थिक लाभ लिन नसकेको बताउँछन् ।

यसो हुनुमा आधुनिक प्रयोगशाला, जडीबुटी संकलन, उद्योग सञ्चालनमा स्पष्ट सरकारी नीतिको अभाव, पकेट क्षेत्र निर्धारण नहुनु, सिँचाइको अभाव, बजार प्रवद्र्धन तथा प्रशोधन गर्ने प्रविधिको अभाव आदि कारक रहेको उनको भनाइ छ । यसका बाबजूद देशभरिमा जडीबुटी सम्बन्धी २५० भन्दा बढी उद्योग स्थापना भएको र तिनमा रु.६ अर्ब बराबरको लगानी रहेको अनुमान छ ।

जडीबुटी खेती तथा प्रशोधन उद्योगमा युवाहरूको प्रयास हेर्दा देश ग्रामीण अर्थतन्त्रतर्फ उन्मुख भएको झ्ल्को मिल्छ । केन्द्र सरकारले अपनाएको आर्थिक नारा ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रूपमा अनुसरण गरी जडीबुटी तथा कृषिलाई व्यवसायीकरण गर्न अब ढिला गर्नुहुँदैन । मिश्रित हावापानी र बलौटे माटो रहेको प्रदेश–२ मा कृषि उत्पादनलाई वैज्ञानिकीकरण गरी पाँच वर्षमा समृद्धिको सपना साकार गर्न सकिने ठूलो सम्भावना देखिन्छ ।

विश्वबजारमा नेपाली जडीबुटीको मागले पनि आर्थिक विकासका बाटाहरू खुला गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा रु.१ अर्ब २९ करोड बराबरको जडीबुटी निर्यात भएको थियो । विश्वबजारमा पुग्न प्रयासरत युवाहरूले पनि जडीबुटी र कृषिलाई व्यावसायिक अवसरको रूपमा पहिचान गरेमा आर्थिक समृद्धि असम्भव छैन ।

कर्ण हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको इलम परियोजनामा कार्यरत छन् ।

प्रतिकृया दिनुहोस