पाँच वर्षभित्र १४० मेगावाटको तनहुँ जलविद्युत् बनाउन इटालियन र चिनियाँ कम्पनीसँग सम्झौता
१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य गर्न चिनियाँ र इटालियन कम्पनी छानिएका छन् ।
तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन कम्पनी सीएमसी र चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडसँग आज ठेक्का सम्झौता गरेको हो ।
आयोजनाको नदी फर्काउने, बा“ध लगायतका पहिलो प्याकेजका संरचना इटालियन कम्पनी सीएमसीले बनाउने छ भने, चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङ, विद्युत् गृह निर्माण तथा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्नेछ ।
पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीले न्यूनतम प्रस्ताव रकम गरेको र सारभूत रुपमा यो कम्पनी प्रतिस्पर्धी ठहरिएको थियो ।
तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सिएमसीकातर्फबाट आधिकारिक प्रतिनिधि सालभाटोरे कसियारोले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सिएमसीसँग प्रोभिजनल रकम र मूल्य अभिबृद्धि करसहित रु.२० अर्ब ६४ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको छ ।
त्यस्तै, दोस्रो प्याकेजका लागि चिनियाँ कम्पनी सिनो हाइड्रो सारभूत रुपमा तथा न्यूनतम मूल्याङ्कन भित्र रहेको कम्पनीका रुपमा छानिएको हो ।
तनहुँ हाड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक प्रदीपकुमार थिके र सिनो हाइड्रोकातर्फबाट छन् सोएस्याङ्ले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र रु तीन अर्ब ८३ करोड १४ लाख (मूल्य अभिबृद्धि कर बाहेक) मा यो सम्झौता भएको हो ।
दुवै प्याकेज अन्तर्गतको निर्माण कार्य दुई महिनापछि शुरु हुने र सम्पूर्ण निर्माण कार्य सन् २०२३ डिसेम्बरभित्र सक्ने लक्ष्य निर्धारण गरी ठेक्का सम्झौता गरिएको छ ।
प्रबन्ध सञ्चालक थिकेले तनहुँ जलविद्युत् आयोजना कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजना भएको र विद्युत्को लोड व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना भएकाले निर्धारित समयभन्दा अगावै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीहरुलाई आग्रह गरे । निर्माण कम्पनीहरुले आयोजना निर्धारित समयमै सम्पन्न गर्र्ने प्रतिबद्धता जनाएका छन् ।
तनहुँ हाइड्रोपावर लिमिटेडले गत ७ साउनमा बोलपत्रको नतिजा सार्वजनिक गरी छनोट भएका निर्माण कम्पनीलाई कार्यसम्पादन जमानतसहित खरीद सम्झौताका लागि आउन पत्राचार गरेको थियो ।
पहिलो प्याकेज निर्माणका लागि पूर्व योग्यतामा छनोट भएका पाँच कम्पनीहरुमध्ये तीन वटाले र दोस्रो प्याकेजका लागि पूर्व योग्यतामा छनोट भएका तीन वटा कम्पनीमध्ये दुई वटाले बोलपत्र पेश गरेका थिए ।
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गर्न निर्माण कम्पनी छनोटका लागि बोलपत्रको मुल्याङ्कन भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत खरीद–बिक्री सम्झौता सम्पन्न भइसकेको छ ।
आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर (प्रशारण लाइन, ग्रामीण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ ।
यसमध्ये एशियाली विकास ब्यांकक (एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट ब्यांक (इआइबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।