नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटन शुल्क
भक्तपुर र काभ्रेको सिमानामा पर्ने पर्यटकीयस्थल नगरकोट जाने बाह्य देशका पर्यटकले अब दोहोरो कर तिर्नुपर्ने भएको छ ।
भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच समन्वय नहुँदा दुवै नगरपालिकाले आ–आफ्नो तर्फबाट पर्यटन शुल्क उठाउने भएपछि दोहोरो कर तिर्नुपर्ने भएको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाले आव ०७४/०७५ मा रु ५१ लाखमा नगरकोट जाने पयर्टकसँग प्रवेश शुल्क उठाउन ठेक्कामा दिएपछि दुई नगरपालिकाबीच पर्यटन शुल्कका विषयमा विवाद हुँदै आएको थियो ।
चाँगुनारायण नगरपालिकाले आव २०७५/०७६ को लागि रु तीन करोड २५ लाखमा ठेक्का दिएपछि चाँगुनारायण नगरपालिका–६ तेलकोट र वडा नम्बर ८ को कलमसीमा बसेर पर्यटकसँग शुल्क लिँदै आएको छन् ।
जसमा विश्वसम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर जानेबाटोमा समेत ठेकेदारले शुल्क उठाइरहेका छन् ।
यसबारेमा चाँगुनारायणका नगरप्रमुख सोम मिश्रले नगरकोटको विकासमा दुई नगरपालिकाबीच समन्वय गरेर अघि बढ्ने बताउँदै पर्यटकलाई दोहोरो करको मारमा नपार्ने व्यवस्थाका लागि छलफल भइरहेको बताए ।
यता काभ्रेको मण्डन देउपुर नगरपालिकाले पनि चालू आवबाट नगरकोट जाने पर्यटकसँग प्रवेश शुल्क लिने सूचना जारी गरेको छ । नगरपालिकाले २०७५÷०७६ का लागि नगरपालिकाअन्तर्गत नगरकोट क्षेत्रभित्रका काभ्रेचोक, भ्यूटावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकसँग प्रवेश शुल्क उठाउने ठेक्का आह्वान गरेको छ ।
उक्त सूचनामा बोलपत्र स्वीकृत भएका फर्म वा कम्पनीले सार्क राष्ट्रबाहेकका विदेशी पर्यटकसँग प्रति रु ३०० र सार्क राष्ट्रभित्रका रु २०० (कर बाहेक) प्रति पर्यटक प्रवेश सेवा शुल्क उठाउन पाउने छन् । चाँगुनारायण नगरपालिकाले ठेक्का दिएको ठेकेदारले पनि सोही दरमा शुल्क उठाइरहेको छ ।
काभ्रेको मण्डन देउपुर नगरपालिकाका नगरप्रमुख टोकबहादुर वाइवाले भूगोलको हिसाबले नगरकोट आउने ८० प्रतिशत पर्यटक काभ्रे मण्डन देउपुर प्रवेश गर्ने बताउँदै नगरकोटमा बसपार्क निर्माण, सार्वजनिक शौचालय निर्माण र अन्य पूर्वाधार विकासका लागि दुवै नगरपालिकाले लगानी गर्नभन्दा चाँगुनारायणले नमानेको बताए । रासस