कला/साहित्यशनिवार, आश्विन १३, २०७५

मौलिक परिकथा

सेवा भट्टराई

प्रायः विदेशी लेखकका नाटक प्रदर्शन भइरहने अनामनगरस्थित मण्डला थिएटरमा अहिले मौलिक नेपाली लोक नाटक जालिनी प्रदर्शन भइरहेको छ ।

मदन पुरस्कार गुठीले २०७४ का उत्कृष्ट कृतिमध्ये छनोट गरेको ध्रुवसत्य परियारको कथा संग्रहमा कैरनमा संग्रहित जालिनीले समसामयिक सामाजिक, राजनीतिक सन्देश बोकेको छ । समावेशीकरणलाई मूल मुद्दा बनाएको जालिनीलाई निर्देशक दयाहाङ राईले मञ्चमा उतारेका हुन् ।

नाटकमा एक दम्भी राजा छ । राजकुमारीले जुन पुरुषको चित्र बनाउँछिन्, उसको नाम इतिहासमा लेखिने ज्योतिषीको भविष्यवाणी सुनेपछि राजाले आफ्नी छोरीलाई नजरबन्द पारेको छ । ऊ चाहन्छ, राजकुमारीले आफ्नै चित्र बनाऊन् र इतिहासमा अमर हुन् पाइयोस् ।

राजकुमारीको कथा मनभित्र गढ्छ । गौतम बुद्धलाई पनि संसारको दुःख नदेखून् भनेर दरबारको चौघेरो नाघ्न दिइएको थिएन । तर, नदेखिएकोप्रति अचम्मको मोह हुँदोरहेछ ।

नाटक जालिनीले महिलालाई घरभित्रै राख्ने प्रथाले कसरी उनीहरूलाई अधिनस्थ बनाइन्छ र समाजमा दोस्रो दर्जा दिइन्छ भन्ने वर्णन गरेको छ । यो कैद तोड्न जालिनी सफल होलिन् त ? यसको उत्तरका लागि तपाईं मण्डला थियटरसम्म पुग्नैपर्छ ।

ऐतिहासिक राजनेता बन्ने अभिलाषाले जीर्ण बनेका राजाले जालिनीको शरीर मात्रै होइन, उनको मन, मस्तिष्क र यौवनलाई नै कैद गर्छन् । सत्ता र शक्तिप्रतिको मोहमा राजाले जालिनीलाई नजरबन्दमा राख्नु विम्बात्मक देखिन्छ । वास्तवमा जालिनी राजकुमारी मात्रै नभएर आम महिलाकै प्रतीक हुन् ।

नाटकमा जालिनी दरबार निर्माणका लागि राज्यका ‘असल नागरिक’ ले श्रम गरिरहेको दृश्य बडो सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । जलजला नाम गरेकी महिलाले अन्यायविरुद्ध बोलेको दृश्य मार्मिक लाग्छ । आफूले कहिल्यै नदेखेको संसारमा जालिनी पुगेपछि ‘प्लट’ गहिरिंदै जान्छ ।

जनताको पीडालाई बेवास्ता गर्दै महान् बन्न खोज्ने राजाको हर्कत अहिलेका स्वेच्छाचारी शासक जस्तै लाग्छ । दरबारका भित्तामा गरीब जनताका तस्वीर सजाएर गर्व गर्ने राजाले उनीहरूको उत्थानका लागि केही गरेजस्तो ठान्छ । समावेशिताका लागि नेपालका नेताहरूको ओठे प्रतिबद्धताप्रति यसले सटीक व्यंग्य गरेको छ ।

प्रशस्तै मनोरञ्जन प्रदान गर्ने नाटकले जातीय र लैंगिक विभेदप्रति दर्शकहरूको ध्यानाकर्षण गराउँछ । परिस्थिति अनुसार परिवर्तन भइरहने सांगीतिक ध्वनिले दर्शकलाई बाँध्छ । तर, कथाको अन्त्य केही फितलो लाग्छ, केही रहस्यहरू अन्त्यसम्म समाधान हुँदैनन्, मुख्य भूमिकामा नरहेको प्रधानमन्त्री पात्रले मूलकथालाई कति पनि सघाउँदैन ।

राजाको भूमिकामा देखिएका विजय बरालको हास्य अभिनय उम्दा छ । नाटकबाट अभिनय शुरु गरेका फिल्म अभिनेता दयाहाङ राई फेरि नाटकघरमा आइपुगेका छन् । उनले कथालाई बढी राजनीतिक र उपदेशात्मक बन्न नदिई राम्रो काम गरेका छन् । परियारको परिकथालाई अहिलेको कुटिल दुनियाँमा आशावादी रंग दिन निर्देशक दयाहाङ राई धेरै हदसम्म सफल भएका छन् ।

प्रतिकृया दिनुहोस