तस्करी रोक्न सशस्त्र प्रहरी परिचालन
प्रदेश १ को सशस्त्र प्रहरी कार्यालयले गत वर्षकाे तुलनामा धेरै गुणाले तस्करी बढेपछि नियन्त्रणमा कडाइ गर्न थालेकाे छ।
यस वर्ष अघिल्लो वर्षको तुलनामा धेरै चार गुणाभन्दा बढी तस्करीका सामान पक्राउ परेका छन् । सशस्त्रको प्रदेश कार्यालय बराह बाहिनी पकली सुनसरीका अनुसार, गत वर्ष बैशाखदेखि भदौसम्ममा रु ८८ लाख ९५ हजार बराबरको सामान पक्राउ गरिएकोमा यस वर्ष सोही ५ महिनाको अवधिमा रु ३ करोड ८८ लाख २० हजार बराबरको भन्सारछलीका सामान बरामद भएको छ ।
सशस्त्रले झापा, मोरङ र सुनसरीका सीमावर्ति क्षेत्रबाट भंसार छलीका सामान बढी जफत गरिएको छ । गत भदौमा रु १ करोड १८ लाख, साउनमा रु ७८ लाख १४ हजार, असारमा रु ८६ लाख २२ हजार, जेठमा रु ७६ लाख ७६ हजार र वैशाखमा रु ४५ लाख २५ हजार मुल्य बराबरको सामान पक्राउ गरी भन्सारमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्रका प्रदेश प्रमुख डीआईजी मन्दीप श्रेष्ठले सशस्त्र प्रहरीलाई सीमा केन्द्रीत गरेर चोरी तस्करीमा कडाई गरिएको बताए। सशस्त्रको पोस्ट नेपाल–भारत सीमाबाट ५ किलोमिटर टाढासम्म रहेकाले चोरी तस्करीका सामान बरामद गर्न त्यत्ति सहज नभएको उनको भनाइ छ । सशस्त्रले प्रदेशका सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मी र पोष्ट बढाउने भएको छ ।
– कमल रिमाल