टिप्पणीशनिवार, आश्विन १३, २०७५

शंखेकीरा अनुसन्धान

हिमालखबर

कमल मादेन

जीवजन्तु विज्ञ डा. प्रेम बुढाको अगुवाइमा अनुसन्धाताहरूले नेपालका विभिन्न स्थानमा अध्ययन गरेर भेटेका १६ प्रजातिका शंखेकीरा मध्ये सात प्रजाति विश्वकै लागि नयाँ हुन् ।

तस्वीरहरुः प्रेम बुढा

जीवजन्तु पहिचान सम्बन्धी अध्ययन–अनुसन्धान गर्ने नेपाली विज्ञ धेरै छन् । उनीहरूमध्ये वरिष्ठ अनुसन्धानकर्मीका रूपमा चिनिने केही विज्ञको दिनचर्या व्यस्ततामै बितेको देखिन्छ । तर, जन्तु विज्ञानको क्षेत्रमा उनीहरूबाट के–कति योगदान भयो भनेर हेर्ने हो भने स्थिति टिठलाग्दो छ ।

किनभने नेपालमा पाइने स्तनधारी, पक्षी, सरीसृप, मत्स्य, उभयचर, कीटपतंगबारे जति पनि तथ्यांक भेटिन्छन्, ती सबैजसो विदेशीका खोज तथा अनुसन्धानमा आधारित हुन् । यस्तो हुनुको कारण नेपालमा जन्तु विशेषको पहिचान, वर्गीकरण र नामकरण गर्ने विज्ञको अभावले हो ।

यद्यपि सरीसृप वर्ग अन्तर्गत छेपारो समूहमा प्रा. करणबहादुर शाहको योगदान महत्वपूर्ण छ । शाह र जर्मनीका सर्पविज्ञहरूले नेपालमा विश्वका निम्ति आधा दर्जन जति नयाँ छेपारा पत्ता लगाएका छन् ।

यस्तै, डा. प्रेम बुढाले शंखेकीरा पहिचानमा विद्यावारिधि गरेका हुन् । उनले शंखेकीराको वर्गीकरण, पहिचान र नामकरण अर्थात् ‘एनिमल ट्याक्सोनोमी’ मा उल्लेख्य काम गरिरहेका छन् । विशुद्ध ‘एनिमल ट्याक्सोनोमी’ मा मात्रै काम गर्ने उनी नेपालका एक्ला विज्ञ हुन् । बुढाले १६ प्रजातिका शंखेकीरा पहिचान गरेका छन् ।

यसै सन्दर्भमा यो पंक्तिकारले लेखेको ‘शंखेकीराका नयाँ प्रजाति’ शीर्षकको लेख हिमाल मा प्रकाशित छ । त्यस लेखमा बुढा र उनका दुई सहकर्मीले संयुक्त रूपमा विश्वको निम्ति ६ प्रजातिका नयाँ शंखेकीरा पत्ता लगाएको विवरण समावेश छ ।

डा. बुढा प्रमुख लेखक रहेको एक अर्को अनुसन्धानात्मक लेख ‘युरोपियन जर्नल अफ ट्याक्सोनोमी’ को अंक ३३७ मा गत वर्ष प्रकाशित भएको छ । ‘द जिनस डिप्लोमाटिना बेन्सन, १८४९ इन नेपाल, विथ द डिस्क्रिप्सन अफ सेभेन न्यु स्पेसिस्’ शीर्षकको उक्त लेख प्रेम बुढा, फ्रेड नाग्स र थियरी ब्याकेजाले दशकौ लामो अनुसन्धानका आधारमा लेखेका हुन् ।

लेखमा नेपालमा पाइएका १६ प्रजातिका नयाँ शंखेकीराको नालीबेली समेटिएको छ । तीमध्ये सात प्रजाति उनीहरूले पत्ता लगाएका हुन् । बाँकी नौ प्रजाति नेपालका निम्ति मात्र नयाँ हुन् । उल्लिखित लेखको शीर्षकमा ‘डिप्लोमाटिना’ पछिको ‘बेन्सन १८४९’ ले उक्त जाति विलियम हेन्नरी बेन्सनले सन् १८४९ मा पत्ता लगाएको भन्ने जनाउँछ । यस लेखमा तिनै नयाँ सात प्रजातिका शंखेकीराबारे चर्चा गरिंदैछ ।

डिप्लोमाटिना
शंखेकीरा वर्गको जमीनमा रहने जातिमध्ये एक जातिलाई ‘डिप्लोमाटिना’ भनिन्छ । अत्यन्त सानो आकारको हुने डिप्लोमाटिना मूलतः एशिया महादेशमा पाइन्छ । अनुसन्धानका क्रममा यो जातिको शंखेकीरालाई माटो तथा बालुवाबाट छुट्याउन पीठो चाल्ने जाली जस्तो सामग्री प्रयोग गरिन्छ । उक्त सामग्रीलाई सिभ (Sieve) वा सिफ्टर (Sifter) भनिन्छ ।

त्यसपछि तिनीहरूलाई सुरक्षित रूपमा जोगाएर अनुसन्धान केन्द्रसम्म पुर्‍याइन्छ । कनिका आकारका हुने यो जातिको शंखेकीराका विविध प्रजाति हुन्छन् । खपटाको आकार सानो र आकृति उस्तै–उस्तै हुने भएकाले अनुसन्धान गर्न सजिलो पक्कै भएन । मूलतः स्थायी रूपमा देखिने सानातिना भिन्नता केलाएर अध्ययन गरिने बताइएको छ ।

यसका साथै तिनका आन्तरिक संरचनाको सूक्ष्म अध्ययनबाट तिनीहरू भिन्दाभिन्दै हुन् भन्ने पहिचान गरिएको जनाइएको छ । पहिचान गर्न इलेक्ट्रोनिक माइक्रोस्कोपबाट खिचिएको तस्वीरलाई सूक्ष्म रूपमा थप विश्लेषण गरियो । उल्लिखित नमूनाहरू त्रिभुवन विश्वविद्यालय केन्द्रीय जन्तु विभागमा संग्रह गरिएका छन् । इलेक्ट्रोनिक माइक्रोस्कोप नेपालमा नभएकोले यस्तो अध्ययन–अनुसन्धान यहाँ सम्भव छैन ।

स्थान–नामबाट नामकरण
डा. प्रेम बुढाले सन् २००६ मा ललितपुरको गोदावरीबाट शंखेकीराको ‘डिप्लोमाटिना’ जाति अन्तर्गतको नचिनिएको प्रजातिको केही नमूना संकलन गरेका थिए । उनले उक्त नमूनालाई फ्रेड नाग्सको सहकार्यमा विश्वको निम्ति नयाँ हो भन्ने पत्ता लगाए ।

प्रयोगशालामा डा. प्रेम बुढा ।

उनीहरूले त्यो प्रजातिलाई ‘डिप्लोमाटिना गोदाबरेन्सिस्’ नामकरण गरी सविस्तार व्याख्या गरे । यो प्रजातिको नमूना ३.२ देखि ३.५ मिलिमिटरसम्म लामो र १.७ देखि १.८ मिलिमिटर चौडा छन् ।

‘डिप्लोमाटिना गोदाबरेन्सिस्’ को होलोटाइप अर्थात् विवरण तयार पार्दा प्रयोग गरिएको प्रमुख नमूनालाई सिडिजेडटियु–०३३ कोड नम्बर दिइएको छ । त्रिभुवन विश्वविद्यालयको सेन्ट्रल डिपार्टमेन्ट अफ जुलोजीको छोटकरी रूप सिडिजेडटियु हो । यसैगरी, सन् २०१० मा इलामको माईपोखरीबाट ‘डिप्लोमाटिना’ जाति अन्तर्गत एक अर्कै प्रजातिको केही नमूना संकलन गरिएको थियो ।

बुढा र फ्रेड नाग्सले संयुक्त रूपमा काम गर्दा त्यो नमूना विश्वको निम्ति नयाँ हो भन्ने पत्ता लाग्यो । उक्त नमूनालाई उनीहरूले ‘डिप्लोमाटिना माईपोखरेन्सिस्’ नाम दिई व्याख्या गरे । यो प्रजातिको नमूना २.४ देखि २.५ मिलिमिटरसम्म लामो र १.१ देखि १.२ मिलिमिटर चौडा छन् । यसका नमूनालाई सिडिजेडटियु–०३५ कोड नम्बर दिइएको छ ।

सन् २००८ मा काठमाडौंस्थित शिवपुरीबाट ‘डिप्लोमाटिना’ जाति अन्तर्गत अर्को प्रजातिको नमूना संकलन गरिएको थियो । बुढा र थियरी ब्याकेजाले उक्त नमूना विज्ञान जगतको निम्ति नयाँ हो भन्ने पत्ता लगाई त्यसलाई ‘डिप्लोमाटिना शिवपुरेन्सिस्’ नामकरण गरी व्याख्या गरे । यो प्रजातिको नमूना २.५ देखि ३.० मिलिमिटरसम्म लामो र १.२ देखि १.३ मिलिमिटर चौडा छन् । यसलाई कोड नम्बर सिडिजेडटियु–०४८ दिइएको छ ।

सन् २००८ मा लाङटाङ राष्ट्रिय निकुञ्जस्थित स्याब्रुबेसी र धुन्चेबाट संकलन गरिएको एक अर्को नमूनालाई बुढा र थियरी ब्याकेजाले ‘डिप्लोमाटिना स्याब्रुबेसिन्सिस्’ नामकरण दिई व्याख्या गरे । यो प्रजातिको नमूना २.९ देखि ३.२ मिलिमिटरसम्म लामो र १.४ देखि १.५ मिलिमिटर चौडा छन् । तिनका कोड नम्बर सिडिजेडटियु–०५१ र सिडिजेडटियु–०५२ हुन् ।

वनबाट नामकरण
सन् २००८ मा तनहुँ जिल्लास्थित सिद्ध ओडार नजिक सालघारीमा संकलन गरिएको नमूनालाई बुढा र थियरी ब्याकेजाले शंखेकीराको नयाँ प्रजाति भन्ने पत्ता लगाए, जसको नाम ‘डिप्लोमाटिना सालघारिका’ राखियो । यो प्रजातिको नमूना २.८ देखि ३.१ मिलिमिटरसम्म लामो र १.५ देखि १.६ मिलिमिटर चौडा छन् ।

नमूनालाई कोड नम्बर क्रमशः सिडिजेडटियु–०४७ र सिडिजेडटियु–०४७ बी दिइएको छ । यसैगरी, सन् २००७ मा लाङटाङ राष्ट्रिय निकुञ्जस्थित चोलाङपाटीको ढ्यांग्रे सल्लो (एबिज फोरेस्ट) बाट संकलित अर्को नमूनालाई बुढा र फ्रेड नाग्सले ‘डिप्लोमाटिना एबिसिसियना’ नाम दिएर व्याख्या गरेका छन् । यो प्रजातिको नमूना २.७ देखि २.९ मिलिमिटरसम्म लामो र १.४ देखि १.५ मिलिमिटर चौडा छन् । यसको नमूनालाई सिडिजेडटियु–०२० कोड नम्बर दिइएको छ ।

आकारमा नामकरण
सन् २००७ र २००८ मा संकलित एक प्रजातिको नमूनालाई डा. बुढा र फ्रेड नाग्सले शंखेकीरा खपटाको आकार ट्यूबजस्तो भएकाले ‘डिप्लोमाटिना फिस्टुला’ नाम दिए । यो प्रजाति ललितपुरस्थित फुल्चोकी डाँडा, काठमाडौंको शिवपुरी र रसुवाको धुन्चेबाट संकलन गरिएका थिए । यो प्रजातिको नमूना ३.० देखि ३.३ मिलिमिटरसम्म लामो र १.५ देखि १.८ मिलिमिटर चौडा छन् । यसको नमूनालाई सिडिजेडटियु–०२५ र सिडिजेडटियु–०२६ र सिडिजेडटियु–०२७ कोड नम्बर दिइएका छन् ।

प्रेम बुढाले विश्वको निम्ति नयाँ नमूना नेपालमै संग्रह गरेर विज्ञान जगतमा गतिलो काम गरेका छन् । नेपालीले गरेको यो अनुसन्धानले विदेशी अनुसन्धानकर्ताको निम्ति निकै महत्व राख्छ । यसभन्दा अगाडि नेपालबाट पत्ता लगाइएका नयाँ प्रजातिका नमूनाहरू सबै विदेशमा संग्रह गरिएका छन् । तिनबारे कसैले अध्ययन गर्नुपर्ने भयो भने त्यहीं जानुपर्ने हुन्छ ।

डा. बुढाले पत्ता लगाएका नमूना बारे कुनै विदेशीले थप अध्ययन गर्नुपरेमा नेपाल आउनुपर्ने हुन्छ । नेपालमा यस्ता नमूना त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जन्तु विभागमा बाहेक अन्यत्र संग्रह गरिएको छैन । राष्ट्रिय प्राकृतिक संग्रहालय, स्वयम्भूमा जन्तुका नमूनाहरू संग्रहित भए पनि एउटा पनि होलोटाइप छैन । उक्त संग्रहालयमा संग्रहित नमूना पर्यटकलाई मनोरञ्जन दिलाउन मात्र उपयोग हुन्छ ।

विज्ञान जगतमा नयाँ कुरा पत्ता लगाउनु भनेको चाहे हात्ती जत्रो जनावर होस् वा कुनै कीरा, दुवैले समान अर्थ राख्छ । डा. बुढाले नेपालबाट विश्वकै निम्ति शंखेकीराहरू पत्ता लगाए । जुन अत्यन्त सराहनीय छ ।

प्रतिकृया दिनुहोस