दस्तावेजशनिवार, आश्विन १३, २०७५

दुई दामको उपति छैन चार दामको खति

ज्ञानमणि नेपाल

खम्पा र नेवारको झगडा शुरू हुनेवित्तिकै नेवार नाइकेले ‘खम्पा छान्दुवाले अन्याय गर्‍यो, आसामी नेवारलाई कुटेर मरणासन्न पार्‍यो, यो मुद्दा मिलाइदिनुहोस्’ भनेर निहोरा गर्दा पनि कास्याल काजी चूप बसे भनेर नेपाल सरकार असन्तुष्टै भयो, जंगबहादुर पनि रुष्टै रहे।

जंगबहादुर राणा ।

सं. १८४९ मा नेपाल–भोट युद्धमा भोटको सहायताको लागि चिनियाँ सेनापति केही सैनिक साथ आएका थिए । पहिले सं. १८४६ को युद्धमा आएका चिनियाँ सेनापतिले जस्तै दुवै थरीका कुरा सुनेर मिलापत्र गराइदेलान् भन्ने आशामा नेपाल सरकार थियो । तर टुग्थ्वाङ मेलमिलाप गराउनेतर्फ नलागी भोटकै पक्षमा लड्न लागे ।

युद्ध भयङ्कर भयो । आखिर दुवैतर्फको क्षय–व्यय भएपछि मेलमिलाप भयो । चिनियाँ सेनापतिले नेपाल भोट तिब्बतमा भएका सबै समस्याको समाधान गर्ने प्रयत्न गरे । नेपालले शुरूदेखि नै भोटका लागि टक ढालिदिन्थ्यो । अब स्वयं चीनले नै टक ढालिदिने भयो । धेरैतिर तलमाथि परेको नेपाल भोट सिमानाको निरुपण गरिदिए ।

नेपाल र भोटको बीचमा ठूलो व्यापारिक सम्बन्ध थियो । नेपालको पूर्वदेखि पश्चिमसम्मका सबै सीमामा दैनिक उपभोगका बस्तु जस्तै; उताबाट विशेषगरी नून, ऊन, ऊनबाट उत्पादित वस्तु आउँथे । यताबाट जाने च्यूरा, चामल आदि खाद्य पदार्थ हुन्थे । कोठीका नेपाली महाजनले सामान्य हातको कोसेली सिसार बाहेक तिर्नु पर्दैनथ्यो । भोटले भने केही दस्तुर तिर्दथ्यो । साविक दरसाविक चलिआएको परम्परामा चिनियाँ अधिकारी ल्हासास्थित अम्बा पनि हात हाल्दैनथे । 

सर्वेसर्वा शासक भीमसेन थापा राजनीतिमा कच्चै हुँदा षाडगुण्य खेल्न त परै जाओस्, अघिका शासक पृथ्वीनारायणले चालेको रणनीतिसम्म नबुझ्ेकाले आफूभन्दा बलियो वैरीसँग मूढेबलले जुध्दा नराम्रोसँग हार खाए । नेपाली भारदार मात्र होइन जनता पनि पीडित भए । सत्तरी वर्ष लगाएर जोडेको जमीन गुम्दा सबैको मनमस्तिष्कमा ठूलै चोट परेको थियो ।

भोटको अर्घेल्याईं दिनपर दिन बढिरहेकै थियो । भीमसेन थापा ‘अब म चीनसँग सहायता लिएर पुनः अंग्रेजसँग लडेर गुमेको जमीन फिर्ता ल्याउँछु’ भनेर कस्सिएका थिए । आखिर मेलमिलाप गर्‍यो, सम्झैता गर्‍यो, फेरि उस्ताको उस्तै विवाद बढिरहन्थे ।

भीमसेन थापाको सेखपछिका कुनै पनि मुख्तियारले थापाको नीति अनुसरण गर्दा सफल भएनन् । कोतपर्वपछि जंगबहादुर कुवर राणा एकछत्र शासन गर्ने सर्वेसर्वा प्राइमिनिष्टर भएर चम्किए । नेपालको परराष्ट्र नीति पनि बदलियो । जंगबहादुरले अंगे्रजसँग जुध्ने पनि होइन, निहुरिने पनि होइन भन्ने द्वैध नीति लिए ।

त्यसबेला अंग्रेज साम्राज्य विश्वव्यापी हुँदै थियो । महाशक्ति राष्ट्र चीनसँगको अफिम युद्धमा ब्रिटिशले उसका पूर्वी बन्दरगाह हात पारेको थियो । चीनका केही प्रान्तमा ब्रिटिशको बेपार विस्तार पनि भयो । यता भित्रभित्रै बादशाह विरुद्धमा ताइपिङ्ग विद्रोह मच्चिएको थियो । यसै बेला भोटसँग युद्ध गर्ने औसर परेको छ भन्ने सोचेर राजनीति–चतुर जंगबहादुरले भोटका बत्तीस वटा अधिकारीका अर्घेल्याईं उधिनेर चीन वादशाहकहाँ पुर्‍याए ।

ताइपिङ्ग विद्रोहलाई गोरखाली सैनिकले तह लगाउन सक्छन् भनेर अम्बा मार्फत परवाना पठाएका थिए । ‘पाँच वर्षको प्रतिनिधिमण्डल चीन जाँदा मात्र वादशाहलाई अर्जी सौगात पठाउने नियम भए पनि नेपालको हृदयैदेखिको वादशाहलाई सहायता गर्ने सौहार्द प्रकट गरेको यो अर्जी पेचिन पठाइदिएका छौं’ भनी अम्बाले नेपाल सरकारलाई सूचना दिए, ब्रिटिशबाट भोटसँग लड्न केही हतियारको माग राखेका थिए ।

भोट युद्ध गर्नुपर्ने आवश्यक कारणको प्रसङ्गमा जंगबहादुरको रणनीति चर्चा गरियो । युद्ध नगरी नहुने तीन–चार मुख्य कारणमा खम्पा नेवार संघर्षको प्रसङ्ग पहिलो थियो । यो यत्ति सानो कारण पनि युद्धका लागि काफी थियो । पछि यस्तै एउटा मुगाको माला किन्दा भोटे र नेवारको बीचमा ठूलो विवाद चर्किएको थियो ।

पसल्नी भोटिनीसँग मुगा मालाको विषयमा झ्गडा उर्लिएर यति ठूलो भयो कि भोटेहरू जम्मै धुरिएर नेवार महाजनका बत्तीस कोठी लुटे । यो खबर पाउनासाथ ‘सामान सबै यथावत् फिर्ता गर्छौ कि लड्छौ’ भनेर नेपालले भन्दा र वास्ता नगर्दा नेपालले युद्धको तर्जुमा गर्‍यो । रसद–पानीको जोहो हुन लाग्यो । युद्ध ऐलान हुने–हुने अवस्थामा भोट सरकारले १२ सालको युद्धको स्थिति सम्झेर लुटिएको सबै माल सुपुर्द गर्ने गरी माफी माग्यो । यसरी यो विवाद टरेको थियो ।

अहिले उठेको यो खम्पा विवादको सानै फिलिङ्गो भए पनि मान्छे मर्ने–मार्नेसम्मको स्थितिमा आइपुगेको थियो । यसमा नेपाल सरकारले चिनियाँ अम्बा, कास्यालका काजीलाई यो मुद्दा मिलाइदिनुहोस् भनेर भन्दा काजीहरूले ‘तिमीहरू नेवार पनि खम्पा पनि हाम्रा रैती होइनौ जे गर्छौ गर’ भनेर पन्सिएकाले यो रडाको मच्चिएको हो ।

‘अब तपाईंहरू उठेर नाइके नेवार खम्पा भोटे काजी चिनियाँ फाफुन राखेर जसको अर्घेलो हो जसले पहिले हात छाडेको हो पुर्पक्ष गरी वाजिव इन्साफ गर्नुहोस्’ भनेर नेपाल सरकारले आग्रह गरेपछि तीन वर्षसम्म लम्बिएको यस कलहमा दुईथरी झ्गडियाको चित्त बुझे पनि नबुझे पनि उपयुक्त नेवार, खम्पाली, भोटे काजी, चिनियाँ अफिसरहरू मिली यस्तो निर्णय सुनाइयो –नेवार खम्पाहरूको झ्गडामा २ खम्पा र १ नेवार मरेकामा जिउको बदला एक जिउ भयो केही तिर्न पर्दैन ।

खम्पाको अर्को जिउको बदला नेवारले ८० टाक दिनू, देवताका स्थानमा एक हजार ठूला बत्ती बालनू, गुम्बाका लामालाई २ फेरा चिया खुवाउनू, चियाको मोल ५० टाक दिनुपर्नेमा पुन सिंलाई पक्रिदा बाँधेपछि कुटेपछि (खम्पा) छ्र्याडवाले तमसुक फिराइ दिनु पर्छ, बाँकी खम्पाका झ्गडामा हराएको टाक ४०४२–२–२ मध्य नेवारले दिएको टाक १३२१ ।६ बाँकी टाक १६११ ।२ छाडुवालाई दिउला भनी कबुल गरे बाँकी टाक २५५९ ।६ मा नेवारको आधा दिनू, छाडुवाले आधा सहनू, अरु जिन्सि माल मोलमा तिन खंडको एकखंड काला मोहर टाक २०० नेवारले छाडुवालाई दिनू, छाडुवाले झगडा नगर्नू, झगडा गर्ने दुवै थरलाई धपाइ दिनू भन्ने वेहोरासँग झ्गडा छिनियो ।

दुई दामको उपति छैन चार दामको खति भनेको यही हो । यस निर्णयमा नेपाल सरकारको असहमति थियो । खम्पा र नेवारको झ्गडा शुरू हुनेवित्तिकै नेवार नाइकेले ‘खम्पा छान्दुवाले अन्याय गर्‍यो, आसामी नेवारलाई कुटेर मरणासन्न पार्‍यो, यो मुद्दा मिलाइदिनुहोस्’ भनेर निहोरा गर्दा पनि कास्याल काजीले तिनका उपरमा केही कुरै उठाएनन्, सजाय त परै जाओस्, नसिहतसम्म दिइएन भनेर नेपाल सरकार असन्तुष्टै भयो, जंगबहादुर पनि रुष्टै रहे ।

प्रतिकृया दिनुहोस