पार्टीमा निर्णय प्रक्रियाप्रति नेकपा नेताहरुको चिन्ता, स्थायी समितिको बैठक बोलाउन माग
पार्टीभित्र संस्थागत निर्णय गर्ने प्रक्रियालाई बेवास्ता गर्दा एकताको काम प्रभावकारी हुननसकेको भन्दै नेकपा स्थायी समिति सदस्यहरुले महत्वपूर्ण निर्णय तथा सरकारको काम–कार्वाहीबारे पार्टीमा संस्थागत छलफल हुनुपर्नेमा जोड दिएका छन् ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले १२ असोजमा काठमाडौंमा आयोजना गरेको चियापन कार्यक्रममा सहभागी स्थायी समिति सदस्यहरुले लामो समयसम्म स्थायी समिति बैठक नबसेको र पार्टीका महत्वपूर्ण निर्णय संस्थागत रुपमा नहुँदा एकता प्रक्रियाले गति लिन नसकेको बताए ।
नेकपा स्थायी समिति सदस्य वेदुराम भुसालले कार्यक्रममा सहभागी स्थायी समिति सदस्यहरुले समितिकोे बैठक चाँडै राख्न पार्टी सचिवालयमा रहेका नेताहरुलाई सुझाव दिएको जानकारी दिए ।
कार्यक्रममा सचिवालयमा रहेका वरिष्ठ नेता नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ समेत सहभागी थिए । त्यस्तै नेकपाका अन्य नेताहरु अग्नी सापकोटा, गिरिराजमणि पोखरेल, गणेश साह, बर्षामान पुन, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे लगायतका नेताहरु पनि सहभागी थिए । ५१ सदस्यीय नेकपा स्थायी समितिमध्ये अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल सहित पाँचजना देश बाहिर छन् ।
चियापान कार्यक्रमको आयोजना गर्नुको उद्देश्यबाट कुराकानीको शुरुवात गरेका वरिष्ठ नेता नेपालले राष्ट्रिय परिस्थितिको बारेमा विश्लेषण सुनाउँदै देशमा सीके राउतजस्ता विखण्डनकारी र नेत्र विक्रम चन्द समूहको सक्रियता बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
सरकारले प्रभावकारी काम गर्न नसक्दा आलोचना बढेको, जनतासामू नेताहरु निरुत्तर हुन थालेको र पार्टी एकताको काम ठप्प भएकाले ‘साथीहरुसँग सरसल्लाहका लागि चिया पान कार्यक्रम राखेको उनले बताएका ।
“भावना साटासाट गर्ने काम भयो, भेला आयोजना गरिएको होइन, साथीहरुलाई चियाखानबोलाउनु भएको हो,” स्थायी समिति सदस्य वेदुराम भुसालले भने ।