वातावरणका नाममा विकास रोक्न मिल्दैनः रवीन्द्र अधिकारी
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले वातावरण संरक्षणका नाममा विकासलाई रोक्न नसकिने बताएका छन् ।
आज विश्व पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा मन्त्री अधिकारीले सरकार वातावरण संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, “निजगढ विमानस्थलका विषयमा उठिरहेका जायज चासो सम्बोधन गर्न सरकार तयार छ । तर, वातावरणकै नाममा विकास रोक्न सकिंदैन ।”
उनले निजगढ विमानस्थल सात वर्षमा निर्माण सम्पन्न गर्ने गरि मन्त्रालयले गृहकार्य गरिरहेको पनि बताए ।
विश्व पर्यटन संगठनले सन् १९७९ सेप्टेम्बर २७ बाट पर्यटन दिवस मनाउन शुरु गरेको थियो । यस पटकको ३९औं पर्यटन दिवसको नारा ‘डिजिटल ट्रान्सफर्मेशन’ रहेको छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले प्रविधिलाई पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा लगाउनुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डले यो वर्ष २० पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि डिजिटल ट्रान्सफर्मेसन सम्बन्धी कार्यक्रम गर्ने जनाएको छ ।
त्यस्तै बोर्डले पर्यटन दिवसका अवसरमा ‘पर्यटन उद्यमी सिड क्याम्प’ कार्यक्रम सार्वजनिक गरेको छ ।
कार्यक्रम अन्तर्गत २९ असोजभित्र पर्यटनका क्षेत्रमा नविनतम व्यवसायीक योजना नेपाल पर्यटन बोर्डमा पेश गर्नुपर्ने छ ।
बोर्डले उत्कृष्ट २० नविनतम व्यवसायीक योजनालाई लगानीको सुनिश्चितता दिने जनाएको छ ।