रौतहटमा शव दाह गर्ने विषयमा दुई पक्षबीच झडप, प्रहरीद्वारा हवाई फायर
रौतहटको गरुडा नगरपालिका– ९ गम्हरियामा शवको अन्त्येष्टि गर्ने स्थानका बारे भएको विवादले उग्र रुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
स्थानीय रामप्रित सहनीको मृत्युपश्चात गाउँ नजिकैको चानी खोला किनारमा अन्त्येष्टी गर्न थालिएपछि दुई पक्षबीच भएको भिडन्त नियन्त्रणमा लिन प्रहरीले तीन राउण्ड हवाई फायर का साथै १३ राउण्ड अश्रुग्यास प्रहार गरेको हो । भिडन्तका क्रममा ५ जना प्रहरी सहित १० जना घाइते भएका छन् ।
गत साता पनि स्थानीय एक व्यक्तिको मृत्युपछि जलाउने विषयमा दुई पक्षबीच झडप हुँदा प्रहरीले ५ राउन्ड गोली र अश्रु ग्यास प्रहार गरेको थियो ।
गम्हरीया र श्रीपुर गाउँको बीचमा छ, चानी खोला । पहिले चानी खोला किनार खाली रहे पनि अहिले श्रीपुरतर्फको वस्ती वढ्दै खोला किनारसम्म आइपुगेको छ । त्यसैले खोला किनारमै शव दाह गर्दा वस्तीमा बस्नेहरुलाई असहज हुने भन्दै श्रीपुरका वासिन्दाले त्यहाँ दाहसंस्कार नगर्न माग गरिरहेका छन् ।
यस्तो विवाद बढदै गएपछि गत हप्ता दुई गाउँका वासिन्दाबीच भएको बैठकले अर्को निर्णय नभएसम्म नजिकको चानी खोलाको किनारमा दाहसंस्कार नगर्ने सहमति गरेको थियो । तर, उक्त सहमतिको बेवास्ता गर्दै आज १० असोजमा सहनीको शवदाह चानी खोला किनारमै गरिएपछि फेरि विवाद बढेको हो ।
बैठकले खोला किनारमा केही जग्गा किनेर दाहसंस्कारका लागि ठाउँ बनाउने र त्यतिञ्जेल करिब ८ किमी टाढाको बागमती किनार वा पायक पर्ने अरु ठाउँमा दाह संस्कार गर्ने निर्णय समेत गरेको थियो ।
अहिले घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिई दुबै पक्षलाई सम्झाउने प्रयास गरिरहेको छ ।
सञ्जय मित्र, रौतहट