कला/साहित्यबुधवार, आश्विन १०, २०७५

ओस्कारमा भारतबाट असमिया भाषाको फिल्म 'भिलेज रकस्टार्स' ले प्रतिनिधित्व गर्न

हिमालखबर

९१औं एकेडेमी अवार्डको विदेशी भाषाको सर्वश्रेष्ठ फिल्मको लागि प्रतिस्पर्धा गर्न भारतबाट रिमा दासको निर्देशनमा बनेको असमिया भाषाको फिल्म 'भिलेज रकस्टार्स' छनोट गरिएको छ।

फिल्म फेडरेशन अफ इन्डिया (एफएफआई) ले शनिबार यस बारे घोषणा गरेको हो। एफएफआईको ओस्कार पुरस्कार चयन समितिका अध्यक्ष एसवी राजेन्द्रसिंह बाबूले भने, ‘यो मानवीय भावनामा बनेको र शिल्पगत रुपमा सुन्दर फिल्म हो, जुन विश्वभरका मानिसका लागि रुचिकर हुनेछ।  हामी यस्तो फिल्मलाई सम्मान दिइरहेका छौं, जुन ओस्कारको मञ्चमा पुग्न हकदार छ।"

उक्त फिल्मले भारतको राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो। ओस्कार अवार्ड समारोह २४ फेब्रुअरी २०१८ मा आयोजना हुँदैछ।

यो फिल्म असमको छायगाउँमा गरीबीमा हुर्किएकी किशोरी धुनूको कथा हो, जो एक रक ब्याण्ड बनाउने र कुनै दिन आफ्नै इलेक्ट्रोनिक गिटार किन्ने सपना देखिरहन्छिन्। छायगाउँ निर्देशक रिमाको आफ्नै गाउँ हो। फिल्ममा बनीता दास, बसन्ती दास र मानबेन्द्र दास मुख्य भूमिकामा छन्। गत वर्ष नै तयार भइसकेको यो फिल्म यही २८ सेप्टेम्बरमा रिलिज हुँदैछ।

ओस्कारमा भारतको प्रतिनिधित्व गर्न २९ वटा फिल्मको सूची मध्ये 'भिलेज रकस्टार्स' चयनमा परेको हो। सञ्जय लीला भन्सालीको ‘पद्मावत’, आलिया भट्ट अभिनीत ‘राजी’, रानी मुखर्जी अभिनीत ‘हिचकी’, शुजित सरकारको ‘अक्टोबर’, अक्षय कुमारको ‘प्याडम्यान’, अमिताभ बच्चन र ऋषि कपुरको ‘१०२ नट आउट’, डेनी अभिनीत ‘बाइस्कोपवाला’, मनोज वाजपेयी अभिनीत ‘गली गुलियां’ लगायत यो दौडबाट बाहिरिएका छन्।

ओस्कारमा प्रतिस्पर्धाका लागि आफ्नो फिल्म छनोट भएकोमा खुशी हुँदै निर्देशक रिमाले यो फिल्मको चयनले पूर्वोत्तर भारतको फिल्म निर्माताले पहिचान पाएको बताएकी छिन्। उनले भनिन्, ‘म कति खुशी छु भनेर बताउन मसँग धेरै शब्द छैनन्। यो पूर्वोत्तर भारतको लागि निकै ठूलो पहिचान हो र मलाई लाग्छ, ओस्कारका लागि छानिएको यो पहिलो असमिया फिल्म हो। यसैले मलाई यो उपलब्धिले असम क्षेत्रका फिल्मकर्मीमा ठूलो परिवर्तन ल्याउँछ भन्ने लाग्छ।"

उनले अगाडि भनिन्, ‘मलाई सधैं आशावादी थिएँ। म सधैं यस्तो महोत्सव  (ओस्कार) मा जान र पुरस्कार जित्न चाहन्थें। तर, मेरो लागि मानिसहरु यो फिल्मसँग आफैं गाँसिएको महसूस गरुन् भन्ने सबैभन्दा महत्वपूर्ण कुरा हो। यो फिल्ममार्फत मैले सोही प्रकारको भावनात्मक लगाव पाएको छु।"

'भिलेज रकस्टार्स' को वर्ल्ड प्रिमियर गत वर्षको टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा भएको थियो। त्योसहित ७० भन्दा बढी प्रतिष्ठित अन्तर्राष्ट्रिय र राष्ट्रिय फिल्म महोत्सवमा यो फिल्मको प्रदर्शन भइसकेको छ। फिल्मले अहिलेसम्म ४४ वटा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड पाइसकेको छ।

अहिलेसम्म कुनै पनि भारतीय फिल्मले ओस्कार अवार्ड पाएको छैन। विदेशी भाषाको सर्वश्रेष्ठ फिल्मको श्रेणीमा अन्तिम पाँचमा स्थान बनाउने पछिल्लो फिल्म आशुतोष गोवारिकर निर्देशित र आमिर खान अभिनीत ‘लगान’ (२००१) थियो। - एजेन्सी

प्रतिकृया दिनुहोस