टिप्पणीमंगलवार, आश्विन ९, २०७५

गाँजाले गाँजेको नेपाल

शेखर खरेल

गाँजालाई वैधानिक गर्नुपर्छ भन्ने विश्वव्यापी बहस चलिरहेको बेला हामीले यसको जोखिम आकलन गर्दै पर्याप्त वैचारिक मन्थन गर्नु आवश्यक छ ।

गएको साता सार्वजनिक एउटा समाचारले धेरैको ध्यान तान्यो । समाचारको पेटबोली छ, विश्वको ‘सफ्ट ड्रिङ्क’ बजारको सबैभन्दा ठूलो हिस्सेदार कोकाकोला (कोक) कम्पनी समेत गाँजाजन्य पेय पदार्थ उत्पादनमा इच्छुक । चिनी र सोडा मिश्रित पेय उत्पादन गर्दै आएको कोक का तर्फबाट जारी विज्ञप्तिमा उसले क्यानडाको वैधानिक गाँजा उत्पादक कम्पनी ओररा क्यानाबिज इन्क सँग मिलेर गाँजामा मौजूद क्यानाविडिअल (सिविडी) तत्व घोलिएको पेय उत्पादनका लागि तयारी गरिरहेको जनाएको छ ।

गाँजाबाटै निकालिए पनि सिविडी नशारहित तत्व भएकाले यो मादक हुँदैन । त्यसैले कोकले निकट भविष्यमा उत्पादन गर्ने लक्ष्य राखेको सिविडीयुक्त पेयलाई ‘वेलनेस ड्रिङ्क’ (स्वास्थ्यबद्र्धक पेय) को दर्जा दिएको छ ।

यस प्रकारका ‘वेलनेस ड्रिङ्क’ डर्टी लेमन, स्प्रिग र किकब्याक जस्ता ब्राण्डमा विश्व बजारमा उपलब्ध छन्, जसको लोकप्रियता बढ्दो छ । यसै कारण कोक चिनी र सोडाको ‘हाइ–क्यालरी ड्रिङ्क’ बाट सिविडीयुक्त ‘वेलनेस ड्रिङ्क’ को बजार विस्तारतर्फ इच्छुक देखिएको हो । 

नेपालमा परम्परादेखि वैधानिक तवरमै उत्पादन, बिक्री र वितरण हुँदै आएको गाँजा र चरेस जस्ता मनोद्दिपक पदार्थ (साइकोट्रोपिक सब्स्ट्यान्स) लाई पश्चिमा मुलुकहरूको दबाबमा अवैध घोषित मात्र गरिएन, यसको उत्पादन र कारोबारमा संलग्नलाई फौजदारी कसुरको भागीदार ठहर गरियो ।

विक्रमाब्दको ३० को दशकसम्म गाँजा नेपाली जनसंख्याको एउटा उल्लेख्य हिस्साको जीवनाधार थियो । साथै, गाँजाको उत्पादनबाट प्राप्त राजस्व सरकारी ढुकुटीमा समेत दाखिल हुन्थ्यो । राणा शासनका बेला गाँजाबाट कुत उठाउन पटवारी नियुक्त गरिन्थ्यो, जुन प्रचलन पञ्चायतकालको पूर्वाद्र्धसम्म कायम रह्यो ।

गाँजा–चरेसको वैधानिक र सहज उपलब्धताका कारण नै नेपाल हिप्पीहरूको ‘स्वर्ग’ रह्यो, सन् ७० को दशकको पूर्वाद्र्धसम्म । तर, पश्चिमी संस्थापना र संस्कृतिको प्रतिरोधमा जुर्मुराएका बिट तथा हिप्पी जस्ता ‘काउण्टर कल्चरल’ समूह गाँजा दुव्र्यसनमा फसेपछि चिन्तित अमेरिका तथा युरोपेली मुलुकहरूले नेपाललाई गाँजा–चरेसको उत्पादन र बिक्रीमा रोक लगाउन दबाब दिए ।

परिणामतः लागूऔषध नियन्त्रण ऐन, २०३३ अनुसार गाँजाजन्य पदार्थलाई समेत लागूऔषधको श्रेणीमा राख्दै नेपालले यसको उत्पादन, बिक्री र वितरणलाई अवैध ठहर गर्‍यो ।

रमाइलो चाहिं, कुनै बेला नेपाललाई गाँजा उत्पादनमा रोक लगाउन दबाब दिने तिनै राष्ट्रहरू आज गाँजालाई किन वैध नगर्ने भन्ने बहसमा उत्रिएका छन् । गाँजा सेवन हेरोइन, कोकिन जस्ता कडा खाले लागूऔषध भन्दा कम हानिकारक हुने र यसको औषधीय उपयोग मानव स्वास्थ्यका लागि हितकारी रहेको ती राष्ट्रहरूको तर्क छ ।

अमेरिकाका कतिपय राज्यले औषधीय प्रयोजनका निम्ति गाँजाको उत्पादन वैध ठहर गरिसकेका छन् । यद्यपि, त्यहाँको संघीय कानूनले गाँजाको उत्पादन र बिक्रीमाथि लगाएको प्रतिबन्ध फुकुवा भने गरिसकेको छैन ।

गाँजाको वैधता छुट्टै बहसको विषय हो । नेपालमा गाँजाको फाइदा वा बेफाइदा बारे तर्क गरिनु भन्दा पनि यसलाई बढी नै ‘रोमान्टिसाइज’ गरिएको पाइन्छ । गाँजाको प्रयोग दुई उद्देश्यले हुँदै आएको छ, औषधीय र आनन्द । औषधीय प्रयोग मानव स्वास्थ्यका लागि हितकारी भएकाले यो उद्देश्यमाथि बन्देज लगाइरहनु पर्दैन ।

विश्वका अब्बल अनुसन्धान केन्द्रहरूले समेत क्यान्सर, स्नायु र मांसपेशी लगायतका रोगको उपचार निम्ति गाँजा रामवाण हुने प्रमाणित नै गरिसकेका छन् । त्यसैले यो उद्देश्य उपर तर्क र आशंका गरिरहनु परेन । तर, जब गाँजालाई मनोद्दिपक पदार्थका रूपमा प्रयोग गरिन्छ, यसमा भने सावधानी अपनाउनु जरूरी छ ।

मनोद्दिपक पदार्थका रूपमा पनि गाँजालाई वैध गर्नुपर्छ भन्नेहरूको सबैभन्दा ठूलो तर्क नै ‘यो हार्ड ड्रग्सको तुलनामा मानव स्वास्थ्यका लागि कम हानिकारक छ’ भन्ने हो । ती तर्क गर्छन्, ‘जति निषेध गर्दागर्दै पनि मानिस हार्ड ड्रग्समा जान्छन् भने उनीहरूलाई किन कम हानिकारक गाँजाको छुट नदिने !’

अमेरिकाका केही राज्य, क्यानडा, नेदरल्याण्ड्स आदि राष्ट्रमा निश्चित मापदण्डभित्र गाँजाको उत्पादन र सेवनलाई छुट दिइएपछि त्यो तर्कको वाछिटा अहिले नेपालमा पनि आइपुगेको छ । तर, यसबारे गम्भीर बहस भने हुनसकेको छैन ।

नेपालमा गाँजालाई वैधता दिने–नदिने बारेको बहस केही कोणबाट गर्न सकिन्छ । पहिलो त, गाँजा स्वास्थ्यका लागि कति (अ) हितकारी छ, त्यसमै बहस गरौं । औषधीय उपचार बाहेक गाँजाको प्रयोग विधि धुवाँ वा सर्को नै हो । चाहे चिलिम होस् वा चुरोट, गाँजाका पातलाई सूर्तीसँग मोलेर धुवाँको रूपमा फोक्सोसम्म पुर्‍याइन्छ ।

यो विधिले सबैभन्दा प्रवद्र्धन गर्ने धूमपान अर्थात् सूर्ती नै हो । निकोटिनका कारण फोक्सो र मुटु सम्बन्धी विभिन्न रोगहरूले यसका प्रयोगकर्तालाई गाँजिरहेको बेला पूरा संसार नै आज धूमपान विरुद्ध लडिरहेको छ ।

धूमपान निरुत्साहित गर्न सार्वजनिक स्थलमा यसको सेवन वर्जित मात्र गरिएको छैन, जनचेतनाका लागि यसका प्याकेटका कम्तीमा पनि दुईतिहाइ भन्दा बढी भाग क्यान्सरका ग्राफिक तस्वीरद्वारा भरिन थालेका छन् । यस्तो वेला गाँजालाई वैधता दिनु भनेको सीधै धूमपानको प्रवद्र्धन हो ।

दोस्रो, हिप्पीयुगदेखि गाँजासँग पर्यटन जोडिंदै आएको छ । गाँजाको वैधतापछि पक्कै पनि संख्यात्मक रूपमा नेपालमा पर्यटन आगमनमा वृद्धि हुनेछ । तर, गुणात्मकता भने हराउनेछ । किनकि, गाँजाका अधिकतर अम्मली भनेका झाेले अर्थात् ब्यागप्याकर्स पर्यटक हुन् ।

पर्यटकको संख्या मात्रले पर्यटन उद्यम फस्टाउँदैन भन्ने एउटा उदाहरण भूटान हो, जहाँ मौसम हेरिकन प्रतिपर्यटक प्रतिरात खर्च २०० देखि २५० अमेरिकी डलर अनिवार्य छ । जबकि, नेपाल संसारकै सस्तो पर्यटकीय गन्तव्य रहँदै आएको छ, जहाँ दैनिक ५ देखि १० डलरसम्ममा पनि गुजारा गर्न सकिन्छ ।

हिजो, नेपालमा पर्यटकका लागि मात्रै भनेर क्यासिनो खोलिंदा धेरै नेपालीको उठिबास भयो । भोलि पर्यटकका लागि मात्र गाँजा वैध भनियो भने के त्यो व्यसन नेपाली तन्नेरीमा नसर्ला त ? पर्यटन सँगसँगै गाँजाको वैधता पछि नेपाल अन्तर्राष्ट्रिय अपराधको सञ्जालमा स्वतः जोडिनेछ ।

तेस्रो र महत्वपूर्ण तर्क, आज समृद्धिको बहस चलिरहेको बेला गाँजा हाम्रो समृद्धिको इन्जिन हो कि होइन भन्ने हो । के गाँजा जलविद्युत् (ऊर्जा), कृषि र वन पैदावार, पर्यटन झैं समृद्धिको इन्जिन बन्न सक्ला ? हिमाली उत्पादनको ‘क्रेज’ विश्वभर फैलिरहेको बेला, के हामीकहाँ बेच्नका लागि गाँजा मात्र बाँकी छ त ? साँच्चै भन्ने हो भने एउटा उच्चकोटिको चिया (उदाहरणका लागि, अग्र्यानिक गोल्डन, सिल्भर टिप्स, उलङ ग्रीन टि आदि) को नेपाली बजार मूल्य नै प्रतिकिलो दश हजार रुपैयाँ भन्दा माथि छ ।

अग्र्यानिक चिया र कफी, जडीबुटी, सुगन्धित तेल आदिको निकासीबाट मात्र पनि नेपालले अर्बौं रुपैयाँ भित्र्याउन सक्छ । यस्तो विकल्प रहेको अवस्थामा गाँजाको शरणमा जानु आत्मघाती सिवाय अरू हुँदैन । बरू पूर्वीय सभ्यता र सम्पदा जगेर्ना गर्ने हो भने हामी ध्यान, योग र आयुर्वेदको प्रवद्र्धन गर्न सक्छौं । योभन्दा ‘वेलनेस’ को प्राचीन र प्रभावकारी विधि अरू के नै होला !

यद्यपि गाँजाको वैधानिकरणको विश्वव्यापी बहसमा हामीले कान थुन्नुपर्छ भन्ने पंक्तिकारको तर्क होइन । गाँजाको जोखिम आकलनका लागि बेलैमा सतर्क रही यसको वैधानिकरण अगाडि वैचारिक मन्थनमा भाग लिऔं भन्ने अनुरोध मात्र हो ।

पढ्नुहाेस् । 

प्रतिबन्धित गाँजा : मास्ने कि जोगाउने

प्रतिबन्ध हैन, नियन्त्रित उपयोग

प्रतिकृया दिनुहोस