टिप्पणीशनिवार, आश्विन ६, २०७५

महिला इज्जतको भ्रम

हिमालखबर

इन्द्रध्वज क्षेत्री

सदियौंदेखि पितृसत्ताले चलाखीपूर्वक सिर्जना गरिदिएको भ्रम बाहेक अरू केही होइन योनीलाई महिलाको इज्जतसँग जोड्ने परम्परागत सोच ।

“नेपालीहरूलाई बधाई ! नेपालमा समावेशिताको बहस शुरू भएको छ । संसदमा ३३ प्रतिशत महिला उपस्थिति सुरक्षित गरिएको छ । समलिंगी सम्बन्धलाई कानूनी मान्यता दिइएको छ । वैवाहिक बलात्कार अपराधको सूचीमा छ... ।” ३० भदौमा ललितपुरको यलमाया केन्द्रमा नारीवादी अभियन्ता कमला भासीनले प्रगतिशील र समावेशी संविधान बनाउन सफल भएकोमा नेपालीलाई बधाई दिंदै थिइन् ।

लैंगिक समानता, शिक्षा, गरीबी–उन्मूलन, मानवअधिकार र दक्षिण एशियाली शान्ति जस्ता विषयमा करीब चार दशकदेखि सक्रिय सामाजिक कार्यकर्ता हुन्, भासीन । नेपाल र आफ्नो देश भारत मात्रै होइन दक्षिण र दक्षिण पूर्वी एशियाका थुप्रै देशमा उनले काम गरेकी छन् ।

यसपालि उनी महिला नेतृहरूका लागि शुरू भएको क्षमता अभिवृद्धि सम्बन्धी प्रशिक्षणको २३औं शृङ्खलाका लागि काठमाडौं आएकी थिइन् । सोही मौका पारेर ‘पुरुष र पितृसत्ताको भार’ विषयमा प्रवचन दिंदै थिइन्, उनी ।

नेपालले दक्षिणएशियाकै प्रगतिशील र समावेशी संविधान र कानून बनाउन सफल भएकोमा बधाई दिंदै गर्दा उनले अगाडिको कठिन बाटो पनि सम्झाइन्, “लैङ्गिक समानता कानूनमा लेखेर मात्र आउँदैन, यो त घर, भान्सा र विस्तरासम्मको व्यवहारमा परिवर्तन गरेर मात्रै हुन्छ ।” लैङ्गिक समानताको पक्षमा बौद्धिक विमर्श गर्ने पुरुषहरूको संख्या बढे पनि त्यो कुरा घरपरिवार र व्यवहारमा उतार्न भने बाँकी नै रहेको उनले बताइन् ।

कमला भासीन ।

सन् २०१२ मा भारतको राजधानी नयाँदिल्लीमा एक युवतीमाथि बसभित्र भएको सामूहिक बलात्कार (निर्भया काण्ड) र हालै कञ्चनपुरकी १३ वर्षीया किशोरीको बलात्कार र हत्यामा समान परिवेश र कारण रहेको उनको ठम्याइ छ । उनको विचारमा यसको मुख्य कारण समाजमा व्याप्त पितृसत्तात्मक सोच नै हो जसले महिलामाथि पुरुषको अधिकार र नियन्त्रण रहेको ठान्छ ।

अनि बलात्कृत हुनुमा महिलालाई नै जिम्मेवार ठहर्‍याउँदै, उसकै बेइज्जत भएको भ्रम छर्छ, आफू जिम्मेवारी र कारबाहीबाट उम्किन्छ । हाम्रो समाजमा बलात्कृत महिलाको ‘इज्जत गएको’, ‘ज्यूँदो लाश बनेको’ जस्ता लाञ्छना लगाइने भन्दै उनले प्रश्न गरिन्, “इज्जत कसरी योनीसँग जोडियो ? नाक, कान, हात खुट्टा जस्तै शरीरको एउटा अर्को अंगसँग इज्जत कसरी जोडिन्छ ?”

प्रश्न विचारणीय छ । सदियौंदेखि पितृसत्ताले चलाखीपूर्वक सिर्जना गरिदिएको भ्रम बाहेक अरू के हुन सक्छ ‘योनीमा इज्जत’ को सोच ? बलात्कृतलाई नै जिम्मेवार ठहर्‍याउन र आफू कारबाहीबाट उम्किन पितृसत्ताले सिर्जना गरेको रहस्यमयी जालोको केन्द्रमा यही भ्रम छ । इज्जत जाने डर भएपछि पीडित महिलाले आफूमाथि परेको विपत्बारे भन्न हिच्किचाउँछन् ।

यदि भन्ने आँट गरिहालेमा आफन्त वा नजिकका मित्रलाई भन्छन् जसले यही ‘इज्जत’ को डर देखाएर चूप लगाउँछन् । धेरै घटनामा बलात्कारी आफन्त वा चिनजानको हुन्छ र त्यस्ता घटना सार्वजनिक हुन नदिन अनेक तिकडम गरिन्छ । केही गरी प्रहरीसम्म घटना पुग्यो भने त्यहाँ पनि पितृसत्ताको निकृष्ट अभ्यास हुन्छ र पीडितलाई थप पीडा दिइन्छ ।

जाहेरी फिर्ता लिन, किर्ते जाहेरी दिन वा मेलमिलाप गर्न बाध्य पार्ने प्रयास गरिन्छ । त्यसैले हाम्रो समाजमा बलात्कारका घटनाहरू प्रहरीमा पुगेका वा मिडियामा आएका भन्दा भयावह रूपमा बढी भइरहेका छन् ।

यदि प्रहरीले जाहेरी दर्ता गर्‍यो र मुद्दा अदालतमा पुग्यो भने पनि पीडितलाई थप पीडा दिने प्रक्रिया अन्त्य हुँदैन । बलात्कृतलाई नै कठघरामा उभ्याएर आफ्नो आततायी विगत सम्झाउन लगाइन्छ, फेरि कलंकित र आरोपित गरिन्छ ।

यो सम्पूर्ण प्रक्रियामा बलात्कारीलाई सजाय दिलाउने आँट, साहस र धैर्य कमै व्यक्ति र परिवारमा हुन्छ जसले गर्दा अदालतमा पुगेका मुद्दामा पनि धेरै पीडकहरू निर्दोष ठहर्‍याइन्छन् । तसर्थ अहिले जति बलात्कारका मुद्दा बाहिर आएका छन्, यो त भयावह हिमशिलाको टुप्पो मात्र हो ।

यी सबैको मुख्य कारण भने योनीलाई इज्जतसँग जोडिनु हो । बलात्कारीहरूलाई वास्तवमा सजायको भागिदार बनाउने हो भने यो भ्रम तोड्नैपर्छ । अपराधीको नजाने, पीडितको जाने यो कस्तो इज्जत हो ?

आघात कसरी रोक्ने ?
बलात्कार एउटा घटना हो तर यसको आघात लामो समयसम्म रहन्छ । शारीरिक पीडा सकिएला तर मानसिक पीडा बल्झिरहन्छ । धेरै अध्ययनहरूले देखाएका छन् बलात्कारको घटनापछि समाजले लगाउने कलंक परिवार र न्याय दिने निकायबाटै हुने दोषारोपणले बलात्कृतको पीडा झन् बढाइदिन्छ । त्यसैले बलात्कार शारीरिकभन्दा बढी मानसिक अत्याचार हो ।

३० भदौ, ललितपुरको यलमाया केन्द्रमा कमला भासीन । तस्वीरः इन्द्रध्वज क्षेत्री

आफू दोषी भएको अनुभूति, आफूले पर्याप्त सुरक्षा नअपनाएको दोषको अनुभूति, आफूले ढिलो वा छिटो अरूसँग भनेको वा नभनेको अनुभूति, आफूले गर्दा परिवारको इज्जत गएको अनुभूति, आफूले परिवारलाई नै अप्ठ्यारोमा पारेको अनुभूति, आफ्नो भविष्य अन्धकार भएको अनुभूति, आदि आदि ।

यो दोषानुभूतिलाई रोक्न सकिन्छ । समाजले सक्छ । यसको पहिलो शर्त हो योनीसँग जोडिएको ‘इज्जत’ झिकिदिने । यो पनि मानिसका अरू अंग झै एउटा अंग हो । घाउ लाग्यो भने निको हुन्छ र पुरानै अवस्थामा फर्किन्छ । त्यसैले भासीनको पनि सल्लाह छ, “बलात्कार भइसकेपछि इज्जत गयो भनेर विरह गरेर बस्ने होइन, अपराधीले कारबाही पाओस् भन्ने सुनिश्चित गर्ने, अनि सामान्य जीवनमा फर्कने ।”

सहमति/असहमति
नेपाल सहित दक्षिणएशियाका धेरै देशमा छोटो कपडा लगाउने, रक्सी सेवन गर्ने, रातिमा एक्लै वा पुरुष साथीहरूसँग बाहिर हिंड्ने, डान्सबार वा पार्टीहरूमा जाने, राति ढिलासम्म घरबाहिर बस्ने आदि कारण देखाएर बलात्कारमा महिलाकै दोष ठहर्‍याउने गरिन्छ । माथि भनिए झै समाज वा प्रहरीले समेत यस्तो अवस्थामा बलात्कार भएका मुद्दालाई सहमतिमै भएको र पछि अन्य कुरामा चित्त नबुझेपछि बल्ल उजुरी गरेको भन्ने कोणबाट समेत चित्रित गर्छन् ।

तसर्थ बलात्कारका मुद्दा बाहिर आइहालेमा पहिला यी कारणहरू मौजूद थिए वा थिएनन् भन्ने कोणबाट अनुसन्धान र चर्चा परिचर्चा हुने गर्छ । यसको मुख्य उद्देश्य फेरि पनि महिलालाई नै दोषी देखाउने हो । यो गर्न सके प्रहरीलाई पनि आनन्द— थप अनुसन्धान गर्नु परेन । समाजलाई पनि आनन्द— पितृसत्ताले सिर्जना गरिदिएको घेराबाहिर जान खोज्ने एक जनालाई सबक मिल्यो ।

बलात्कारको परिभाषा नै राम्रोसँग नबुझाउनाले यो भइरहेको छ । असहमतिमा गरिने कुनै पनि यौनजन्य कार्य बलात्कार हो । घर–समाजका पुरुष सदस्यलाई हामीले यो कुरा सिकाउनुपर्छ । बलात्कार र यौन सम्पर्कमा फरक भनेकै ‘सहमति’ हो । त्यसैले सहमति नै बलात्कार वा यौनसम्पर्कको प्रमुख निर्धारक तथ्य हो भन्ने कुरा बुझन र बुझाउन आवश्यक छ ।

त्यस्तो सहमति जुन कुनै नशा, परिस्थिति वा पदको प्रभावमा पारेर लिइएको हुनुहुँदैन । यदि कसैले ‘नाइँ’ भन्छ भने त्यसलाई ‘नाइँ’ नै बुझनुपर्छ र जोर जबर्जस्ती गरेमा वा गर्न खोजेमा त्यो बलात्कार ठहर्छ । यौन कार्यका लागि सहमतिको परिभाषालाई ‘इन्टरनेशनल प्यारेन्टहुड’ नामक संस्थाले पाँच बुँदामा सरलीकरण गरिदिएको छ जसलाई केही व्याख्या सहित यहाँ प्रस्तुत गरिएको छ ।

स्वतन्त्र हिसाबमा सहमति दिएको हुनुपर्नेः सहमति ऐच्छिक रूपमा आउनुपर्दछ । यो कुनै दबाब, चलाखी वा कुनै किसिमको नशाको प्रभावमा लिइएको हुनुहुँदैन । नशामा, निद्रामा वा अचेत अवस्थामा सहमति दिन सकिंदैन, त्यसैले लिन पनि सकिंदैन ।

बदल्न मिल्नेः कसैले पनि आफूले इच्छा गरेको कुरामा पछि मन बदल्न पाउनुपर्दछ । त्यो क्रियाकलाप पहिले गरिसकेको भए पनि इच्छा नभए मन बदल्न पाउनुपर्दछ । जस्तै कोही साथीसँग विगतमा यौन सम्पर्क गरेकै भए पनि अर्को पटक गर्दिनँ भन्न पाइन्छ ।

सुसूचितः तपाईंले आफूलाई जानकारी भएसम्मको कुरामा मात्रै सहमति जनाउन सक्नुहुन्छ । र त्यो जानकारी बाहिरको कुरा गर्न खोजियो भने त्यो सहमति ठहर्दैन । उदाहरणको लागि यदि कसैले कन्डम प्रयोग गर्छु भनेर पछि गर्दैन भने, त्यसमा सम्पूर्ण रूपमा सहमति रहेको हुँदैन ।

उत्साहीः यौन सम्पर्कको बेलामा तपाईंले त्यो क्रियाकलापहरू मात्रै गर्न पाउनुपर्छ जुन गर्दा तपाईं उत्साही हुनुहुन्छ वा आनन्द आउँछ, न कि तपाइँको साथीले तपाईंबाट अपेक्षा गरेको कुरा ।

विशिष्टः कुनै एउटा क्रियाकलापको लागि सहमति जनाउनु (जस्तै सँगै सुत्नु) भनेको अरू क्रियाकलाप (जस्तै यौन सम्पर्क) गर्नका लागि सहमति दिनु होइन ।

यी कुराबारे परिवार, विद्यालय र समाजले पुरुष सदस्यहरूलाई सुसूचित गरेमा र हामी सबैले आन्तरीकरण गरेमा बल्ल बलात्कार कम गर्न सकिएला । बलात्कार भइहालेमा पनि पीडितलाई न्याय दिन सकिएला । अन्यथा विद्यमान सामाजिक संरचना, हाम्रो चेतनास्तर, सुरक्षा र न्याय निरुपण निकायको वर्तमान सोच जारी रहँदासम्म वास्तविक अर्थमा बलात्कार रोक्न सकिन्न ।

प्रतिकृया दिनुहोस