ब्लगशनिवार, आश्विन ६, २०७५

तीनै जना मर्ने कि दुई जना मात्र ?

भैरव रिसाल

उत्तरी गोरखाको दुर्गम यात्रामा प्रकृतिको मनोरम छटाको आनन्द लिइरहेका बेला एक साथी सिकिस्त बिरामी परेपछि हामीले आँखै सामुन्ने मृत्युलाई देख्यौं ।

४ असोज २०५२ मा हाम्रोसामु जिन्दगीकै कठिन परिस्थिति उभिएको थियो । ५,१०६ मिटर उँचाइको लार्के भञ्ज्याङ (गोरखा र तिब्बतको सिमाना) को टाकुरोमा हामी थियौं । हामी अर्थात् मोहन मैनाली, ध्रुव बस्नेत र म ।

त्यसबेला हाम्रा लागि कठिनतम दुई विकल्प बाँकी रहे, तीनै जना मर्ने कि दुई जना मात्र ! यही प्रसंगलाई साथी मोहन मैनालीले ‘लार्के भञ्ज्याङमा काल कुर्दा’ शीर्षकको सुन्दर नियात्रा लेखेका छन् ।

पाँच जनाको हाम्रो टोली १४ भदौमा गोरखातिर लागेको थियो । उद्देश्य थियो, बूढीगण्डकी त्रिशूली नदीमा मिसिएको ठाउँ बेनीघाटदेखि ऊ जन्मेको ठाउँसम्म फिल्माङ्कन गर्ने । स्यारभोट–छेकम्पार र कुताङभोट–सामागाउँ खोलातिर हिंडेको चार जनाको टोलीमा म पनि मिसिएको थिएँ । म तत्कालीन आईडीएस र पछि आरएसडीसी (ग्रामीण स्वावलम्बन विकास केन्द्र) मा स्वयंसेवीका रूपमा काम गर्थें ।

लार्केभञ्ज्याङ पुग्नुअघिको यात्रा टोलीः १. भैरव रिसाल २. मोहन मैनाली, ३. ग्याल्जेन लामा र ४. ध्रुव बस्नेत । तस्वीरः रमेश धमला

सो संस्थाले गोरखाको उत्तरी भेगका साविकका आठ गाविसमा स्थानीय अगुवाहरूलाई नै नेतृत्व दिएर सामाजिक र आर्थिक विकासको अभियान चलाएको थियो । त्यो कार्यक्रम कुन अवस्थामा रहेछ भनेर हेर्ने हुटहुटी लागेर म गएको थिएँ ।

म छेकम्पारतिर लागें भने साथीहरू उहियाबाट दूधपोखरी (नारद पोखरी) तिर गए । पहिलेको सल्लाह अनुसार सिर्दिबासमा पाँचै भाइ मिसियौं । त्यहाँबाट बिहि, ल्हो, प्रोक हुँदै सामागाउँको साम्दो पुग्यौं । गोरखाको उत्तरी भेगमा रहेको साम्दो गाउँ तिब्बतसँगको सीमावर्ती अन्तिम बस्ती हो ।

त्यहाँ त्यतिबेला १३ घरपरिवार बस्थे, हामीलाई राम्रो सत्कार गरेका थिए । हामीसँग स्वावलम्बन कार्यकर्ता ग्याल्जेन लामा सहित उनका भाइ र गाउँका अरू युवक पनि थिए । ४ असोजमा पाँच वटा घोडा, लामा सहित ६ जना स्थानीय र हामी पाँच जना लार्के भञ्ज्याङतिर उक्लियौं ।

लार्के नपुगुञ्जेल त ठाउँठाउँमा घोडा चढ्दै बडो रमाइलो यात्रा गर्‍यौं । लार्के भञ्ज्याङको भूबनोट र सौन्दर्यले लोभ्यायो । प्रकृतिको चुम्बकले हामी तीन जनालाई नै बसौं–बसौं लाग्ने गरी तानिरह्यो । टोली सदस्य साम्दो फर्किए, ग्याल्जेन लामा पनि घोडा लिएर मनाङको भिम्ताङतिर ओर्लिए ।

हाम्रो पाँच जनाको टोलीका भूपेन्द्र बस्नेत र रमेश धमला पनि भिम्ताङतिरै सोझिए । लार्के भञ्ज्याङको अनुपम सौन्दर्यको एकलौटी रसास्वादन गर्ने अब हामी तीन भाइ मात्र भयौं । मोहन र म खूब रमायौं । ध्रुवलाई टाइफाइड भइसकेको रहेछ, ढुंगालाई नै बिछ्यौना बनाए ।

घोडा नहिंड्दा बाँच्यौं
न्यानो घामलाई बादलले छोप्दै जाँदा हावा बढी चिसो हुन थाल्यो । ध्रुवलाई ज्वरोले बढी च्यापेछ, प्याकप्याक भएर पानी मागे । मोहनले प्लास्टिकको थैलोमा त्यही हिउँको पानी ख्वाए । प्रकृतिको आनन्दमा डुबिरहेका हामी अब के गर्ने भन्ने अन्योलमा फस्यौं ।

ध्रुव बरु मर्न तयार, तर एक पाइला सार्न नसक्ने । त्यो बाटोमा मान्छे त के, चरो–मुसो पनि आउजाउ नगर्ने भएकोले हामी मर्नुको विकल्प नदेख्दा मन अमिलिएर आयो । मोहनलाई मेरो अवस्था देखेर माया लागेछ, मलाई बचाउन मन लागेछ र फ्याट्ट भने, “दाइ, तपाईं गएर हामीलाई लिन मान्छे पठाइदिने कि ?”

म बडो अप्ठेरोमा परें, साथीहरूलाई त्यस्तो अवस्थामा छोडेर कसरी जानु ? नगए तीनै जना मर्न तयार हुनुपर्ने परिस्थिति । मोहनले मेरो त्यो मनोभाव पढेर निकै कर गरे । मलाई पनि बाँच्ने लोभसँगै आफू गएर मान्छे पठाउने कल्पनाले ताकेता गर्‍यो । घिटीघिटी गरिरहेका ध्रुव र कुरुवा मोहनलाई कालको मुखमा लार्के भञ्ज्याङमा छोडी म ढुंगाको छाती लिएर हिंडे ।

भिम्ताङतिर ओर्लंदा बाटैमा ग्याल्जेनसँग भेट भयो । दुई किलोमिटर जति हिंडेपछि ग्याल्जेनको घोडा मरिगए हिंडेनछ र उनी रोकिएका रहेछन् । ध्रुव र मोहनको जीवनरक्षाका लागि घोडा हिंडाउन अनेक उपाय गर्‍यौं, तर डेग चलेन । अन्ततः ग्याल्जेनलाई आग्रह गरें । नाइँनास्ति नगरी उनी लार्के भञ्ज्याङतिर उक्लिए ।

हिरो कोः ग्याल्जेन कि घोडा ?
ग्याल्जेनलाई पठाएर म एक्लै भिम्ताङतिर झरे । बल्लतल्ल राति पुगें । उता ग्याल्जेनले ध्रुव र मोहनलाई सकुशल ल्याए राति साढे ११ बजेतिर ।

बचाउने प्रत्यक्ष व्यक्ति ग्याल्जेन लामा भए पनि यहाँ प्रश्न उठ्छ, ग्याल्जेन हिरो कि भिम्ताङ झर्न अटेरी गरेर बाटैमा रोकिने उसको घोडा ? वा त्यस्तो ठाउँ र अवस्थामा साथीहरूलाई छोडेर हिंड्ने निर्दयी निर्णय गर्ने म पनि जस पाउन योग्य हुँ कि ?

अन्ततः अनेक परिश्रम गरी ध्रुव र मोहनलाई हेलिकप्टरबाट काठमाडौं लैजान सकियो । उपचारपछि ध्रुव सामान्य अवस्थामा फर्किए । भूपेन्द्र, रमेश र म पनि बसबाट १० असोजमा काठमाडौं आइपुग्यौं ।

प्रतिकृया दिनुहोस